ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा
- BFIS News
- 2026 Sep 08 13:21
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको कुल १० प्रतिशत लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ९ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। नगद लाभांशमा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर वितरणपछि सोही अनुपातमा बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
त्यस्तै, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ। बैंकका सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्यूरिटिजको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गरिनेछ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्तिसम्बन्धी जानकारीसमेत लिनेछ।
बैंकले नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनमा कुनै थपघट वा संशोधन गर्न निर्देशन आएमा सोहीबमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ।
वितरणयोग्य मुनाफा ४ अर्ब ३१ करोड
लेखापरीक्षणपछिको विवरणअनुसार ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०८२/८३ मा वितरणयोग्य मुनाफा ४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। बैंकले सो अवधिमा ६ अर्ब ३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
यस्तै, बैंकको सञ्चालन मुनाफा १३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। बैंकको मुनाफा तथा वितरणयोग्य मुनाफाका आधारमा सञ्चालक समितिले शेयरधनीलाई कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
असोज ५ गते बुकक्लोज
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसअनुसार असोज २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया