Siddartha Bank
Prabhu Mahalaxmi

आईपीओ पाइपलाइनमा ११७ कम्पनी, ७१ अर्बभन्दा बढीको आवेदन प्रक्रियामा

United Ajod
  • BFIS News
  • 2026 Oct 29 11:55
आईपीओ पाइपलाइनमा ११७ कम्पनी, ७१ अर्बभन्दा बढीको आवेदन प्रक्रियामा
Sanima Reliance Life Insurance Company

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न ११७ कम्पनीले ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको आवेदन दिएका छन्। बोर्डले पहिलोपटक आवेदनको प्रक्रियागत अवस्थाका आधारमा वर्गीकरण गरी सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन् भने १० कम्पनीको आवेदन अन्तिम चरणअघिको समीक्षामा छ।

Nepal Life
NIMB

पाइपलाइनमा रहेका कम्पनीहरूले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्। सेबोनले आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा छ चरणमा विभाजन गरेको छ। यसमा आवेदन प्राप्त भएको अवस्था, प्रारम्भिक समीक्षा, कैफियत पठाइएको, कैफियतको जवाफ प्राप्त भएको, जवाफको समीक्षा भइरहेको र अन्तिम समीक्षा समावेश छन्।

अन्तिम समीक्षामा दुई कम्पनी

सेबोनको विवरणअनुसार आईपीओ निष्काशन प्रक्रियाको छैटौँ तथा अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन्। यी दुई कम्पनीले कुल २९ लाख कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका हुन्।

आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता शेयर निष्काशनको अनुमति मागेका छन्। आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेका छन्।

यद्यपि, अन्तिम समीक्षा चरणमा पुग्दैमा आईपीओ निष्काशनको स्वीकृति प्राप्त भएको मानिँदैन। आवश्यक कागजात, वित्तीय विवरण र प्रचलित कानुनी तथा नियामकीय मापदण्डको परीक्षण पूरा भएपछि मात्रै बोर्डले स्वीकृतिसम्बन्धी निर्णय गर्छ।

पाँचौँ चरणमा १० कम्पनी

अन्तिम समीक्षाअघिको पाँचौँ चरणमा १० कम्पनीका आवेदन छन्। यी कम्पनीले पेस गरेका जवाफ तथा परिमार्जित कागजातको समीक्षा भइरहेको छ।

यस चरणमा एनसी एग्रोटेक इन्डष्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड र सिउरी न्यादी पावरलगायत कम्पनी रहेका छन्। यी कम्पनीले कुल ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्।

बोर्डले जवाफ तथा कागजातको समीक्षा पूरा गरेपछि मात्रै उनीहरूको आवेदन अर्को चरणमा प्रवेश गर्ने वा स्वीकृतिसम्बन्धी निर्णय हुने प्रक्रिया अघि बढ्नेछ।

चौथो चरणमा १९ कम्पनी

सेबोनले पठाएको कैफियतको जवाफ प्राप्त गरिसकेका १९ कम्पनी चौथो चरणमा छन्। यस चरणमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटललगायत कम्पनी रहेका छन्।

यी कम्पनीले कुल ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्। बोर्डले प्राप्त जवाफको परीक्षण तथा आवश्यक समीक्षा गरेपछि मात्रै उनीहरूको आवेदनको प्रक्रियागत अवस्था थप अघि बढ्नेछ।

त्यस्तै, तेस्रो चरणमा चार कम्पनीका आवेदन छन्। बोर्डले आवश्यक सुधार वा थप विवरण माग गर्दै कैफियत पठाएका कम्पनीमा महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट रहेका छन्।

पहिलो र दोस्रो चरणमै ८२ कम्पनी

आईपीओ निष्काशनका लागि आवेदन प्राप्त भएको पहिलो चरणमा सबैभन्दा धेरै ७६ कम्पनी छन्। यस चरणमा मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्टलगायत कम्पनी रहेका छन्। उनीहरूले कुल २८ करोड ८ लाख २२ हजार ३१३ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्।

त्यस्तै, दोस्रो चरणमा छ कम्पनीका आवेदनको प्रारम्भिक समीक्षा भइरहेको छ। यस सूचीमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत कम्पनी छन्।

यसरी पहिलो र दोस्रो चरणमा मात्रै ८२ कम्पनीका आवेदन रहेका छन्। यसले आईपीओ पाइपलाइनमा रहेका अधिकांश कम्पनी प्रारम्भिक प्रक्रियामै रहेको देखाउँछ।

मापदण्ड पूरा भएपछि मात्रै स्वीकृति

सेबोनले आईपीओ निष्काशनको स्वीकृति दिनुअघि कम्पनीले पेस गरेका कागजात, वित्तीय विवरण र विवरणपत्रको परीक्षण गर्छ। साथै, प्रचलित कानुनी तथा नियामकीय मापदण्ड पूरा भए–नभएको पनि मूल्याङ्कन गरिन्छ।

बोर्डले कम्पनीहरूको पछिल्लो प्रतिशेयर नेटवर्थसमेत परीक्षण गरिरहेको छ। जलविद्युत् कम्पनीका हकमा व्यावसायिक उत्पादन सुरु भएको मिति अर्थात् कमर्सियल अपरेसन डेट (सीओडी) समेत परीक्षण गरिनेछ।

हाल ११७ कम्पनीका आवेदन विभिन्न छ चरणमा प्रक्रियामा छन्। तीमध्ये ७६ कम्पनीको आवेदन प्राप्त भएको चरणमा, छ कम्पनीको प्रारम्भिक समीक्षामा, चार कम्पनीको कैफियत पठाइएको चरणमा, १९ कम्पनीको जवाफ प्राप्त भएको चरणमा, १० कम्पनीको जवाफ समीक्षा भइरहेको चरणमा र दुई कम्पनीको अन्तिम समीक्षामा छन्।

कम्पनीहरूले आईपीओ निष्काशनको स्वीकृति पाउने समय भने आवश्यक कागजातको अवस्था, नियामकीय परीक्षण र सेबोनको निर्णयमा निर्भर रहनेछ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया