बाढीबाट प्रभावित कम्पनीबारे सूचना सार्वजनिक गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन
- BFIS News
- 2026 Sep 01 10:40
काठमाडौं। देशका विभिन्न हिमाली तथा नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना र सम्बन्धित पूर्वाधारमा क्षति पुगेपछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई प्रभावित सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्न तथा शेयर कारोबारमा विशेष निगरानी बढाउन निर्देशन दिएको छ।
विशेषगरी त्रिशूली र भोटेकोशी नदी प्रणाली आसपासका क्षेत्रमा आएको बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा वितरण पूर्वाधारमा क्षति पुगेको सन्दर्भमा बोर्डले लगानीकर्ताको हित संरक्षण र धितोपत्र बजारमा पारदर्शिता कायम राख्ने उद्देश्यले नेप्सेलाई पाँचबुँदे कार्यदेश दिएको हो।
धितोपत्र सम्बन्धी ऐनको दफा ८४ को उपदफा (१) बमोजिम जारी निर्देशनअनुसार नेप्सेले विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित सूचीकृत कम्पनीहरूको तत्काल सूची तयार गरी बोर्डलाई जानकारी गराउनुपर्नेछ।
बोर्डले प्रभावित कम्पनीहरूसँग समन्वय गरी आयोजनाको नाम र स्थान, भौतिक क्षतिको अवस्था तथा हालको विद्युत् उत्पादनस्थितिसम्बन्धी विवरण सर्वसाधारण र लगानीकर्तालाई सार्वजनिक गराउन पनि निर्देशन दिएको छ।
यसका साथै उत्पादन क्षमतामा परेको प्रभाव, मानव संशाधनमा भएको क्षति, प्रसारण तथा वितरण पूर्वाधारको अवस्था, बीमा दाबीको स्थिति र प्रारम्भिक वित्तीय प्रभावसम्बन्धी जानकारी पनि सार्वजनिक गर्नुपर्नेछ।
आयोजना पुनः सञ्चालन हुन सक्ने अनुमानित समय, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको भुक्तानी क्षमतामा पर्न सक्ने प्रभाव तथा क्षतिपछि कम्पनी व्यवस्थापनले लिएका तात्कालिक कदमसमेत लगानीकर्तालाई जानकारी गराउनुपर्ने बोर्डको निर्देशनमा उल्लेख छ।
बाढी तथा प्राकृतिक विपद्को घटनालाई आधार बनाएर धितोपत्र बजारमा हुन सक्ने अस्वाभाविक गतिविधि नियन्त्रण गर्न नेप्सेलाई प्रभावित कम्पनीहरूको शेयर कारोबारमा विशेष निगरानी राख्न पनि भनिएको छ।
नेप्सेले प्रभावित कम्पनीहरूको शेयर मूल्यमा हुने अस्वाभाविक उतारचढाव, असामान्य कारोबार परिमाण तथा शङ्कास्पद खरिद–बिक्री आदेशको निरन्तर अनुगमन गर्नुपर्नेछ।
त्यस्तै, संवेदनशील सूचना सार्वजनिक हुनुअघि हुन सक्ने भित्री कारोबार (इनसाइडर ट्रेडिङ) तथा बजारको निष्पक्षता र पारदर्शितामा प्रतिकूल प्रभाव पार्न सक्ने अन्य गतिविधिमाथि पनि कडा निगरानी राख्न बोर्डले निर्देशन दिएको छ।
भविष्यमा प्राकृतिक विपद्, आगलागी वा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीहरूको व्यवसाय, सम्पत्ति र वित्तीय अवस्थामा पर्ने प्रभावलाई व्यवस्थित रूपमा सम्बोधन गर्न नेप्सेलाई छुट्टै कार्यविधि तयार गर्न पनि भनिएको छ।
उक्त कार्यविधिमा प्रभावित कम्पनीबाट सूचना प्राप्त गर्ने तथा सार्वजनिक गर्ने प्रक्रिया, आवश्यकताअनुसार शेयर कारोबार रोक्का गर्ने व्यवस्था र अवस्था सामान्य भएपछि कारोबार पुनः सञ्चालन गर्ने प्रक्रियासमेत समेट्नुपर्नेछ।
धितोपत्र बोर्डले निर्देशन कार्यान्वयनको प्रगति तथा बजार अनुगमनसम्बन्धी प्रतिवेदन नियमित रूपमा बोर्डमा पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।
हालैको विनाशकारी बाढीबाट जलविद्युत् तथा अन्य सूचीकृत कम्पनीका आयोजना र पूर्वाधारमा भएको क्षतिले कम्पनीहरूको उत्पादन, आम्दानी र वित्तीय दायित्वमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई समयमै यथार्थ सूचना उपलब्ध गराउन बोर्डले यस्तो कदम चालेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया