पूँजी बजार सुधारका कानुनी उपाय पेस गर्न अर्थमन्त्रीको निर्देशन
- BFIS News
- 2026 Sep 07 19:43
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारको विकास तथा सुधारका लागि आवश्यक कानुनी उपाय पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा कानुनी उपाय पहिचान गरी पेस गर्न निर्देशन दिएका हुन्।
छलफलमा पूँजी बजारको वर्तमान अवस्था, नियामकीय व्यवस्था तथा बजार सुधारका सम्भावित उपायबारे विचारविमर्श भएको थियो। त्यसक्रममा बजारको विकाससँगै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, नियामकीय व्यवस्थालाई प्रभावकारी बनाउने र पूँजी बजारलाई अर्थतन्त्रको दिगो विकाससँग जोड्ने विषयमा समेत छलफल भएको थियो।
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित तथा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।
अर्थमन्त्रीको निर्देशनसँगै सम्बन्धित निकायले पूँजी बजार सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाको पहिचान गरी सुझाव पेस गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया