Nepal Life

शक्ति सञ्चित गरेर विदाइ भयो सन् २०२३, नयाँ वर्ष २०२४ लगानीकर्ताका लागि विशेष बन्ने 'लस रिकभर हुने अपेक्षा'

Global Ime detail Page
  • पुरूषोत्तम सुवेदी
  • 2024 Jan Mon 06:13
शक्ति सञ्चित गरेर विदाइ भयो सन् २०२३, नयाँ वर्ष २०२४ लगानीकर्ताका लागि विशेष बन्ने 'लस रिकभर हुने अपेक्षा'
Sanima Reliance

काठमाडौं । गएका दुई वर्ष सन् २०२२ र २०२३ लगानीकर्ताका लागि समग्रमा खासै राम्रो रहन सकेन । सन् २०२३ मा नेप्से सूचक १८१८.३१ अंकसम्म तल झर्यो । सन् २०२२ मै ठुलो झट्का बेहोरिसकेका लगानीकर्ताले यस वर्ष शक्ति सञ्चित गर्ने अवसर प्राप्त गरे । वर्ष दिनभरि नै शेयर बजार १८१८ देखि २२२७ को वीचमा घुम्यो । पुराना लगानीकर्ताले पेनिक भएर बस्नु परे पनि नयाँ लगानीकर्ताका लागि भने बजार प्रवेशको वर्ष बन्यो । पैसा हुनेले एभरेजिङ गर्ने तथा नयाँ शेयर थप्ने राम्रो अवसर प्राप्त गरे । 

NIMB

देशको समग्र अर्थतन्त्रमै आएको सिथिलताले गर्दा शेयर बजारमा पनि राम्रै प्रभाव देखियो । सरकारले अर्थतन्त्रलाई सुधार गर्ने प्रयास गरे पनि खासै फलदायी रुपमा देखिन सकेको छैन । स्वभाविक रुपमा हुने बृद्धि तथा सुधार बाहेक सरकारको पहलमा ठुला आर्थिक सुधारका केहि पनि काम हुन सकेन । सन् २०२२ मा बैंकिङ तरलता अभाव भएर व्याजदर आकासिएकोमा सन् २०२३ अधिक तरलताका कारण राष्ट्र बैंकले बजारबाट अर्बौ रुपैयाँ खिच्नु पर्ने अवस्था आयो । यति मात्रै होइन बैंक व्याजदर कोभिडको समय हाराहारीमा आइपुगेको छ । यो भनेको बजारमा लगानी लगभग शून्य छ । नियमित रुपमा जाने कर्जा बाहेक नयाँ क्षेत्रका लागि कर्जाको माग छैन ।

कोभिड पछि बिग्रिएको खराव कर्जाले दोस्रो बजारमा सूचिकृत कयौं बैंक वित्तीय संस्थाहरुले लाभांश दिन पाएनन् । यस वर्ष लगानीकर्तालाई प्राथमिक बजारकै प्रिमियम सहितको आइपिओ खरिद गर्न धौ धौ भयो । आम सर्वसाधारणमा तरल पैसा नहुँदा समग्र अर्थतन्त्रमै सिथिलता आइरहँदा शेयर बजार पनि अछुतो रहने कुरा भएन ।

सन् २०२२ को अन्तिम महिनामा शेयर बजारले गति लिने अपेक्षा गरिए पनि विगत दुई वर्ष देखिको २२ सयको अवरोध तोडिन सकेको छैन । लगानीकर्तामा अझै पनि बजार घट्छ कि भन्ने संशय छ । अर्को तर्फ लगानी गर्नेको क्षमतामा पनि ह्रास आएको छ । मर्जरले बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुको शेयरमा कर्नरिङ गर्ने बढाउने अवस्थाको अन्त्य भएको छ । यसले गर्दा पनि लगानीकर्ताले बजारलाई अप्राकृतिक रुपमा बढाउन सकेका छैनन् । अप्राकृतिक रुपमा बढाइएका केहि कम्पनीको शेयर मूल्यले नेप्से सूचकमा खासै ठुलो प्रभाव पार्न सकेको छैन ।

राष्ट्र बैंकको नीतिका कारणले सन् २०२२ लगानीकर्ताले सोचे अनुसार भएन् । तर सन् २०२२ मा राष्ट्र बैंकले लगानीकर्तालाई केहि राहात प्रदान गर्यो । सन् २०२२ ४/१२ करोडको सीमाले आक्रान्त बनेकोमा अहिले यसको सिमा बढाइएको छ । साना तथा मध्यम प्रकृतिका लगानीकर्ताका लागि अहिलेको प्रयाप्त भए पनि अझै पनि ठुला लगानीकर्ताका लागि बाधक बनेको विश्लेषकहरु बताउछन् ।

सन् २०२२ र २०२३ लगानीकर्ताका लागि दर्दनाक र दुखदायी रह्यो । तर, नयाँ वर्ष सन् २०२४ लगानीकर्ताका लागि सुखद रहने लगानीकर्ताहरुको अपेक्षा छ । शेयर बजारलाई लिएर सरकारले नै चिन्ता व्यक्त गर्दै आइरहेको छ । सरकारले एक वर्ष पुरा गरेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै शेयर बजार घटेको भन्दै दुःख लागेको बताएका थिए ।

नयाँ वर्ष २०२४ लाई पूँजी बजारको स्वागत

नयाँ वर्ष सन् २०२४ लाई पूँजी बजारले स्वागत गरेको छ । ‘डाउन ट्रेन’बाट माथि उठ्ने तरखरमा रहेको पूँजी बजार नयाँ वर्ष सन् २०२४ को आज पहिलो कारोबार हुँदै छ । सन् २०२३ को अन्तिम महिनाको कारोबारले बजार बढ्ने संकेत प्रदान गरिसकेको हुँदा लगानीकर्ताका लागि सन् २०२४ धेरै नै उपलब्धिमूलक रहने अपेक्षा गरिएको छ । सम्भवत यस वर्ष लगानीकर्ताले आफ्नो पोर्टफेलियो दोब्बरले बढाउन सफल हुने विश्लेषक बताउछन् ।

सन् २०२२ र २०२३ लगानीकर्ताले कमाउन सकेनन् । यस अवधिमा लगानीकर्ताले आफ्नो पोर्टफेलियो लगभग आधा भन्दा धेरैले गुमाउनु पर्यो ।  नेप्से २०७८ भाद्र २ गते ३२०० नजिक पुगेको थियो । त्यसबेला शेयर बिक्री गर्नेले राम्रै नाफा आर्जन गर्न पुगेका थिए । त्यसपछि शेयर बजार ओरालो लागेर सन् २०२२ मै १८११ अंकमा झर्यो भने सन् २०२३ मा २२११ अंकसम्म बढेर पुनः २०१८ अंकसम्म तल झर्यो । बजार घटेर तल्लो अंकमा आएको समयमा शेयर बिक्री गर्नेले धेरै गुमाउनु पर्यो ।

सन् २०२३ मा पनि लगानीकर्ताको पोर्टफेलियो लसमा देखिए पनि नयाँ लगानीकर्ता जो तल्लो विन्दुमा प्रवेश गरेका थिए उनीहरुले भने अलि अलि गरि पैसा बनाइसकेका छन् । कतिपय कम्पनीको शेयर मूल्यमा राम्रै उछाल आएको हुँदा ति कम्पनीमा कारोबार गर्नेले पोर्टफेलियो बनाउन सफल देखिएका हुन् ।

सूचिकृत कम्पनीहरुले वितरण गरेको लाभांशले यस वर्ष लगानीकर्तालाई व्याज र कित्ता तिर्न समेत धौ धौ पर्यो । बैंकहरुले मार्जिन कल गरेर कतिपयको शेयर नै बिक्री गरिदिए । कतिपयले मार्जिन कर्जालाई सल्टाउदा सल्टाउदै हात रित्तो बनाए ।

सन् २०२२ मै नेप्से ३२ सय भन्दा पनि माथि जाने र शेयर बिक्री गरेर मनग्य कमाउने अपेक्षा लगानीकर्ताले गरेका थिए, तर त्यो अपेक्षा ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भयो । सन् २०२३ मा पनि नेप्से उकालो लाग्छ र आफूले किनेको शेयरको मूल्य पनि बढ्छ भन्ने अपेक्षा राखेका लगानीकर्ताले शेयर ‘होल्ड’ गरेर राख्दा पनि नाफा कमाउन सकेनन् ।

सन् २०२४ मा देखियो आशा किरणहरू

सन् २०२४ मा लगानीकर्ताले आशाका किरण देख्न थालेका छन् । बैंकहरुले शेयर धितो कर्जा एक विन्दुमा झारेका छन् । ५ वटा बाणिज्य बैंकले शेयर बजारलाई लक्षित गर्दै शेयरधितो कर्जा १० प्रतिशत भन्दा तल झारेका छन् भने अरुको पनि १२/१३ प्रतिशत भन्दा माथि छैन । विगतका वर्षमा लगानीकर्ताले १५/१६ प्रतिशतसम्मको व्याजदरमा शेयरधितो कर्जा लिनु पर्ने बाध्यता थियो । अर्को तर्फ बैंकहरुले लगानीकर्तालाई बोलाइ बोलाइ कर्जाका लागि अफर गरिरहेका छन् ।

बजार बढ्न थाले सँगै विदेशमा रहेका नेपालीहरुले विदेशमै बसेर शेयर खरिद बिक्री गरिरहेका छन् । यसले सप्लाइ म्यानेज गर्ने अपेक्षा गरिएको छ । सन् २०२३ मा लाभांश दिन नसकेका बैंक वित्तीय संस्थाले नाफालाई सञ्चित गरेर राखेको हुँदा सन् २०२४ मा राम्रो र आकर्षक लाभांश दिन सक्ने अपेक्षा गरिएको छ । शेयर बजार सन् २०२२ मा ३२ सय अंक चुमेर १८११ अंकमा झर्यो । तर सन् २०२३ शेयर बजार १८ सय र २२ सयकै वरिपरि घुमिरहेको हुँदा शक्ति सञ्चित गरेर बसिरहेको छ ।

सन् २०२३ को सञ्चित शक्ति सन् २०२४ मा विस्फोट हुने र बजारले नयाँ गति लिने अनुमान गर्न सकिन्छ । यसले गर्दा अझै पनि नयाँ तथा पुराना लगानीकर्ताका लागि बजार प्रवेश गर्न उपयुक्त अवसर कायमै छ । जसले यो समयमा बजार प्रवेश गर्छन् उनीहरुले यस वर्षमा राम्रै प्रतिफल आर्जन गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

बजार बढेको बेला प्रवेश गर्ने र घट्न थालेपछि बजारबाट बाहिरिने प्रवृत्ति जहिले पनि हुन्छ । पछिल्ला वर्षहरुमा आइपिओ भर्ने, डिम्याट खाता खोल्ने र मेरो शेयर चलाउनेको संख्या उत्साहजनक रुपमा बढ्दै गएको छ । हाल डिम्याट खोल्नेहरू नै ६० लाख नाघिसकेका छन् । पछिल्लो एक वर्षमा मात्रै ५ लाखले डिम्याट खाता खोलेका छन् ।

अनलाइन प्रणाली २०७५ सालमा सुरु भएपछि विश्वभरी छरिएर रहेका नेपालीले पनि शेयरमा लगानी गर्न थालेका छन् । पछिल्लो समय विदेशमा रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत शेयर सुरक्षित गरिदै आइएको छ । यसले पनि वैदेशिक रोजगारमा गएका नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने बाटो खोलिदिएको छ । नयाँ वर्षमा नेप्सेले नयाँ उचाइ चुम्ने सम्भावना बढेर गएको छ । नयाँ वर्ष २०२४ कमाइको वर्ष बनोस् भन्ने अपेक्षा गरिएको छ । लगानीकर्ताले एक अर्कालाई नयाँ वर्ष कमाइको वर्ष होस् भन्ने शुभकामना दिएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया