अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम, अझै घट्न सक्ने सम्भावना
- BFIS News
- 2026 Oct 25 20:24
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य साताको अन्त्यतिर प्रतिऔंस ४ हजार अमेरिकी डलरको मनोवैज्ञानिक स्तरभन्दा तल झरेपछि अझै तल झर्ने विश्लेषण गरिएको छ।
अक्टोबरको अन्तिम साताअघिको कारोबार अवधिमा सुनको मूल्य सोमबारदेखि निरन्तर ओरालो लागेको थियो। शुक्रवार राति सुन प्रतिऔंस ४ हजार डलरभन्दा तल झरेर ३९९५ डलरमा झरेको छ। शुक्रबार भने खरिदकर्ताले उक्त स्तरमुनि मूल्य झर्दा पुनः खरिद बढाएपछि सुनको मूल्य पटक–पटक ४ हजार डलरमाथि फर्किएको थियो। तर, मूल्यमा भएको सुधार प्रतिऔंस ३९९५डलर आसपासमै सीमित रह्यो।
यस साता सुनको मूल्यमा परेको दबाबको प्रमुख कारण इन्धनको मूल्यमा भएको वृद्धि, अमेरिकी डलरको मजबुती र ब्याजदर लामो समयसम्म उच्च रहन सक्ने अपेक्षा देखिएको छ। अमेरिकी श्रम बजार अपेक्षाभन्दा बलियो देखिनु र प्रविधि क्षेत्रको नेतृत्वमा सेयर बजारमा तीव्र गिरावट आउनुले पनि सुनको आकर्षण कमजोर बनाएको छ।
तेलको मूल्यवृद्धिले ब्याजदरसम्बन्धी चिन्ता बढायो
यस साता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धिले सुनको मूल्यमा थप दबाब सिर्जना गरेको छ। मध्यपूर्वका प्रमुख समुद्री मार्ग आसपासको तनाव निरन्तर रहँदा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ११५ अमेरिकी डलरसम्म पुगेको थियो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य पनि प्रतिब्यारेल १०० डलरभन्दा माथि उक्लिएको थियो।
ब्रेन्ट तेलको मूल्य पाँच महिनायताकै उच्च स्तरनजिक पुगेको यस अवधिमा बजार सहभागीले ऊर्जा मूल्यवृद्धिलाई अस्थायी घटनाका रूपमा मात्र हेरेका छैनन्। तेलको मूल्य अझै बढ्न सक्ने र त्यसले मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने आशंकाले लगानीकर्ताको ब्याजदरसम्बन्धी अपेक्षालाई प्रभावित गरेको छ।
ऊर्जा मूल्यवृद्धिले मुद्रास्फीतिको दबाब बढाएमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउनुपर्ने वा अपेक्षाभन्दा लामो समयसम्म उच्च स्तरमै कायम राख्नुपर्ने अवस्था आउन सक्छ। आगामी साता फेडरल रिजर्भले ब्याजदर नबढाउने निर्णय गरे पनि बजारमा उच्च ब्याजदर लामो समयसम्म कायम रहने अपेक्षा बलियो देखिएको छ।
ब्याजदर उच्च रहँदा ब्याज आम्दानी नदिने सुनजस्ता सम्पत्तिको आकर्षणमा दबाब पर्न सक्छ। यही अपेक्षाले यस साता सुनको मूल्यमा देखिएको गिरावटलाई थप बल दिएको छ।
अमेरिकी श्रम बजारको तथ्यांकले डलर बलियो
बिहीबार सार्वजनिक भएको अमेरिकी बेरोजगारी भत्ता दाबीसम्बन्धी साप्ताहिक तथ्यांकले पनि सुनको मूल्यमा दबाब बढाएको छ। अमेरिकी श्रम विभागका अनुसार बेरोजगारी भत्ताका लागि नयाँ दाबी गर्नेको संख्या अपेक्षित २ लाखभन्दा कम, १ लाख ९४ हजार रहेको थियो।
