भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान : ‘निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्’
- BFIS News
- 2026 Nov 23 14:13
नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा यसअघि नै लगानी गरिरहेका व्यवसायीलाई लगानी विस्तार गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्। भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा नेपाल र भारतका निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना र अनुकूल वातावरण रहेको बताए। उनले भारतीय उद्योगी तथा व्यवसायीलाई नयाँ लगानीका अवसर पहिचान गर्न र नेपालमा भइरहेको लगानीलाई थप विस्तार गर्न आग्रह गरे।
“सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” उनले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।”
अर्थमन्त्री वाग्लेले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको पनि बताए। लगानीसम्बन्धी कानुनी प्रक्रियालाई सरल, सहज र लगानीमैत्री बनाउँदै लगिएको उनको भनाइ थियो।
उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा लगानीबाट प्राप्त नाफा स्वदेश फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको जानकारी दिए। लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउने सरकारको प्रयास रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र भारतीय उद्योग परिसंघ (सीआईआई) अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।
कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी व्यवसायीसहित डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी तथा प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया