पूँजी बजारमा गुणस्तरीय कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढ्दो
- BFIS News
- 2026 Sep 20 12:25
काठमाडौं । नेपालको पूँजी बजारमा पछिल्लो समय आधारभूत रूपमा बलिया र व्यवसायिक सम्भावना भएका कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढ्न थालेको बजार विश्लेषक अम्बिका प्रसाद पौडेलले बताएका छन्। कम्पनीको वित्तीय अवस्था, आम्दानी, नाफा, व्यवस्थापन, व्यवसाय विस्तारको सम्भावना तथा प्रतिफल दिने क्षमतालाई आधार बनाएर लगानी गर्ने प्रवृत्ति बलियो हुँदै गएको उनको भनाइ छ।
पौडेलका अनुसार आधारभूत रूपमा सबल, व्यवसायिक रूपमा सक्षम र भविष्यको सम्भावना भएका कम्पनीमा दीर्घकालीन लगानी गर्दा पूँजीगत लाभसँगै राम्रो प्रतिफल प्राप्त गर्ने अवस्था देखिन थालेको छ। यसले दोस्रो बजारमा कम्पनीको वास्तविक वित्तीय अवस्थाका आधारमा मूल्य निर्धारण हुने प्रवृत्तिलाई समेत बल पुग्न सक्ने उनको विश्लेषण छ।
दोस्रो बजारमा कम्पनीको वित्तीय अवस्था र व्यवसायिक सम्भावनाबीचको अन्तरले मूल्यमा फरक प्रभाव पार्न सक्ने पौडेलको धारणा छ। राम्रो आधारभूत अवस्था भएका कम्पनीको कारोबार मूल्यमा सुधार आउँदा कमजोर वित्तीय आधार भएका कम्पनीको मूल्यमा भने दबाब पर्न सक्ने अवस्था रहने उनले बताएका छन्।
उनले पूँजी बजारलाई केवल दैनिक रूपमा शेयरको मूल्य बढ्ने वा घट्ने माध्यमका रूपमा मात्र हेर्न नहुनेमा जोड दिएका छन्। पूँजी बजारमार्फत लगानीकर्ताले देशको अर्थतन्त्रमा सहभागी हुनुका साथै उत्पादनशील व्यवसायको विकाससँगै आफ्नो सम्पत्ति निर्माण गर्ने अवसर प्राप्त गर्न सक्ने उनको भनाइ छ।
पौडेलले लगानी गर्दा हल्ला, भीड वा क्षणिक आकर्षणका आधारमा निर्णय गर्नुभन्दा कम्पनीको पहिचान, मूल्यांकन र दीर्घकालीन सम्भावनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार राम्रो कम्पनी पहिचान गरी उचित मूल्यमा लगानी गर्ने र धैर्यताका साथ दीर्घकालीन दृष्टिकोण राख्ने लगानी संस्कार आवश्यक छ।
राम्रो कम्पनीमा गरिएको लगानीले लगानीकर्ताको व्यक्तिगत सम्पत्ति निर्माणसँगै उत्पादनशील व्यवसाय, रोजगारी र आर्थिक गतिविधिको विस्तारमा समेत योगदान पुर्याउने पौडेलको धारणा छ। जिम्मेवार लगानी संस्कारले दीर्घकालीन रूपमा लगानीकर्ताको वित्तीय आधार बलियो बनाउन र पूँजी बजारको विकासमा योगदान पुर्याउन सक्ने उनले बताएका छन्। “पूँजी बजारमा धैर्य, विवेक र सम्बन्धित लगानी कम्पनीबारेको ज्ञान नै दीर्घकालीन सफलताको आधार हो,” पौडेलले भनेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया