नेपाल लाइफको इश्युअर रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व भुक्तानी क्षमता बलियो
- BFIS News
- 2026 Nov 03 11:58
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीको इश्युअर रेटिङ ‘इक्रा एनपी आईआर एए–’ बाट बढाएर ‘इक्रा एनपी–आईआर एए’ कायम गरेको हो।
रेटिङ स्तरोन्नतिसँगै कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा उच्च सुरक्षा रहेको इक्रा नेपालले जनाएको छ। ‘एए’ रेटिङ प्राप्त गर्ने संस्थामा वित्तीय दायित्व भुक्तानीसम्बन्धी कर्जा जोखिम निकै न्यून रहने इक्राको मूल्यांकन छ।
इक्रा नेपालका अनुसार कम्पनीको सोल्भेन्सी अनुपातमा भएको सुधार, लगानीको विविधीकरण तथा लगानी पोर्टफोलियोको जोखिममा आएको कमी रेटिङ बढ्नुका प्रमुख आधार हुन्। कम्पनीको सोल्भेन्सी अनुपात सन् २०२४ जुलाई मध्यको १४५ प्रतिशतबाट बढेर सन् २०२५ जुलाई मध्यमा १५४ प्रतिशत पुगेको छ। यो नियामकीय न्यूनतम सीमा १३० प्रतिशतभन्दा माथि हो।
त्यस्तै, कम्पनीले लगानी पोर्टफोलियोमा सरकारी ऋणपत्रको हिस्सा बढाउँदै बैंकको मुद्दती निक्षेपमाथिको निर्भरता घटाएको छ। सन् २०२५ जुलाई मध्यसम्म सरकारी ऋणपत्रमा लगानी नगरेको कम्पनीले सन् २०२६ जुलाई मध्यसम्म कुल लगानीको करिब १६ प्रतिशत सरकारी ऋणपत्रमा लगानी गरेको छ। यस अवधिमा मुद्दती निक्षेपको हिस्सा करिब ८९ प्रतिशतबाट घटेर ७१ प्रतिशतमा झरेको छ।
यसैगरी, उच्च ब्याजदर दिने डिबेन्चर तथा स्थायी असञ्चयी अग्राधिकार सेयर (पीएनसीपीएस) मा लगानीको हिस्सा बढेर करिब ६ प्रतिशत पुगेको छ। यसले घट्दो लगानी प्रतिफलको प्रभाव केही कम गर्न सहयोग पुग्ने इक्राको अपेक्षा छ।
सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको नेपाल लाइफको लामो व्यावसायिक अनुभव, देशभरको सञ्जाल र अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूहलाई पनि रेटिङका सकारात्मक पक्षका रूपमा औँल्याइएको छ। सन् २०२६ जुलाई मध्यसम्म कम्पनीका १९६ शाखा सञ्चालनमा छन्।
जीवन बीमा बजारमा कम्पनीको अग्रणी स्थान अर्को महत्वपूर्ण आधार बनेको छ। कुल बीमाशुल्क आम्दानीका आधारमा कम्पनीको बजार हिस्सा २५ प्रतिशतभन्दा बढी छ। आर्थिक वर्ष २०८२/८३ मा यस्तो हिस्सा करिब २७ प्रतिशत रहेको इक्राको मूल्यांकन छ। ठूलो व्यवसायिक आकारले सञ्चालन दक्षता र सञ्चालन मुनाफा कायम राख्न सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।
पहिलो वर्षको बीमाशुल्क आम्दानीमा उतारचढाव देखिए पनि नवीकरण बीमाशुल्कबाट प्राप्त आम्दानीले कम्पनीको व्यवसायिक वृद्धिलाई निरन्तरता दिएको छ। कम्पनीको कुल बीमाशुल्क आम्दानीको करिब ९९ प्रतिशत हिस्सा परम्परागत बचत तथा अवधि पूरा भएपछि रकम भुक्तानी हुने (इन्डाउमेन्ट) प्रकृतिका बीमा योजनाबाट आएको छ। यस्तो व्यवसाय संरचनाले दीर्घकालीन वृद्धि र बजारस्थितिलाई बलियो बनाउन सहयोग पुग्ने इक्राको निष्कर्ष छ।
कम्पनीको पुनर्बीमा व्यवस्था र विपद् जोखिम सुरक्षणलाई पनि सकारात्मक पक्षका रूपमा लिइएको छ। नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्ससँग नियमित जीवन बीमा तथा लघुबीमाका लागि पुनर्बीमा व्यवस्था रहेको छ। साथै, नेपाल पुनर्बीमा कम्पनीमार्फत विपद् जोखिम सुरक्षण (क्याट एक्सएल) को व्यवस्था गरिएको छ।
कम्पनीले प्रतिजीवन अधिकतम २० लाख रुपैयाँसम्मको जोखिम आफैँ वहन गर्ने व्यवस्था गरेको छ। त्यस्तै, विपद् जोखिम सुरक्षणको सीमा ५५ करोड रुपैयाँ रहेको छ। सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको विपद् सञ्चिति करिब १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ पुगेको छ। हालैका बाढीपहिरोबाट उत्पन्न हुन सक्ने दाबी भुक्तानीको प्रभाव व्यवस्थापन गर्न यी व्यवस्थाले सहयोग पुग्ने इक्राको विश्लेषण छ।
लगानी प्रतिफलमा गिरावट चुनौती
रेटिङ बढे पनि कम्पनीको नाफामा लगानी प्रतिफल घट्दै जानुले चुनौती थपेको इक्राले जनाएको छ। कम्पनीको लगानी प्रतिफल आर्थिक वर्ष २०८१/८२ मा ९.४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा घटेर ८.१ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो प्रतिफल १०.१ प्रतिशत थियो।
बजारमा ब्याजदर लामो समयदेखि न्यून रहनु र लगानीका वैकल्पिक क्षेत्र सीमित हुनुले प्रतिफलमा दबाब परेको हो। सन् २०२६ जुलाई मध्यसम्म नीतिगत कर्जाबाहेक कम्पनीको कुल लगानीको करिब ९३ प्रतिशत हिस्सा निश्चित ब्याजदर प्रदान गर्ने वित्तीय उपकरणमा केन्द्रित छ।
त्यस्तै, पछिल्लो तीन वर्षमा कम्पनीको सम्पत्ति औसत वार्षिक करिब १७ प्रतिशतले बढेको छ। लगानीको आधार तीव्र रूपमा विस्तार हुँदा त्यसअनुसार पर्याप्त प्रतिफल कायम राख्न कठिन हुन सक्ने इक्राको विश्लेषण छ।
जीवन बीमा क्षेत्रमा पछिल्लो समय बढेको प्रतिस्पर्धा र नियामकीय नीतिमा हुने परिवर्तनलाई पनि जोखिमका रूपमा औँल्याइएको छ। आर्थिक वर्ष २०७९/८० मा भएको बीमा कम्पनीहरूको मर्जर तथा एक्विजिसनपछि केही नयाँ कम्पनीको व्यावसायिक क्षमता र आकार बढेकाले प्रतिस्पर्धा थप तीव्र बनेको प्रतिवेदनमा उल्लेख छ। नेपाल बीमा प्राधिकरणले समयसमयमा जारी गर्ने नियामकीय निर्देशन तथा नीतिगत परिवर्तनले पनि कम्पनीको वित्तीय अवस्थामा प्रभाव पार्न सक्ने इक्राको भनाइ छ।
आगामी दिनमा लगानी प्रतिफलमा उद्योगको औसतभन्दा बढी गिरावट आउन नदिनु, व्यवसायिक वृद्धिलाई सन्तुलित राख्नु, सोल्भेन्सी अनुपात कायम राख्नु तथा प्रतिफलसम्बन्धी वित्तीय सूचकमा सुधार गर्नु कम्पनीको रेटिङ मूल्यांकनका प्रमुख आधार हुने इक्राले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया