नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको आज परीक्षण गरिँदै, मोबाइलमा चेतावनी सन्देश आउन सक्ने
- BFIS News
- 2026 Nov 23 16:20
काठमाडौं । विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण आज सोमबार गरिने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा गृह मन्त्रालयसँगको समन्वयमा मंसिर ७ गते (नोभेम्बर २३) साँझ ५:३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा उक्त प्रणालीको परीक्षण गर्न लागिएको हो।
परीक्षणका क्रममा सम्बन्धित क्षेत्रका मोबाइल फोनमा नेपाली र अंग्रेजी भाषामा ‘परीक्षण सन्देश’ र ‘TEST ALERT’ शीर्षकसहितको सूचना प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ। सन्देश प्राप्त हुँदा मोबाइलमा विशेष चेतावनी ध्वनि बज्ने वा कम्पन हुन सक्नेछ। एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले उक्त सन्देश वास्तविक विपद्को चेतावनी नभई प्रविधिको परीक्षण मात्र भएकाले मोबाइलमा सन्देश प्राप्त भएमा नआत्तिन र कुनै कदम नचाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सेल ब्रोडकास्ट प्रणाली मोबाइल सञ्जालमा आधारित प्रविधि हो। यसमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका उपयुक्त मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। यस प्रणालीबाट सूचना प्राप्त गर्न इन्टरनेट डाटा आवश्यक पर्दैन भने व्यक्तिगत मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने व्यवस्था पनि रहँदैन।
यस प्रविधिको प्रयोगबाट भविष्यमा बाढी, पहिरो, हिमनदी ताल विस्फोटन, भूकम्प तथा प्रतिकूल मौसमलगायतका विपद्का समयमा जोखिममा रहेका नागरिकलाई तत्काल पूर्वसूचना र आवश्यक सुरक्षात्मक निर्देशन उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ।
प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप प्रभावकारी बनाउँदै देशभर विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ। यसले विपद्को जोखिम न्यूनीकरण, नागरिकको सुरक्षा तथा जनधनको क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले विपद् पूर्वसूचना प्रणालीको विकास र परीक्षणलाई सफल बनाउन सर्वसाधारण, सञ्चारमाध्यम तथा सम्बन्धित सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया