चन्द्रागिरि हिल्स नाफामा फर्कियो, पहिलो त्रैमासमा २ करोड ८३ लाख रुपैयाँ नाफा
- BFIS News
- 2026 Nov 11 08:58
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ८३ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको कम्पनीले यस वर्ष नाफामा फर्किँदै वित्तीय अवस्थामा सुधार गरेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीको सञ्चालन आम्दानी ७७ करोड ७५ लाख ४४ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ करोड ८७ लाख ७ हजार रुपैयाँ थियो।
यसैगरी, कम्पनीको बिक्री खर्च ४ करोड ८२ लाख ५६ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा बिक्री लागत १५ करोड १० लाख १७ हजार रुपैयाँ थियो। त्यस्तै, कम्पनीको कुल खर्च ६ करोड १० लाख १७ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७ करोड ५१ लाख ८८ हजार रुपैयाँभन्दा कम हो।
समीक्षा अवधिमा कम्पनीको ब्याज, मूल्यह्रास र करअघिको नाफा (EBITDA) ८ करोड ५० लाख ७६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ५ करोड ९ लाख ३३ हजार रुपैयाँ थियो। कम्पनीको वित्तीय खर्च ३ करोड ४ लाख ६० हजार रुपैयाँ र मूल्यह्रास तथा परिशोधन खर्च २ करोड ६३ लाख ४ हजार रुपैयाँ रहेको छ।
यससँगै कम्पनीको असाधारण वस्तु तथा करअघिको नाफा २ करोड ८३ लाख ११ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले यस शीर्षकमा १ करोड २४ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। नाफामा फर्किएसँगै कम्पनीको प्रति सेयर आम्दानी (EPS) पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ। समीक्षा अवधिमा प्रति सेयर आम्दानी १ रुपैयाँ ७६ पैसा कायम भएको छ। गत वर्षको सोही अवधिमा यो ८१ पैसा ऋणात्मक थियो।
कुल सम्पत्ति ४ अर्ब १४ करोड रुपैयाँ
नाफामा सुधारसँगै कम्पनीको समग्र वित्तीय आकारमा पनि वृद्धि भएको छ। समीक्षा अवधिको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ४ अर्ब १४ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा यस्तो सम्पत्ति ३ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ थियो।
कम्पनीको गैरचालु सम्पत्ति ३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ र चालु सम्पत्ति ५० करोड ८८ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। गत वर्षको सोही अवधिमा गैरचालु सम्पत्ति ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ र चालु सम्पत्ति ४२ करोड ९८ लाख रुपैयाँ थियो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ६१ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चुक्ता पुँजी १ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ थियो। त्यस्तै, जगेडा तथा बचत कोषसहितको कुल इक्विटी १ अर्ब ७३ करोड २ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो रकम १ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ थियो।
दायित्वतर्फ कम्पनीको गैरचालु तथा चालु दुवै दायित्वमा वृद्धि भएको छ। कम्पनीको वित्तीय विवरणमा कुल इक्विटी तथा दायित्व ४ अर्ब १४ करोड ४ लाख रुपैयाँ देखाइएको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम ३ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ थियो।
पर्यटक आगमनमा सुधारको अपेक्षा
कम्पनीको व्यवस्थापन विश्लेषणअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आर्थिक गतिविधिमा क्रमिक सुधार आएको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा सेवा पुनःसञ्चालनपछि व्यावसायिक गतिविधि विस्तारै सामान्य अवस्थामा फर्किएको कम्पनीले जनाएको छ।
यद्यपि, प्राकृतिक विपत्ति तथा सडक अवरोधका कारण कम्पनीको पर्यटन व्यवसाय प्रभावित भएको छ। विशेषगरी २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा क्षति पुर्याउनुका साथै पृथ्वी राजमार्गका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएको थियो। यसका कारण करिब डेढ महिनासम्म पर्यटक आगमन तथा आर्थिक कारोबार प्रभावित भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा कमी आउँदा केबलकार सेवा उपयोग गर्ने पर्यटक तथा रिसोर्टमा बस्न आउने पाहुनाको संख्यामा समेत असर परेको थियो। पछिल्लो समय सडक तथा आवागमनका मार्गहरू सञ्चालनमा आएसँगै पर्यटक आगमन र रिसोर्टमा पाहुनाको संख्यामा क्रमिक सुधार देखिन थालेको व्यवस्थापनले उल्लेख गरेको छ।
व्यावसायिक गतिविधि विस्तार गर्न कम्पनीले बजार प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्राथमिकता दिएको छ। विशेषगरी दशैं विशेष अफर सञ्चालन गर्नुका साथै भारतसँग सीमा जोडिएका बजार क्षेत्रमा सम्पर्क तथा समन्वय विस्तार गर्ने काम भइरहेको कम्पनीले जनाएको छ। यसबाट कम्पनीका सेवा तथा सुविधाबारे जानकारी विस्तार, पर्यटक आगमन वृद्धि र व्यावसायिक कारोबार बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायमा चुनौती र आगामी रणनीति
कम्पनीले आगामी दिनमा पर्यटन व्यवसायमा विभिन्न चुनौती कायम रहने विश्लेषण गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा जारी भूराजनीतिक तनाव, विशेषगरी इरान–इजरायल–अमेरिकाबीचको युद्ध, विश्वव्यापी अस्थिरता तथा मूल्यवृद्धिले पर्यटन क्षेत्र प्रभावित हुन सक्ने कम्पनीको आकलन छ।
त्यस्तै, प्राकृतिक विपत्ति, पर्यटकीय पूर्वाधार विकासमा सरकारी लगानीको न्यूनता, निर्माणाधीन आयोजनाको सुस्त गति, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका गतिविधिमा कमी र विदेशी विनिमय दरमा हुने उतारचढावलाई कम्पनीले व्यवसायका प्रमुख जोखिमका रूपमा पहिचान गरेको छ।
यी चुनौतीबीच कम्पनीले आगामी दिनमा सेवा प्रवाहको गुणस्तर सुधार, बजार प्रवर्द्धन विस्तार र सञ्चालन खर्चमा मितव्ययिता अपनाउने रणनीति लिएको छ। उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै अनावश्यक खर्च कटौती गर्ने, ग्राहकको आवश्यकता तथा सन्तुष्टिलाई प्राथमिकता दिने र पर्यटक आगमन वृद्धि गर्ने योजनालाई कम्पनीले निरन्तरता दिने जनाएको छ।
कम्पनीले रिसोर्ट तथा केबलकारलगायतका पर्यटकीय सेवाको प्रभावकारी उपयोग, प्रचारप्रसारका कार्यक्रम विस्तार र आम्दानीका स्रोत सुदृढ गर्दै दीर्घकालीन व्यावसायिक स्थायित्व कायम गर्ने लक्ष्य राखेको छ।
यसअघि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कम्पनीले ८ करोड २४ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। उक्त अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ १२ पैसा रहेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)







प्रतिक्रिया