नेपाल लाइफको बीमाशुल्क १०.१० प्रतिशतले बृद्धि, हरेक सूचकमा अब्बल: यस्तो देखियो पहिलो त्रैमाश
- BFIS News
- 2026 Nov 09 10:41
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १०.०५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १४ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ३६ करोड आर्जन गरेको थियो।
कम्पनीको बीमाशुल्क आर्जनको वृद्धिमा नवीकरण बीमाशुल्कको योगदान बढी देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ११ अर्ब ५६ करोड रुपैयाँ नवीकरण बीमाशुल्क र ३ अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।
बीमाशुल्क आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ। पहिलो त्रैमासमा कम्पनीले १५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेक छ। गत वर्षको सोही अवधिको २१ करोड ५५ लाख रुपैयाँ रहेको थियो।
प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस ६.४८ रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९.५५ रुपैयाँ थियो। कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११४.६५ गुणा रहेको छ।
सम्पत्ति र लगानीमा विस्तार
कम्पनीको वित्तीय अवस्था विस्तार हुँदै गएको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति ४.१४ प्रतिशतले बढेर ३ खर्ब ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति २ खर्ब ९२ अर्ब १० करोड रुपैयाँ थियो।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँमा स्थिर रहँदा सञ्चित मुनाफा ९२ करोड रुपैयाँ रहेको। विपत्ति कोष १ अर्ब ५५ करोड रुपैयाँ रहेको। तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोष २ खर्ब ७६ अर्बबाट २ खर्ब ८८ अर्ब पुगेको छ।
कम्पनीले लगानी पोर्टफोलियोमा समेत विस्तार गरेको छ। कुल लगानी २ अर्ब ४८ अर्ब रहेको छ। समीक्षा अवधिमा दीर्घकालीन लगानी १४.३० प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। अल्पकालीन लगानी ६.८६ प्रतिशतले बढेर ४४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, लागत मूल्यमा आधारित लगानी १०.४५ प्रतिशतले वृद्धि भई ३४ अर्ब ७० करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीले पहिलो त्रैमासमा पुँजीबजारसँग सम्बन्धित कम्पनी, शैक्षिक संस्था, जलविद्युत् तथा पूर्वाधार कोषलगायतका सुरक्षित र विश्वसनीय क्षेत्रमा ६ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको जनाएको छ। यो लगानी नेपाल बीमा प्राधिकरणले तोकेको लगानीसम्बन्धी निर्देशनअनुसार गरिएको कम्पनीको भनाइ छ।
यसैगरी, बीमालेख धितोकर्जा ३४ अर्ब ७० करोड रहेको छ। गत वर्षको यहि अवधिमा यस्तो कर्जा ३५ अर्ब १५ करोड थियो।
दाबी भुक्तानी २९.६१ प्रतिशत बढ्यो
नेपाल लाइफको बीमा व्यवसाय विस्तारसँगै दाबी भुक्तानी रकममा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ३० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो भुक्तानी ४ अर्ब ९ करोड रुपैयाँ थियो। यसअनुसार खुद दाबी भुक्तानी २९.६१ प्रतिशतले बढेको छ।
त्यस्तै, कुल लाभ तथा दाबी भुक्तानी १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। कम्पनीले समीक्षा अवधिमा कुल १९ हजार ३२९ वटा पोलिसीमा दाबी भुक्तानी गरेको छ। बाँकी दाबीको संख्या २१ हजार २०४ रहेको छ।
समीक्षा अवधिमा अभिकर्ता कमिसन खर्च १२.२७ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। कर्मचारी सुविधासम्बन्धी खर्च भने १५.१९ प्रतिशतले घटेर २५ करोड १५ लाख ७० हजार रुपैयाँ कायम भएको छ। अन्य सञ्चालन खर्चमा भने उच्च वृद्धि देखिएको छ। यस्तो खर्च १९६.३७ प्रतिशतले बढेर २५ करोड २३ लाख रुपैयाँ पुगेको छ।
कुल बीमाशुल्क आम्दानीको तुलनामा व्यवस्थापन खर्चको अनुपात पनि बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.०४ प्रतिशत रहेको यस्तो अनुपात समीक्षा अवधिमा ३.६२ प्रतिशत पुगेको छ।
सोल्भेन्सी मार्जिनमा सुधार
कम्पनीको सोल्भेन्सी मार्जिन अनुपातमा सामान्य सुधार देखिएको छ। गत वर्ष १.५० रहेको यस्तो अनुपात समीक्षा अवधिमा बढेर १.५४ पुगेको छ। यसले कम्पनीको नियामकीय पुँजी पर्याप्तताको अवस्थामा सुधार आएको देखाउँछ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको संस्थागत सुशासनसम्बन्धी निर्देशन पालना गर्दै आएको र जोखिममा आधारित पुँजी तथा सोल्भेन्सीसम्बन्धी निर्देशिका, २०२५ (२०८२) कार्यान्वयनमा ल्याएको जनाएको छ। पुनर्बीमाका लागि कम्पनीले ह्यानोभर रि (मलेसिया), नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्ससँग व्यवस्था गरेको छ। कम्पनीविरुद्ध कुनै कानुनी मुद्दा नरहेको पनि वित्तीय विवरणमा उल्लेख छ।
सेयर कारोबार ८ अर्ब २१ करोड रुपैयाँको
समीक्षा अवधिमा नेपाल लाइफको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रतिकित्ता अधिकतम ८०६ रुपैयाँ र न्यूनतम ६८० रुपैयाँ ५० पैसामा कारोबार भएको छ। ३१ कारोबार दिनमा कम्पनीका १२ लाख १७ हजार ५०२ कित्ता सेयर खरिदबिक्री भएका छन्। उक्त कारोबारबाट ८ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार रकम सिर्जना भएको छ। समीक्षा अवधिको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७७३ रुपैयाँ रहेको छ।
व्यवसाय विस्तारमा रणनीतिक सुधारको योजना
कम्पनीले बीमाशुल्क आम्दानी वृद्धिको मुख्य कारण प्रतिस्पर्धी बजार रणनीति, बीमासम्बन्धी जनचेतनामा वृद्धि, नवीकरण बीमाशुल्क संकलनमा गरिएको विशेष प्रयास र समयानुकूल बजार प्रवर्द्धनलाई मानेको छ।
यद्यपि, लगानीबाट प्राप्त हुने औसत प्रतिफलमा संकुचन आएको कम्पनीले जनाएको छ। विगतमा उच्च ब्याजदरमा गरिएको मुद्दती निक्षेप परिपक्व हुँदै जानु र नयाँ रकम तुलनात्मक रूपमा कम ब्याजदरमा लगानी गर्नुपर्ने अवस्थाले लगानी प्रतिफलमा दबाब परेको कम्पनीको विश्लेषण छ।
दीर्घकालीन, सुरक्षित र उच्च प्रतिफल दिने लगानीका अवसर सीमित हुनु, बैंक निक्षेपको ब्याजदर घट्नु, पुँजीबजारमा हुने उतारचढाव, बीमालेख समर्पण तथा साइबर सुरक्षासम्बन्धी जोखिमलाई कम्पनीले प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।
यी चुनौती सम्बोधन गर्न कम्पनीले दाबी व्यवस्थापन, ग्राहक सेवा, लगानी विविधीकरण, आन्तरिक नियन्त्रण प्रणाली, बीमा साक्षरता र डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।
कम्पनीका अनुसार हाल कायम बीमालेख संख्या २१ लाख ७९ हजार पुगेको छ। चालु वर्षमा २ लाख ७५ वटा बीमालेख जारी भएका छन्। आर्थिक वर्ष २०८१/८२ का लागि घोषित प्रतिहजार बीमाङ्क रकममा ५५ रुपैयाँदेखि ८५ रुपैयाँसम्मको बोनस दर कायम रहेको छ। अन्तरिम बोनस दर पनि सोहीअनुसार रहेको कम्पनीले जनाएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया