अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सीतारमणबीच गुजरातमा भेटवार्ता

  • BFIS News
  • 2023 Jul Tue 21:32
अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सीतारमणबीच गुजरातमा भेटवार्ता

गुजरात । भारतको गुजरातमा भइरहेको  जी ट्वान्टी अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमण बीच द्विपक्षीय साइडलाइन बर्ता भएको छ ।

बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिएका छन् ।

अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्पन्न विद्युत निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे ।

दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रहेको महतको सचिवालयले जनाएको छ ।

भारतका अर्थमन्त्रीले भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरिन् । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापनाका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकाले सो क्षेत्रमा लगानी बढाउनसमेत अनुरोध गरे ।

जी ट्वान्टी सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर दिनुका साथै यो मञ्चमा नेपाललगायत कम आय भएका देशको सरोकारका विषय राख्न अवसर दिएकोमा महतले धन्यवाद दिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया