NIMB Header 2
Nepal Life

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, सन्देश ‘यो दुःखमा नेपाल एक्लै छैन’

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 30 21:00
रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, सन्देश ‘यो दुःखमा नेपाल एक्लै छैन’
United Ajod

काठमाडौँ । रसुवामा गएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गर्दै नेपाल यस विपत्तिको घडीमा एक्लै नरहेको सन्देश दिएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चीन नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।

Nepal Life
NIMB

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि चीन सरकारले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राष्ट्रपति सी र प्रधानमन्त्री लीको सन्देश सुनाएका हुन्।

राजदूत माओमिङका अनुसार बाढीको विपत्तिका कारण ज्यान गुमाएका नेपाली नागरिकप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले गहिरो दुःख व्यक्त गरेका छन्। दुवै चिनियाँ नेताले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

सन्देशमा भनिएको छ, “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।”

चीन सरकारले विपत्तिपछिको उद्धार, राहत तथा पुनःस्थापनाका काममा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

यसक्रममा राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई झन्डै साढे ३० करोड रुपैयाँ बराबरको २० लाख अमेरिकी डलर सहयोगको चेक हस्तान्तरण गरेका छन्। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।

त्यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।

सहयोग रकम हस्तान्तरणका क्रममा राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल विपत्तिबाट नेपाल र चीन दुवै प्रभावित भएको उल्लेख गर्दै संकटको सामना दुई देशले सहकार्यका साथ गर्ने बताए। चीन सरकारले घोषणा गरेका अन्य सहायता सामग्री पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिइएको छ।

राजदूत माओमिङका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत करिब ५० टन राहत सामग्री काठमाडौँ ल्याइएको छ। राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट तथा बिस्कुटलगायत सामग्री रहेका छन्।

चीनले आगामी दिनमा पनि राहत तथा उद्धार सामग्रीको सहयोगलाई निरन्तरता दिने जनाएको छ।

यसैबीच, रसुवाको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउने विषयमा पनि पहल भइरहेको जानकारी अर्थमन्त्रीलाई दिइएको छ।

त्यस्तै, जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको र थप उद्धार प्राविधिकहरू पनि नेपाल आइपुगेको राजदूत माओमिङले जानकारी दिएका छन्।

नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामग्री बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले द्रुत गतिमा काम गरिरहेको पनि उनले बताएका छन्।

रसुवाको बाढीपछि खोज तथा उद्धार, राहत वितरण र प्रभावित क्षेत्रको पुनःस्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक भइरहेका बेला चीनको सहयोग र उच्च राजनीतिक तहबाट आएको ऐक्यबद्धताको सन्देशले नेपाललाई विपत्तिको घडीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया