दक्षिणकाली सेक्युरिटीजको १५औँ वार्षिकोत्सवमा रसुवा बाढीपीडितलाई १० लाख रुपैयाँ सहयोग, रक्तदान र साक्षरता कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Aug 31 15:12
काठमाडौँ, १५ भदौ । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त स्टक ब्रोकर कम्पनी दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीज प्रा.लि. (ब्रोकर नं. ३३) ले आफ्नो सञ्चालनको १५औँ वर्ष प्रवेशको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्व तथा लगानीकर्ता साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
नेपालको पुँजी बजारमा डेढ दशकदेखि सेवा प्रदान गर्दै आएको कम्पनीले वार्षिकोत्सवको अवसरमा रसुवाका बाढीपीडितलाई राहत सहयोग, रक्तदान कार्यक्रम तथा पुँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कम्पनीले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै लगानीकर्तालाई पुँजी बजारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।
रसुवा बाढीपीडितलाई १० लाख रुपैयाँ सहयोग
रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको संकटपूर्ण उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले १० लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
राष्ट्रिय विपद्का कारण प्रभावित समुदायको पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो। साथै, रसुवा बाढी प्रभावित क्षेत्रका लगानीकर्ताले आवश्यकताअनुसार यस कम्पनीमार्फत सेयर बिक्री गरेको अवस्थामा सेटलमेन्ट साइकल कुर्नु नपर्ने गरी तत्काल रकम भुक्तानी गर्ने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

रक्तदान कार्यक्रम सम्पन्न
यसैगरी, कम्पनीले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कम्पनीका सञ्चालक, कर्मचारी, सक्रिय लगानीकर्ता तथा स्थानीय महानुभावको सहभागिता रहेको थियो।
कम्पनीले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै रक्तदानमार्फत मानवीय सहयोगमा योगदान पुर्याएको जनाएको छ।
लगानीकर्ताका लागि पुँजी बजार साक्षरता
त्यस्तै, नयाँ तथा विद्यमान लगानीकर्तालाई पुँजी बजारप्रति दक्ष र सचेत बनाउने उद्देश्यले कम्पनीले एकदिने पुँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा नेपाली पुँजी बजारमा विद्यमान अवसर तथा चुनौती, विगतको धितोपत्र बजारको अवस्था, सूचीकृत कम्पनीको वित्तीय विवरण विश्लेषण तथा पोर्टफोलियो विविधीकरण कसरी गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। यसबाट लगानीकर्तालाई सूचनामा आधारित निर्णय लिन तथा जोखिम व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले निरन्तर १० वर्ष सेवा पुर्याएका कर्मचारीलाई विशेष सम्मानसमेत गरेको छ।
दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीज प्रा.लि. नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त तथा नेपाल स्टक एक्सचेन्जको सदस्यका रूपमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडअन्तर्गत दर्ता भई सेवा प्रदान गर्दै आएको ब्रोकर कम्पनी हो। काठमाडौँको कमलादीस्थित केन्द्रीय कार्यालयका साथै रुपन्देहीको बुटवल र चितवनको टाँडीस्थित शाखा कार्यालयमार्फत कम्पनीले संस्थागत तथा व्यक्तिगत लगानीकर्तालाई धितोपत्र खरिद–बिक्री तथा डिपीसम्बन्धी सेवासमेत प्रदान गर्दै आएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया