NIMB Header 2
Prabhu Mahalaxmi

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

United Ajod
  • BFIS News
  • 2026 Aug 31 20:14
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
IME LIFE

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ। रसुवाका बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न ८३ उद्योगी, व्यापारिक समूह तथा परोपकारी व्यक्तिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम उपलब्ध गराएका हुन्।

Nepal Life
NIMB

अर्थ मन्त्रालयका अनुसार सोमबार दाताहरूले अर्थमन्त्री डा. वाग्ले तथा निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत हस्तान्तरण गरेका चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन सुरु भएयताकै यो एकै दिनमा प्राप्त भएको सबैभन्दा ठूलो रकम हो।

सरकारले प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत सहयोग रकम सङ्कलन गर्ने प्रक्रिया भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयता विभिन्न व्यक्ति, उद्योगी तथा व्यावसायिक समूहहरूले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग उपलब्ध गराउँदै आएका छन्।

यसअघि भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। त्यस्तै, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ र भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ सहयोग रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराइएको थियो।

यस अवधिमा दाताहरूबाट दुई लाख अमेरिकी डलर बराबरको चेकसमेत प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये ८० हजार रुपैयाँ नगद रहेको छ भने बाँकी रकम ‘एकाउन्ट पेयी’ चेकमार्फत प्राप्त भएको मन्त्रालयले जनाएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। सोमबार मात्रै ८३ दाताबाट ६० करोड रुपैयाँभन्दा बढी सहयोग प्राप्त हुनु विपद्पीडितका लागि सहयोग जुटाउने अभियानमा महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया