राष्ट्रिय वाणिज्य बैंकले बनायो करोडौँको मालिक, हिमाकुमारी उपाध्यायको सफलताको कथा
- विष्णु पौड्याल
- 2024 Jan Tue 21:49
काठमाडौं । वर्ष ३१ की हिमाकुमारी उपाध्याय व्यवसायमा संलग्न भएको १० वर्ष भयो । वि.सं. २०७० सालमा सुर्खेतको पुरानो उद्योग भवानी छापाखाना खरिद गरी नामसारी गरेपछि उनको व्यावसायिक यात्रा सुरु भएको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको उद्योगको लगानी २० करोड बढी पुर्याइएको छ । सुर्खेतमा आउने कान्तिपुर, गोरखापत्र, नागरिक, नयाँ पत्रिका दैनिकको बजार वितरकबाट सुरु भएको उनको व्यावसायिक यात्रा अहिले ६० जनाभन्दा बढीलाई रोजगारी दिनेसम्म पुगेको छ ।
सुर्खेतको वीरेन्द्रनगरकै पुरानो भवानी छापाखानाकी सञ्चालक हुन् हिमाकुमारी उपाध्याय । हाल वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको २ रोपनी जग्गामा सञ्चालित उक्त छापाखानामा करिब २० करोड रुपैयाँ बढीको लगानी गरिसकेको उनी बताउँछिन् । उपाध्यायलाई १०–१२ वर्ष अघिसम्म पनि कुनै बेला साँझ–बिहानको छाक टार्न पनि धौधौ हुन्थ्यो । राष्ट्रिय वाणिज्य बैंक लि.शाखा कार्यालय सुर्खेतबाट सुरुमा रु.१० लाखको ऋण लगानीबाट उनको व्यवसाय सुरु भएको हो ।
बैंकको लगानी, व्यावसायिक सल्लाह र प्रेरणालाई उपाध्याय आफ्नो सफलताको सूत्र ठान्छिन् । बैंकको लगानी र व्यवसायबाट भएको नाफाका कारण उनको उद्योगले बर्सेनी नयाँ नयाँ प्रविधिका छपाई मेसिन भित्र्याइरहेको छ । काठमाडौँ र बुटवलपछि छापाखाना प्रविधिमा सबैभन्दा धेरै लगानी गरी जर्मनमा उत्पादित अत्याधुनिक हाइडल वर्कका दुई वटा कलर मेसिन थपेर कर्णाली प्रदेशमा युवा महिला उद्यमीले एउटा साहस देखाएकी छिन् र उद्योगबाट उनी सन्तुष्टि छिन् ।
मेसिन खरिद तथा व्यवसाय विस्तार गर्न राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय सुर्खेतबाट २०७७ साल माघ २९ गते कर्जा लिई रु.३० लाखबाट रु. ६० लाख लगानी बढाएको बताउँछिन् । त्यसैको फलस्वरूप फर्म खरिद गर्दा वार्षिक १० लाख कारोबार हुने फर्मबाट अहिले वार्षिक ७ करोड बढीको कारोबार गर्दै आएको छ । व्यवसायको सुरुदेखि नै ऋण साझेदारका रूपमा राष्ट्रिय वाणिज्य बैंक लि., शाखा कार्यालय, सुर्खेत रहेकाले उद्योगको सम्पूर्ण कारोबार वाणिज्य बैंकबाटै हुँदै आएको छ ।
पत्रिका बिक्री गर्ने ‘हकर’ हिमा कसरी करोडपति बन्न सफल भइन् ? उनको सङ्घर्षपूर्ण कथा धेरैका लागि प्रेरणादायक बन्न सक्छ । २०४७ चैत्र ११ गते सुर्खेतको कल्याण गाविस–८ मा जन्मिएकी हिमा कक्षामा सधैँ प्रथम हुन्थिन् । कक्षामा प्रथम भएबापत उनले केही नगद पुरस्कार समेत पाउने गर्दथिन् । “२ कक्षामा प्रथम हुँदा मैले पुरस्कारबापत पाएको पैसाले घरमा भाले र एउटा पोथी कुखुरा किनेर पालेँ । आमाले घर खर्च चलाउन गाउँमा केरा सङ्कलन गरेर बिक्री गर्नुहुन्थ्यो । स्कुल बिदाको दिनमा म पनि आमासँगै केरा सङ्कलन गरेर घरदेखि ३ घण्टाको पैदल यात्रामा वीरेन्द्रनगर आएर बेच्थ्यौँ” उनले बाल्यकाल सम्झिइन्, “केरा बेचेर नाफा भएको पैसा मेरो हातमा हुन्थ्यो, त्यो क्षणमा म धेरै खुसी हुन्थेँ । मनमनै सोच्थेँ, राष्ट्रिय वाणिज्य बैंकले बनायो करोडौँको मालिक हिमाकुमारी उपाध्याय प्रो. भवानी छापाखाना, सुर्खेत यो पैसा मजस्तै पैसा अभावले पढ्न नपाएका र दुःखीहरूलाई दिन पाए हुन्थ्यो ।”
प्राथमिक शिक्षा गाउँ नजिकैको स्कुलबाट पास गरे पनि बाँकी पढाइ उनका लागि सहज थिएन । घरदेखि ३ घण्टा टाढाको हिँडाइपछि मात्र माध्यमिक विद्यालय पुग्न सकिन्थ्यो । उनले दुःख कष्ट भोग्दै माध्यमिक शिक्षा हासिल गरिन् । गाउँमा एसएलसी पास गरेका कोही महिला उतिबेला रहेनछन् तर उनले भने एसएलसी पास गरिन् । एसएलसी परीक्षा सकिएपछि खाली समयको सदुपयोग गर्न खोलाको बालुवा सङ्कलनको काम समेत गरेको उनले बताइन् ।
गाउँमा केरा सङ्कलन गर्ने काम प्रभावकारी नभएपछि उनले झुप्रा खोलामा बालुवा सङ्कलन गर्ने काम गर्न थालिन् । “खोलामा गएर बालुवा सङ्कलन गर्दै उच्च शिक्षा पढ्ने सोच बनाएँ । बालुवा सङ्कलन गर्ने काम यति गाह्रो थियो कि दिनभर बालुवा बनाएपछि साँझ त्यो हातले खाना खान त के, चम्चा समाउन सक्थेनँ । तर दैनिक बालुवा सङ्कलन नगरे उच्च शिक्षा हासिल गर्ने सपना अधुरै हुने भएकाले काम गरिरहेँ ।” उनी सम्झिन्छिन् – “खोलामा मैले काम गरेको देख्दा मान्छे कानेखुसी गर्थे र भन्थे – नानी तिमी त यत्रो पढेको मान्छे किन यहाँ यसरी बालुवा बनाउन आएको ? जागिर खाए हुने नि ! बालुवा सङ्कलन गर्यो भने मात्र दैनिक हजार रुपैयाँ कमाइ हुन्थ्यो ।”
उनी जवान हुँदै जाँदा बिहे गर्ने प्रस्तावहरूसमेत धेरै आए तर पढाइका खातिर उनले त्यस्ता प्रस्तावको वास्ता गरिनन् । उनले २०६७ मङ्सिर २९ गते पारिवारिक सहमतिमै वीरेन्द्रनगरका दिपक बुढासँग अन्तरजातीय विवाह गरिन् । दिनभर नकमाए साँझ भोकै बस्नुपर्ने अवस्था दिपकको पनि थियो ।
“विवाहपछि म सहकारीको फिल्ड प्रतिनिधिका रूपमा हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लाटीकोइलीमा काम गर्थेँ । त्यसबाट प्राप्त पैसाले ४ जनाको परिवारलाई पाल्न त के साँझ–बिहान खानसम्म पुग्दैनथ्यो । म सधैँ एक्लै रुन्थेँ । भोलि के खाने र खुवाउने ? के अब जिन्दगी यसरी नै चल्ला त भनेर सोच्थेँ ।”
उनले भनिन् “समय बित्दै गयो, दिन फेरिने छाँटसम्म थिएन । आफू त भोकै बस्न सकिन्थ्यो तर घरमा नन्द, देवरलाई के खुवाउनु ? कहिले चामल हुन्थ्यो, दाल हुन्थेन । दाल हुन्थ्यो, तेल हुन्थेन । यसरी कति दिन चलायन सकिएला जस्तो लाग्थ्यो । खानाको समस्या एकातिर छँदै थियो, जब कलेजको शुल्क, किताब, कपडा, चाडबाडमा खर्च गर्नुपर्ने समय आउँथ्यो, अभिशाप नै भएर आउँथ्यो । कति रात त दुवै बुढाबुढी रोएरै बसिदिन्थ्यौँ ।”
समय बित्दै जाँदा पत्रिका बिक्री गर्ने व्यवसाय सुरु गर्ने योजना बनाएको हिमाले बताइन् । “२०६८ वैशाखदेखि अल्फा कम्युनिकेसन कर्नर नामको फर्म दर्ता गरी राष्ट्रिय पत्रिकाहरू कान्तिपुर, नागरिक, गोरखापत्रको वितरण सुरु गर्यौं । एकातिर मेरो सहकारीको जागिर, अर्कोतर्फ पत्रिका बिक्री गर्ने कार्य आफैमा चुनौतीपूर्ण थियो । त्यसमा पनि महिलाले पत्रिका बोकेर घरघर पुर्याउन जाने अर्को चुनौती थियो ।”
हिमा थप्छिन् “म त्यो गर्मीमा दिनभर साइकलमा पत्रिका बाँड्थेँ । सुर्खेतमा पत्रिका बाँड्ने पहिलो महिला सम्भवतः म नै थिएँ । एकातिर सहकारीको जागिर र अर्कोतिर पत्रिका बाँड्नुपर्ने । म बिहान सहकारीको पैसा उठाउन जान्थेँ र दिउँसो पत्रिका बाँड्न । पत्रिका बाँड्न जाँदा मलाई धेरैले खिल्ली उडाउँथे तर मलाई त्यसको कुनै पर्वाह थिएन । किनकि म काममा विश्वास राख्थेँ । विस्तारै पत्रिकाका ग्राहक पनि बढ्दै गए र दिनमा १०/२० रुपैयाँ खुद्रा बिक्रीबाट पनि कमाउँथेँ ।”
नियमित सेवा राम्रो भएकाले साउनबाट पत्रिकाको माग बढ्यो । उनले नागरिक, कान्तिपुर, गोरखापत्र गरेर दिनमा ४५० वटा पत्रिका बाँड्न थालिन् । उनको कमाइ विस्तारै कोठा भाडा तिर्न सक्ने हुन थाल्यो । “राम्रो गर्नुपर्छ, केही नयाँ गर्नुपर्छ भनेर सधैँ नयाँ योजनाबारे सोचिरहन्थ्यौँ । पसल सुरु गरेको पनि वर्ष दिन पुग्न थालेको थियो । अलि– अलि पैसा जम्मा गरेका थियौँ । त्यसैले एउटा बाइक किन्ने, सहकारीको जागिर पनि छाड्ने र धेरै टाढासम्म बाइकमै पत्रिका बाँड्ने सोचका साथ बाइक किन्यौँ ।” उनले भनिन् ।
यसैबिच हिमाको परिवारमा नयाँ योजना अगाडि बढ्यो । “नागरिक पत्रिकामा सुर्खेतको सबैभन्दा पुरानो छापाखाना भवानी छापाखाना बिक्रीमा भनेर विज्ञापन रहेछ । मेरो श्रीमान् गएर कुरा गर्नु भएछ । मूल्य १२ लाख भने छन् । यत्रो पैसा त कहाँ पाउनु ? सोधी हेरेको पो ! भनेर वास्ता गर्नु भएन छ ।
केही दिनपछि कुरा गर्दा उहाँले मलाई सबै कुरा भन्नुभयो ।” उनले भनिन् “एक वर्षभित्र पूरा रकम नबुझाएपछि दिएको पेस्की रकम पनि फिर्ता नहुने र छापाखाना पनि आफै फिर्ता लिने गरी कागजी सहमति भयो । २०६९ साउन १ गतेबाट हामीले जिम्मा लियौँ ।” भएको सहमति अनुसार उक्त फर्म २०७० वैशाख १६ गते नामसारी गर्यौं । छापाखानामा हात हालेपछि हिमाको जिन्दगीले नयाँ मोड लियो । उनले मेसिन चलाउन पनि सिकिन् । “धेरै दिनसम्म श्रीमान्ले रातमा मेसिनको कालो पुछ्ने र मैले मेसिन चलाउने गरेर रातभर पत्रिका छाप्यौँ । नानी पेटमा पाँच महिना हुँदासम्म मैले मेसिनमा काम गरेँ । पछि कर्मचारीहरू पनि राखियो र उनीहरू नियमित आउन थाले । नयाँ खालको व्यवस्थापन गर्यौं छापाखानामा । महिलालाई नै व्यवस्थापनको प्रमुख बनाइदिएँ ।” उनले भनिन् ।
नयाँ कर्मचारी थप्दा पनि महिला कर्मचारी नै थपिन् उनले । व्यावसायिक यात्राका दौरान अझै पनि उनलाई के विश्वास छ भने महिलालाई दिएको जिम्मेवारी पुरुषलाई दिएको जिम्मेवारीभन्दा कैयौँ गुणा सफलतापूर्वक निर्वाह गर्न सक्छन् । “महिलालाई प्रमुख बनाएपछि व्यवस्थापन पक्ष बलियो भएको छ” उनले भनिन् । छापाखाना जिम्मा लिएको १ वर्ष पूरा नहुँदै ८ महिनामा २०६९ चैत्र मसान्तमा छापाखानाको सबै ऋण चुक्ता गरिएको उनले स्मरण गरिन् । त्यसपछि छापाखानाको पूर्ण स्वामित्व हिमाका नाममा आयो । २०७० असार मसान्तसम्म उनले अन्यत्रको सबै ऋण चुक्ता गर्न सफल भइन् ।
“सबै ऋण तिरेको ७ महिनापछि २०७० माघमा एउटा नयाँ अफसेट प्रेस मेसिन ८ लाखमा थपेँ । व्यवसाय सुरु गरेको ११ वर्ष पुग्दै छ ।” उनले सम्झिइन् – “पत्रिका बिक्रीबाट सुरु भएको व्यवसाय छापाखाना साहुसम्म पुगेको छ । यही व्यवसाय सुरु गरेर वीरेन्द्रनगरमा एक विगाह बढी जग्गा, घडेरी, ३ वटा घर, ४ वटा गाडीको मालिक भएकी छु । छापाखाना उद्योगको सम्पत्ति जोड्दा अहिले झन्डै २५ करोडको सम्पत्ति पुगेको छ ।”
हिमाले २०७२ असोज १ गतेदेखि करिब ३० लाख रुपैयाँको लगानीमा जाजरकोटमा सिद्धिविनायक अफसेट प्रेस खोलेर सेवा विस्तार गरेकी छिन् । २०७६ असारदेखि डोल्पा सदरमुकाम दुनैमा समेत त्रिपुरासुन्दरी अफसेट प्रेस सञ्चालनमा ल्याइएको छ । सुर्खेतमा मात्रै वार्षिक ४ करोड बढीको कारोबार गर्छिन् उनी । यसरी व्यावसायिक रणनीति निर्माण र त्यसको कार्यान्वयनमा राष्ट्रिय वाणिज्य बैंक लि. केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरूले दिनुभएको सल्लाह, सुझावकै कारण आज आफू यो स्थानसम्म आउन सफल रहेको साथै यस सफलतामा श्रीमान् दिपक बुढाको उत्साह र साथको मुख्य भूमिका रहेको उनले बताइन् ।
व्यावसायिक रूपमा सफल भएपछि सरकारले नै हिमालाई २०७३ जेठमा सम्मान गरेको थियो । केयर नेपालले देशभरीबाट १० जना सफल महिला उद्यमीहरूमध्ये ‘सफल महिला उद्यमी अभिप्रेणा अभियान–२०७३’, अन्तर्राष्ट्रिय नारी दिवस – २०७३ मा एम्नेस्टि इन्टरनेसनल नेपाल, लयर्स समूह–६९ सुर्खेतबाट ‘सफल महिला उद्यमी सम्मान–२०७३’, न्यु बिजनेस ऐज (आर्थिक अभियान) द्वारा ‘न्यु बिज बिजनेस ओमेन समिट अवार्ड – २०२१’, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट नगद १ लाखसहित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा नगद १ लाख सहित ‘राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार–२०८०’ जस्ता प्रसिद्ध सम्मान तथा पुरस्कारबाट सम्मानित उपाध्याय हालसम्म दर्जनौँ सम्मान प्राप्त गर्न सफल भएकी छन् ।
हिमा कमाइ र कारोबारमा मात्रै सीमित छैनन् । उनले समाजसेवा समेत गर्न थालेकी छिन् । “सेडा क्याम्पस सुर्खेतले नर्सिङ पढेकी छात्राको शुल्क बाँकी हुँदा मार्कसिटको फोटोकपीसम्म दिएन । मैले आर्थिक सहयोग गरेर शुल्क तिरिदिएँ ।” उनले भनिन्, “ती छात्रा अहिले लोकसेवामा नाम निकालेर सरकारी जागिरे छिन् ।” आफूले माध्यमिक शिक्षा लिएको सरस्वती मावि कल्याणलाई उच्च मावि बनाउन उनले ५१ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरिन् ।
प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पताल बनाउन २५ हजार ५५५ रुपैयाँ, सुर्खेतमा सञ्चालित वृद्धाश्रमलाई ५ हजार रुपैयाँ सहयोग गरेर आजीवन सदस्य बनेको उनले बताइन् । सुर्खेतमा बाढी पीडितलाई सहयोग, आगोमा आधा शरिर जलेर सिम्ताबाट प्रदेश अस्पताल उपचारमा ल्याइएका ७ बर्षीय बालक, कोहलपुरमा क्यान्सरबाट पीडित बालक, आर्थिक अभावमा स्टाफ नर्स पढेर सटिफिकेट निकाल्न नसकेकी किशोरीलाई नगद आर्थिक सहयोग उनले गरेका केही प्रतिनिधिमूलक घटना हुन् । त्यसै गरी हालै भूकम्प प्रभावित जाजरकोट जुनिचाँदे गा.पा.–१ सरस्वती प्राथमिक विद्यालयका ११५ जना बालबालिकालाई २ लाख बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हिमाले सुनाइन् ।
हिमा भन्छिन् – “आज म जुन स्थानमा छु, त्यसको श्रेय म मेरो श्रीमान्, मेरो मेहनत र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय सुर्खेतलाई दिन चाहन्छु । हामीजस्ता नयाँ उद्यमीलाई कर्जा दिन अन्य बैंकले बेवास्ता गरिरहेको अवस्थामा २०७३ सालमा राष्ट्रिय वाणिज्य बैंकबाट १० लाखमा लिएको कर्जाले व्यवसाय विस्तार गर्न र निरन्तरता दिन सहज भयो ।” व्यवसाय गर्नका लागि भनेर लिएको कर्जा वास्तविक रूपमा सोही व्यवसायमा नै उपयोग गर्दा प्रगति गरेको बताउने उनी थप्छिन् – “मेरो मेहनत, धितो, व्यावसायिक कागजातका आधारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय सुर्खेतले मलाई विश्वासपूर्वक व्यावसायिक सल्लाह, सुझाव, हौसला र न्यून ब्याजदरको लगानी प्रदान गरेका कारण म र मेरो व्यवसाय आज यो स्थानमा छ ।
खासमा सरकारी बैंक भएर पनि छिटोछरितो, सरल र सहज बैंकिङ कारोबारहरू कर्जा, निक्षेपलगायत अन्य सेवा सुविधा प्रदान गर्नमा राष्ट्रिय वाणिज्य बैंक अब्बल र सशक्त छ । सफल उद्यमी बन्नलाई मेहनत, लगन, इच्छाशक्ति र दृढता मात्रै होइन, न्यून लागतको पुँजीको पनि उत्तिकै आवश्यकता पर्दछ । यो आवश्यकता मलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय सुर्खेतले पूरा गरिदियो । यस अर्थमा मेरो सफलताको मुख्य सूत्रधार म हाम्रो आफ्नै बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय सुर्खेतलाई ठान्दछु ।
(प्रस्तुत सामाग्री राष्ट्रिय बाणिज्य बैंकले ५९ औं वार्षिकोत्सवका अवसरमा प्रकाशन गरिएको विशेषाङ्क ‘उपहार’बाट लिइएको हो ।)
प्रतिक्रिया