अपेक्षा र वास्तविक तथ्यांकबीचको अन्तर ठूलो नभए पनि ब्याजदरको आगामी दिशाबारे बजारमा बहस चलिरहेका बेला यसले अमेरिकी श्रम बजार तुलनात्मक रूपमा बलियो रहेको संकेत दिएको छ। बलियो श्रम बजारले अर्थतन्त्रले उच्च ब्याजदरको दबाब सहन सक्ने सम्भावनालाई बल पुर्याउँदा फेडरल रिजर्भले मौद्रिक नीति सहज बनाउन हतार नगर्ने अपेक्षा बढेको छ।
यसको प्रभाव अमेरिकी डलरमा पनि देखियो। डलर बलियो हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो पर्न सक्छ, जसले मागमा दबाब सिर्जना गर्न सक्छ। साथै, ब्याज आम्दानी नदिने सुनको तुलनामा डलरमा आधारित सम्पत्ति आकर्षक देखिन सक्ने भएकाले सुनको मूल्यमा थप दबाब परेको हो।
प्रविधि क्षेत्रको गिरावटले सुनको आकर्षण बढाउन सकेन
बिहीबार अमेरिकी सेयर बजारमा पनि तीव्र गिरावट आएको थियो। विशेषगरी प्रविधि क्षेत्रका कम्पनीका सेयरमा बिक्री चाप बढ्दा प्रमुख सूचकांकमध्ये नास्डाक एकै दिन करिब २ प्रतिशतले घटेको थियो।
सामान्यतया सेयर बजारमा अनिश्चितता बढ्दा लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोज्ने अपेक्षा गरिन्छ। तर, यस पटक सेयर बजारमा आएको गिरावटले सुनको माग बढाउन सकेन।
बरु, लगानीकर्ताले नगद तथा तरल सम्पत्तितर्फ आफ्नो लगानी सार्दा अमेरिकी डलर थप बलियो भएको देखियो। यसले सुनलाई वैकल्पिक सुरक्षित सम्पत्तिका रूपमा रोज्ने प्रवृत्तिमा अपेक्षित बल दिन सकेन।
यस घटनाले सुनको मूल्यमा केवल जोखिमको स्तरले मात्र प्रभाव नपार्ने, ब्याजदरको अपेक्षा, डलरको दिशा र लगानीकर्ताको नगदप्रतिको मागले पनि महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ।
आगामी साता सुन बजारका लागि निर्णायक
आगामी साता सुनको मूल्यको दिशा निर्धारण गर्न अमेरिकी मौद्रिक नीति र आर्थिक तथ्यांक महत्त्वपूर्ण हुने देखिएको छ। बुधबार सार्वजनिक हुने फेडरल रिजर्भको ब्याजदरसम्बन्धी निर्णय, त्यसपछि आउने व्यक्तिगत उपभोग खर्च मूल्य सूचकांक (पीसीई) र सन् २०२६ को तेस्रो त्रैमासिक अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान बजारको मुख्य चासोमा रहनेछन्।
पीसीई सूचकांक अमेरिकी मुद्रास्फीति मापनका लागि महत्त्वपूर्ण मानिन्छ। यसले मूल्यवृद्धिको दबाब कस्तो अवस्थामा छ भन्ने संकेत दिने भएकाले फेडरल रिजर्भको आगामी नीतिगत निर्णयबारे लगानीकर्ताको अपेक्षा प्रभावित हुन सक्छ। त्यस्तै, जीडीपीको प्रारम्भिक अनुमानले अमेरिकी अर्थतन्त्रको वृद्धिदर र उच्च ब्याजदरको प्रभावबारे थप जानकारी दिनेछ।
यी तथ्यांकले मुद्रास्फीति र आर्थिक गतिविधि अपेक्षाभन्दा बलियो रहेको देखाएमा ब्याजदर उच्च रहिरहने अपेक्षा बढ्न सक्छ, जसले सुनको मूल्यमा दबाब कायम राख्न सक्छ। अर्कोतर्फ, मुद्रास्फीतिको दबाब कम भएको वा अर्थतन्त्र कमजोर बनेको संकेत आएमा ब्याजदर घट्ने अपेक्षा बलियो हुन सक्छ र सुनले पुनः गति लिन सक्ने सम्भावना रहन्छ।
सुनको मूल्य ४ हजार डलर भन्दा मुनी टिक्छ वा खरिदकर्ताको सक्रियताले पुनः माथि उकास्छ भन्ने विषय आगामी साताका आर्थिक तथ्यांक र फेडरल रिजर्भको निर्णयमा निर्भर रहनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया