बिक्रीकलाका लेखक पाण्डेको ५३ वर्षको उमेरमा १६ वर्षे मार्केटिङ शैली, पुस्तकको नामजस्तै कामले बनाउछ उत्प्रेरित

  • BFIS News
  • 2024 Feb Sat 09:43
बिक्रीकलाका लेखक पाण्डेको ५३ वर्षको उमेरमा १६ वर्षे मार्केटिङ शैली, पुस्तकको नामजस्तै कामले बनाउछ उत्प्रेरित

काठमाडौं । सामान्यतया कुनै पनि लेखकले आफ्नो पुस्तक प्रकाशन भइसके पछि आफैले बिक्री गर्ने चेष्टा गर्दैनन् । तर आफ्नो सम्पुर्ण जीवन बजार प्रवर्द्धन तथा विस्तारमा विताएका बिक्रीकलाका लेखक कमलबहादुर पाण्डे ५३ वर्षको उमेरमा पनि पुस्तकको नाम जस्तै काम गरिरहेका छन् ।

बीमा कम्पनीमा दुई दशक भन्दा लामो समय मार्केटिङमा विताएका पाण्डे एक दशकदेखि सफल ट्रेनरका रुपमा सक्रिय छन् । हाल उनि कुनै पनि कम्पनीमा कार्यरत छैनन् तर पनि उनलाई आफु जागिरे जीवनमै छु जस्तो लाग्छ । तीन दशकभन्दा लामो समयको अनुभवलाई बिक्री कला पुस्तकमा समेटेका छन् । जुन पुस्तक मार्केटिङमा विधामा रहेर काम गर्ने जो कोहीका लागि ‘क्याप्सुल’औषधी बनेको छ ।

पाण्डे कुनै दिन पनि घरमा बस्दैनन् । हरेक जीवन बीमा कम्पनीको शाखा/शाखामा आफै पुग्छन् । हात बाधेर घरमै बस्ने उमेरमा पनि उनि आफ्नो पुस्तक झोलामा राखेर दिनमा बीमा कम्पनीहरुको दुई तीन वटा शाखा कार्यालयमा पुग्छन् । एउटै ट्रेनिङ दिएर हजारौ रुपैयाँ शुल्क लिने पाण्डे अहिले निःशुल्क तालिमको लागि आह्वान गर्छन् ।

उनको यसमा एउटा मात्रै स्वार्थ छ, बिक्री कला पुस्तकको बारेमा राम्रो सँग बुझाउने । यस क्रममा उनि आफ्नो पुस्तकको बारेमा मात्रै जानकारी दिदैनन बास्तवमै बिक्री कला भनेको के हो र कसरी बिक्री कला बढाउने भने मोटिभेसनल ट्रेनिङ पनि दिन्छन् । यस क्रममा सहभागी मध्ये कोहि न कोहीले केहि न केहि पुस्तक खरिद गरिदिन्छन् त्यसैबाट उनि सन्तुष्ट हुन्छन् ।

उनको यस्तो सक्रियतालाई देखेर कतिपय शाखा प्रमुखले उनलाई ५३ वर्षको उमेरमा पनि तपाई १६ वर्षे ठिटो जस्तो यति चम्किलो झरिलो र सक्रिय कसरी हुनु भयो भनेर प्रश्न गर्छन् । उनि सबैलाई एउटै उत्तर दिन्छन् ‘मानिस जव वेरोजगार भएर घर बस्छ त्यस पछि उ बुडो हुन्छ । मान्छे बुडो हुनु हुँदैन । जसले जे जानेको छ बाचुन्जेलसम्म गरिरहनु पर्छ । जीवनमा सधै सक्रिय रहने हो भने कहिल्यै पनि बुढो होइदैन ।’

जस्तो पुस्तक उस्तै लेखक

आफ्नो लामो अनुभवलाई पुस्तकको रुपमा अभिलेखिकरण गरेका पाण्डेको नसा नसामा मार्केटिङ बगेको छ । साढे बीमा क्षेत्रमा विताएका पाण्डे एक दशकदेखि कुनै पनि कम्पनीमा कार्यरत छैनन् । जागिरे हुँदा सधै मार्केटिङ विभागमा रहेर काम गरेका पाण्डेले जागिरे जीवन सकिए पछि पनि बीमा क्षेत्रमै ट्रेनरको रुपमा विताए । यस क्षेत्रमा नाम र दाम दुबै कमाए ।

तालिम दिदा उनले थुप्रै मोटिभेसनल पुस्तकहरु पढे । आफूले पढेका र भोगका कुराहरुलाई पुस्तकमा रुपमा प्रकाशन गरे पछि हाल उनि सोही पुस्तकको बिक्री गरिरहेका छन् । उनि भन्छन् ‘लक्ष्मी प्रसाद देवकोटाले चुरोटका लागि कविता लेखेर दिन्थे । कमलबहादुर पाण्डेले आफ्नो पुस्तकको प्रवर्द्धनका लागि निशुल्क ट्रेनिङ दिइरहेको छ ।’

उनि हाल काठमाडौं उपत्यका भित्र रहेका सम्पुर्ण बीमा कम्पनीको शाखा कार्यालयमा पुगेर उत्कृष्ट अभिकर्ताहरुलाई बोलाइदिन अनुरोध गर्छन् । यसरी अनुरोध गर्दा कतिपयले कति रुपैयाँ शुल्क लिनुहुन्छ भनेर सोध्छन् । उनले सिधै जवाफ दिने गरेका छन् ‘म ट्रेनिङ दिन्छु तर मेरो पुस्तक बिक्री कलाको विषयमा बुझाउछु । जसले किन्नु हुन्छ म बिक्री गर्छु जसले किन्नु हुन्न त्यो पनि मलाई ठिकै छ ।’

यसै क्रममा उनिले दर्जन भन्दा धेरै शाखा कार्यालयमा निशुल्क तालिम सञ्चालक गरिसकेका छन् । उनले केहि थान पुस्तक पनि बिक्री गरे त्यो भन्दा धेरै उनले आफ्नो अनुभव टाटे । यो नै उनको एउटा ‘बिक्री कला’ हो । उनि भन्छन् ‘बिक्री कला सधै एउटै फर्मुलामा चल्छ भन्ने हुँदैन । समय अवस्था र परिस्थिति अनुसार आफु परिवर्तन हुँदै जान सक्नु पर्छ । आफुले दिएका एउटै कुरालाई बुझेर जीवन परिवर्तन गराउनु सकियो भने त्यो नै मेरो सफलता हो ।’

मानिसको जिन्दगी परिवर्तन हुन केहि पनि चाहिदैन । कसैले भनेको सानो चिजबाटै मानिसको हृदय छुन्छ । उनि मार्केटिङ गर्ने साथिहरुलाई कुनै पनि दिन घरमा नबस्न सुझाव दिन्छन् । उनि भन्छन् ‘विदाको दिनमा पनि घर बाहिर निस्कनु पर्छ । यदि कसै सँग भेटघाटको योजना छैन भने पनि घर नजिकैकको चिया पसलमा गएर अरुका कुरा सुनेरै मात्र भए पनि बस्नु पर्छ । मार्किटिङ जुन सुकै स्थानबाट सिक्न पाइन्छ ।’ उनले थपे, तर आफु जुन फिल्डमा काम गररहेको छु आफ्ना फिल्डका सबै कुराहरु जान्नु पर्छ । आफु सँग नलेज भएन भने के कुरा भन्ने । सबै कुरा सुनेर मात्रै हुँदैन त्यसको गहिराइसम्म पुगेर अध्ययन गर्नु पर्छ ।

यदि सकिन्छ भने एक महिनामा एउटा पुस्तक अध्ययन गर्न उनि सुझाव दिन्छन् । आफु जुन पेशामा छु त्यस पेशा सँग सम्बन्धित पुस्तककै अध्ययन गर्नु पर्ने उनि सुझाउछन् । उनले थपे ‘जवसम्म आफुलाई तिखारिदैन तवसम्म खारिदै खारिदैन ।’ आफ्नो दैनिकीमा जे जे काम कारबाही छन् ति सबै सम्पन्न गरेर थोरै मात्रै भए पनि अध्ययनमा छुट्टाउनु पर्छ अनि मात्रै आफु सक्षम र बुद्धिजिवी हुन सकिन्छ ।

कुरा गर्ने शैलीबाटै पढेको मानिस र नपढेको मानिस छुट्टिन्छ । उनि भन्छन्, अरुले जहिले पनि नपढेका भन्दा पढेका मानिसलाई बढि ध्यान दिन्छन् ।

लेखक पाण्डे कुनै ट्रेनिङमा पुगे भने उनि सकेसम्म उपस्थित सबैलाई व्यक्तिगत रुपमै प्रत्यक्ष कुराकानी गर्ने प्रयास गर्छन् । उनलाई आफुले जानेको कुराहरु भन्न कहिल्यै पनि अल्छी लाग्दैन । बजारमा भर्खर मार्केटिङ गरिरहेकाहरुका लागि ५३ वर्षका पाण्डे प्रेरणाको स्रोत बनेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया