प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

  • BFIS News
  • 2023 Jul Wed 22:23
प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । प्रभु इन्स्योरेन्सको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले सञ्चालक समितिको निर्णयलाई स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ । २०८० असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन अनेक प्रयास गरिएको तर सम्भव नभएपछि हकप्रद सेयर गर्ने निर्णय गरिएको कम्पनीले दावी गरेको छ ।

 

अजोड इन्स्योरेन्ससँग मर्जरका लागि एमओयु गरिएको तर अजोडले एकतर्फी रुपले सम्झौता तोडेको आरोप प्रभुले लगाएको छ । प्रभुले अन्य निर्जीवन बीमा कम्पनीहरुसँग मर्जरका लागि प्रयास गरेको तर हालसम्म उपयुक्त कम्पनी फेला नपरेको दावी गरेको छ । विदेशी साँझेदार भित्र्याउन गरिएको प्रयास पनि असफल भएको प्रभुको दावी छ ।

कम्पनीले ९९ करोड २८ लाख ७२ हजार २ सय १० रुपैयाँ बराबरले हुने ६५ प्रसितशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्दै अनुमति मागेको हो । प्रभुको हाल चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख ३२ हजार २ सय रुपैयाँ रहेको छ । कम्पनीलाई अझै एक अर्ब १२ करोड ३८ लाख ६७ हजार ८ सय रुपैयाँ पुँजी अपुग छ । ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि अपुग हुने १३ करोड ९ लाख ९५ हजार ५ सय ९० रुपैयाँ बराबरको भने बोनस सेयर दिने कम्पनीले तयारी गरेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि तोकिएको पुँजी पुर्याउन अधिकतम ३० प्रतिशतसम्म मात्रै हकप्रद सेयर निष्काशन गर्न दिने बताउँदै आएको छ । उता, सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने हकप्रद सेयर निष्काशन सम्बन्धी सञ्चालक समितिको निर्णय हालसम्म नेपाल स्टक एक्सचेञ्जमा भने बुझाईएको छैन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया