नेशनल हाइड्रोपावर कम्पनीले शुक्रवारदेखि ५० % हकप्रद शेयर निष्कासन

  • BFIS News
  • 2023 Jul Fri 05:12
नेशनल हाइड्रोपावर कम्पनीले शुक्रवारदेखि ५० % हकप्रद शेयर निष्कासन

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (शुक्रवार) देखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार पुग्नेछ ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ८२ करोड २१ लाख ४५ हजार बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ । 

कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण पनि कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ ।

कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो ईन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र सरकारले रद्द गरेको छ ।

सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया