सेल्स र ट्रेनिङका 'पोख्त' उमापति पोखरेल, शिक्षण अभिकर्ता हुँदै नेपाल लाइफको नेशनल सेल्स हेड
- अरुण सापकोटा
- 2024 Feb Wed 04:45
काठमाडौं । जीवन जन्म र मृत्यु विचको एउटा लामो यात्रा हो । यो यात्रामा सतकर्म, सतगुण, सतमार्गमा लागेर जो मानिस अगाडी बढ्छ उसले नै सोचेको गन्तव्य वा भिजनमा पुग्न सक्छ । जीवन एउटा खोला जस्तै हो । जो निरन्तर बगि रहन्छ र अन्तमा समुन्द्रमा पुगेरै छाड्छ । कुनै पनि व्यक्तिले नियमित रुपमा अनुसाशित भएर काम गर्यो भने सफलताको शिखर चुम्न सक्छ ।
कसैलाई ‘मोटिभेट’ गर्नु भन्दा पहिला आफै ‘मोटिभेट’ हुनुपर्छ । अधिकाम्स मानिसहरुको ‘मन भित्र एक थोक देखाउने अर्को थोक’ हुन्छ । हामी अरु कसैलाई यस्तो गरौ भन्दै गर्दा आफुले के गरिरहेका छौ र आफ्नो भित्री उद्देश्यलाई लुकाइरहेका हुन्छौ । तत्कालका लागि कसैलाई कन्भिन्स त गरिएला तर कुनै समय पछि आफ्नै व्यवहारले गलत सावित भइदिन्छन् ।
जसले आफुले बोले अनुसारकै काम तथा व्यवहार गर्छ । सायद यसैलाई काम प्रतिको समर्पण भनिन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १६ वर्ष अगाडी आफैले ठड्याएको शैक्षिक विरासतलाई आशिंक रुपमा त्यागेर भित्रिएका ‘उमापति पोखरेल’को नाम नेपाल लाइफका हजारौ अभिकर्ताहरुलाई अभिप्रेरित गर्ने नाम हो ।
आज नेपाल लाइफले जति पनि बीमा शुल्क आर्जन गरेको छ, जति पनि अभिकर्ताको सञ्जाल छ त्यसमा ठुलो योगदान पुर्याउने व्यक्तिहरु मध्ये उनको नाम सधै अग्र स्थानमा आउछ । शैक्षिक क्षेत्रबाट अभिकर्ता हुँदै नेपाल लाइफको सेल्स हेड उमापतिको जीवनमा पनि कयौ आरोह अवरोध आए । उनको सफलता तथा काम गर्ने शैलीलाई लिएर बीमा कम्पनीहरुले विभिन्न अफर नगरेका पनि होइन् तर उनि नेपाल लाइफले नै आफुलाई यो स्थानमा ल्याइपुर्याएको भन्दै बीमा क्षेत्रमा रहुन्जेलसम्म नेपाल लाइफमै रहने अठोट बनाएका छन् । उनि भन्छन् ‘म जहिलेसम्म जागिर खान्छु त्यतिवेलासम्म नेपाल लाइफमै बस्छु । जुन दिन म निवृत्त भरण भएर जान्छु म नेपाल लाइफको अनुकरणीय व्यक्ति भएर जान सकु ।’
लुम्बिनी अञ्चलको अर्घाखाची जिल्ला तत्कालिन पटौती गाविस वडा नम्बर ८ साना निगालीमा मध्यम वर्गिय परिवारमा जन्मिएका पोखरेलका ५ दाजुभाइ र दुई दिदि बहिनी छन् । उनि भाइहरुमा कान्छा हुन् । परिवार कृषि कर्ममा रहे पनि विशेषगरी आमाको ‘छोरा छोरी पढाउनु पर्छ’ भन्ने चेतनाका कारण उनका सबै दाजुभाइलाई पढ्ने अवसर प्राप्त भयो ।
पोखरेलको अध्ययन गाउँको ठुला पोखरा प्राथमिक विद्यालयबाट सुरु भयो । उनले कक्षा ४ देखि ७ सम्म देवी प्रभाव नि.मा.विमा अध्ययन गरे । माध्यमिक तहसम्ममा तीन वटा स्कुल परिवर्तन गर्नु पर्यो । एसएलसी भने २०४३ सालमा श्री हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयबाट राम्रो नम्बर ल्याएर उत्तीर्ण गरे । नेपालकै पुरानो विद्यालय मध्ये श्री हरिहर संस्कृत तथा साधारण माध्यम विद्यालय १९९४ मै स्थापना भएको थियो । हाल यस विद्यालयको प्रधानाध्यापक पोखरेलकै दाजु विष्णु प्रसाद पोखरेल छन् ।
जग्गा जमिन प्रशस्त भएको तर नगद आम्दानी प्रयाप्त नभएको अवस्थामा उनि बुटवलमा पढ्न आए । आमाको छोराछोरीलाई उच्च शिक्षा पढाउनु पर्ने भन्ने हठका कारण उनि बुटवल झरेका हुन् । बुटवल मल्टिपल क्याम्पसमा आइएमा भर्ना भए । जीवनमा केहि गर्छु पर्छ भन्ने सोचका पोखरेलले बुबा बमालाई आफ्नो खर्चको भार बोकाउनु हुँदैन भन्दै आइए दोस्रो वर्ष पढ्दा पढ्दै उनको दाइले पढाउने शोभा बोर्डिङ स्कुलमा शिक्षकको लागि आवेदन दिए । केरेलाका एमए मथाइले सञ्चालन गरेको उक्त स्कुलमा उनि खुला प्रतिस्पर्धाबाट शिक्षकमा छनोट भए ।
यसरी उनको शैक्षिक यात्रा २०४४ बैशाख ४ गतेदेखि सुरु भयो । अध्ययन र काम दुबैलाई सँग सँगै अगाडी बढाए । आइएई पुरा गरे सँगै बुटवल मल्टिपल क्याम्पसमा स्नातक तहको अध्ययन सुरु गरे । डिप्लोमा पढ्दै २०४७ जेठ ६ गते विवाह बन्धनमा बाधिए । उनको पहिलादेखि नै पढेलेखेकै केटी सँग विवाह गर्नु पर्छ भन्ने सोच थियो । यहि सोच अनुसार उनले आइएड अध्ययन गर्दै गरेकी तिलु पौडेल सँग विवाह गरे ।
विवाह पश्चात दुबै जना शिक्षण पेशामा होमिए । विवाह पछि एक छोरा र एक छोरीलाई लालन पालन गर्नु पर्ने जिम्मेवारी थपियो । यहि जिम्मेवारी पुरा गर्ने क्रममा श्रीमति पौडेलले पश्चिमाञ्चल ग्रामिण विकास बैंकमा नाम निकाल्न सफल भइन् । पढाइमा सधै प्रथम हुने पौडेलको साथ र सहयोगले आफु यस स्थानसम्म आइपुग्न सफल भएको पोखरेल बताउछन् ।
पोखरेल स्कुल पढाउनुका साथै होम स्ट्युस पनि पढाउथे । सुरुदेखिनै धेरै मिहिनेती पोखरेललाई शोभा बोर्डिङ स्कुलले राम्रो शिक्षकको रुपमा ‘वेस्ट टिचर अवार्ड’बाट सम्मानित गर्यो । उनले २०५० साल भदौसम्म पढाए । यहि भदौ महिना उनको लागि जीवनको अर्को टर्निङ पोइन्ट बन्यो । उनि आफैले नयाँ स्कुल सञ्चालन गर्ने निधो गरे ।
उनको सोचमा आफु सँगै पढेको स्याङ्जाको साथी कोशिष बहादुर बोगटी, बुटवल मल्टिपल क्याम्पसको प्राध्यापक डा. मोहन प्रसाद पन्थी र बाणिज्य क्याम्पसको लेक्चरर यज्ञ प्रसाद दिक्षितले साथ दिए । चार जनाको साथ र सहयोग पछि समिट बोर्डिङ हाइ स्कुल सञ्चालन गर्ने निधो भयो । विद्यालय स्थापना गर्दा पोखरेलले बिए उत्तीर्ण गरिसकेका थिए ।
शोभा स्कुलमा सबैको प्यारो पोखरेलले आफ्नो स्कुलमा शोभा बोर्डिङ स्कुलबाटै डेड सय विद्यार्थी भित्र्याए । यसरी आफुलाई पछ्याउदै १५० जना र बाँकी एक सय सहित २५० जना विद्यार्थीलाई भर्ना गरेर ६ कक्षासम्म सञ्चालन भयो ।
सुरुको केहि समय मोहन प्रसाद पन्धीले प्रिन्सिपल र पोखरेलले भाइस प्रिन्सिपलको जिम्मेवारी सम्हाले । त्यस पछि लगातार पोखरेलले नै नेतृत्व गरे । उनले करिव १५ वर्षसम्म आफै प्रिन्सिपल भएर काम गरे । सुरुमा भाडाको स्कुलबाट सुरु भएको समिटले आफ्नै कमाइबाट विस्तारै जग्गा खरिद गर्दै नयाँ भवन निर्माण गर्ने क्रममा हाल भौतिक रुपमा सुविधासम्पन्न बनिसकेको छ । अहिले स्कुल सँग करिव ६० कोठाको सुविधा सम्पन्न आफ्नै भवन छ । उनले विद्यालय छाड्दा ९८८ जना विद्यार्थी थिए । कोरोना पछि विद्यार्थीको संख्या घट्दा पनि विद्यालयमा साढे ७ सय विद्यार्थी छन् । हाल उनि विद्यालयको प्रमुख सल्लाहकारको रुपमा छन् ।
यसरी शिक्षण पेशामा होमिदा उनि यति धेरै व्यवस्त भए कि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा आएर अध्ययन गर्ने सपना अधुरो रह्यो । यसै क्रममा एक वर्षे बिएड गरे । बुटवल मल्टिपल क्याम्पसमा एलएलबीको अध्यापन सुरु भएको पहिलो वर्षमै भर्ना भए । यति नै समयमा बुटवल मल्टिपल क्याम्पसले अंग्रेजीको मास्टर डिग्रिको कक्षा सञ्चालन गर्यो । यहाँबाट पनि उनले पहिलो व्याजको रुपमा अध्ययन गर्ने अवसर प्राप्त गरे । यसरी बुटवल बहुमुखी क्याम्पसबाटै एलएलबी र अंग्रेजी विषयमा एमए राम्रो नम्बर ल्याएर उत्तीर्ण गरे ।
पढाइ र जागिरकै शिलशिलामा छोराछोरी हुर्काउनु पर्ने बाध्यता थियो । यसै क्रममा श्रीमतिले २०५३ साल कार्तिकबाट नेपाल ग्रामिण विकास बैंकको स्थायी कर्मचारीमा नाम निकालिन् । अफस घरबाट केहि टाढा भएकाले छोरा छोरीको रेखदेखको जिम्मेवारी पनि पोखरेलकै काधमा थियो ।
आफ्नै कमाइबाट उनले २०५३ सालमा बुटवलमै घर बनाउन सफल भए । बुटवल मल्टिपल क्याम्पसमै अध्ययनकै क्रममा उनले प्लस टु अध्यापनको अवसर प्राप्त गरे । यसै क्रममा एस.बि कलेजमा तीन वर्ष भन्दा बढि अध्यापन गराए ।
यतिवेलासम्म उनको वित्तीय अवस्था धेरै सुधार भइसकेको थियो । नियमित खर्चका लागि खासै गाह्रो थिएन । तर भविष्यका लागि यहि आम्दानीले छोरा छोरीलाई सोचेजस्तो उच्च शिक्षा पढाउन नसकिने हो कि भन्ने मनमा डर भने थियो । यसै डरले उनलाई शिक्षणबाट सिधै बीमा उद्योगमा प्रवेश गरायो ।
उनले २०५५ सालतिर नै विजय श्रीवास्तवसँग भारतीय बीमा कम्पनीको पोलिसी खरिद गरिसकेका थिए । उनलाई विजय श्रीवास्तवले बीमाको विषयमा धेरै कुरा बुझाइसकेका थिए । तर यतिवेलासम्म पनि उनलाई बीमा गराएर कमिशन पाइन्छ भन्ने कुरा भने थाहा थिएन् ।
एक दिन नेपाल लाइफको अभिकर्ताको काम गरिरहेका साथिका ज्वाइ भिम लाल अधिकारीले बीमा पोलिसीका लागि अफर गरे । आफु एमडिआरटी बन्नु छ त्यसैले जसरी पनि एउटा बीमा पोलिसी खरिद गर्नु पर्यो भने पछि पोखरेलले उनलाई बीमा अभिकर्ताको विषयमा राम्रो सँग सोधखोज गरे । पोखरेलले आफु बीमा गर्न तयार भएको तर वास्तवमा बीमाको अभिकर्तालाई के कति कमिशन प्राप्त हुन्छ भनेर प्रश्न गरे । अधिकारीले बीमा अभिकर्ताको विषयमा सबै कुरा राम्रो सँग बुझाइदिए । यसरी बुझ्ने क्रममा सरकारलाई बकाइदा कर तिरेर यति आकर्षक कमिशन प्राप्त हुन्छ भने किन अभिकर्ता नबन्ने भन्ने लाग्यो ।
यस पछि पोखरेलेले अधिकारी सँग जसरी हुन्छ आफुलाई अभिकर्ता बनाइदिनु पर्यो भनेर अनुरोध गरे । यस पछि २०५९ साल असोज १८ गतेदेखि २२ गतेसम्म वीरगञ्जमा सञ्चालन भएको तालिममा सहभागि भए । तालिममा तत्कालिन प्रमुख कार्यकारी अधिकृत विसी शर्मा थिए । कमल राज गौतम मार्केटिङ चिफ थिए । शाखा होम बहादुर श्रेष्ठ थिए । साथै सहायक प्रमुख किशोर लामिछाने थिए । उनिहरुले लगातार ४ दिनसम्म तालिम दिए र उक्त तालिमा अनेक प्रश्नको सवाल जवाफ दिने दिने गरी अभिकर्ताको प्रमाणपत्र प्राप्त गरे ।
मनैदेखि यहि पेशा गर्छु भनेर त्यति टाढा पुगेका पोखरेलले तालिम अवधिमा आफ्नो मनको सम्पुर्ण जिज्ञासा मेटाए । भोलि फर्किएर काम गर्नु पर्छ भन्ने सोचका साथ उनले सम्पुर्ण कन्फ्युजन मेटाए । उनले भने ‘डाउटलाई आउट गर्दै भोलिका दिनमा काम गर्न सजिलो बनाउने प्रयास गरे ।’
उनले जव तालिम सम्पन्न गरेर बुटवल फर्किए । त्यस पछि आफ्ना नजिकका साथीभाइ तथा अभिभावकहरुलाई भेट्न थाले । सबैलाई बीमाको विषयमा राम्रो सँग बुझाउन थाले । बीमा गराउन थालेको एक सातामा करिव करिव २० वटा बीमा गराए । उक्त बीमा गराउदा उनले पहिलो पटक ४०/४२ हजार कमिशन प्राप्त गरे ।
त्यतिवेला यो रकम धेरै ठुलो थियो । यस पछि उनलाई लाग्यो ‘मलाई मेरा बीमितले विश्वास गरेर यत्रो रकम सुम्पिएका छन् भने म आफुले पनि जिम्मेवारी भएर काम गर्नु पर्छ ।’ यसले उनलाई बास्तवममै जीवन बीमा अभिकर्ता तथा यस पेशामा होमिन धेरै ठुलो मोटिभेट गर्यो ।
यतिवेला उनले प्रिन्सिपल भएर भत्ता सहित साढे ९ हजार हात पार्थे । कजेर पढाएर पनि ९ हजार सहित करिव १८ हजारकै हाराहारीमा थियो । श्रीमतिको बैंकमा यो भन्दा धेरै राम्रो तलब थियो । यसरी विहानदेखि साँझसम्म काम गर्दाको आम्दानी भन्दा अभिकर्ताको काम गरेरै यति ठुलो आम्दानी हुने भए पछि उनलाई यो पैसाले साच्चीनै लोभ्यायो ।
अभिकर्ता पेशामा यतिसम्म रस पस्यो कि उनलाई कहिले शुक्रवार र शनिवार आउला जस्तो लाग्थ्यो । यहि समयमा नेपाल लाइफले बीमा व्यवसाय गरेको आधारमा बीमा अभिकर्ताको पदन्नोती गरिनु पर्छ भन्ने सिस्टम ल्यायो । यतिवेला यो प्रणाली मेट लाइफमा मात्रै थियो । यतिवेला नेपालमा जम्मा ५ वटा जीवन बीमा कम्पनीहरु राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, मेट लाइफ, एलआइसी र नेपाल लाइफ थिए ।
कम्पनीले बिजनेस कोर्डिनेटर (बिसी) सिस्टम ल्याउदा उनि नेपालकै पहिलो बिसी हुन सफल भए । त्यस पछि एरिया बिजनेस कोर्डिनेटर (एबिसी) सिस्टम आयो । एबिसी तर्फ पनि उनि नेपाल लाइफबाट पहिलो हुन सफल भए । पछि यहि एबिसीलाई एजेन्सी म्यानेजर बनाइयो ।
उनको सिस्टममा ३६ जना बिसी र १९ जना एम डाउन लाइनमा थिए । यति वेलासम्ममा उनको सबै क्षेत्रबाट हाइ हाइ सुरु भइसकेको थियो । अभिकर्ता पेशाबाटै उनले महिनाको डेढ लाख रुपैयाँ आम्दानी गर्न सुरु गरिसकेका थिए । राम्रो व्यवसाय गर्ने भएकाले काठमाडौंबाट जाने सिइओ तथा डिसिइओको सधै पहिलो रोजाइमा पर्थे । उनिले पेशागत बीमा अभिकर्ता संघ शाखा कमिटी बुटवलका पहिलो अध्यक्ष हुँदै २ कार्यकाल पुरा गरे ।
२०६५ सालमा नयाँ जीवन बीमा कम्पनीहरुको स्थापना भयो । सरकारले गुराँस लाइफ, प्राइम लाइफ, सूर्य लाइफ र एशियन लाइफलाई लाइसेन्स दियो । नयाँ कम्पनीले पुराना बीमा कम्पनीबाटै कर्मचारी तान्न थाले । यहि क्रममा नेपाल लाइफबाट धेरै कर्मचारीहरु नयाँ जीवन बीमा कम्पनीमा गए । यहि क्रममा बुटवल शाखा प्रमुख पनि कम्पनी छाडेर प्राइम लाइफ गए । यस पछि शाखा प्रमुख खाली भयो ।
तत्कालिन अवस्थामा योगेस कुमार नेपाल र रामेश्वर श्रेष्ठले पोखरेल सँगै डिल गर्थे । उनिहरुले नै यदि बुटवलको व्यवसाय राम्रो बनाउने हो भने टप लेभलका एजेन्सी म्यानेजर पोखरेललाई कम्पनीको शाखा प्रमुख बनाउन केन्द्रिय कार्यालयमा राय सल्लाए दिए ।
उनिहरुको सुझाव अनुसार तत्कालिन प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले पोखरेललाई फोन गरेर शाखा प्रमुखको जिम्मेवारी सम्हालन अनुरोध गरे । उनले तत्काल जवाफ दिए ‘सर म अहिले जागिर खान सक्दिन । अहिले नै मेरो यत्रो धेरै आम्दानी छ । त्यसमा पनि स्कुल कलेज पढाउछु ।’
जतिवेला पोखरेलले नै स्कुललाई एक्लैले ह्याण्डल गरिरहेका थिए । उनलाई छाडेर आउन निकै गाह्रो भयो । कम्पनीले डेपुटी म्यानेजरको अफर गर्यो । त्यतिवेला किशोर लामिछाने लगायतका व्यक्तिहरु नै डेपुटी म्यानेजर थिए । यसले गर्दा उनको मनमा जागिर गर्नु पर्छ कि भन्ने सोच बनाइरहेको थियो । तर उनि आफैले खडा गरेको संरचनालाई छाडेर हिड्न सक्ने अवस्थामा थिएन ।
कम्पनीबाट बारम्बार फोन आउन थाले पछि स्कुलको अध्यक्षलाई ‘मलाइ यस्तो अफर आयो के गरौ ?’ भनेर सोधे । तर सञ्चालकहरुले मानेनन् । बरु अपरझट मिटिङ राखेर खाइपाइआएको तलब सुविधामा १० हजार थप्ने निर्णय भयो । यसपछि उनलाई झन् कठिन भयो । स्कुलको सञ्चालकले आफूलाई स्कुलबाट नछाड्न धेरै प्रयास गरे ।
फेरि सिइओ मनोज कुमार भट्टराइले फोन गरेर निर्णय मागे । यति नै बेला कमल गौतम नेपाल लाइफ छाडेर एशियन लाइफमा गएका थिए । उनले पोखरेलको बारेमा कता कताबाट थाहा पाएर फोन गरेर भने ‘हामीले तपाईलाई ल्याउन सकेनौ किनभने तपाई त्यति धेरै आम्दानी गर्नुहुन्छ । तपाईको पोजिसन अनुसार हामीले ल्याउन नसकेर मात्रै नलाएका हौ । तपाई नेपाल लाइफमा जादै हुनुहुन्छ रे । यदि आम्दानीको हिसावले तपाई जादै हुनुहुन्छ भने नजानुस तर जानुहुन्छ भने कुनै हालतमा पनि फुल म्यानेजर पोस्ट त्यसमा पनि स्थायी भएर मात्रै जानुहोला ।’
गौतमले यस्तो हिन्स दिए पछि उनले पनि फुल म्यानेजरको मनस्थिति बनाए । आफ्ना सबै दाइहरु स्थायी जागिरे भइरहेको अवस्थामा आफु पनि स्थायी जागिरमा प्रवेश गर्न पाउने कुरालाई जोड दिदै लगभग जागिर खाने मनस्थिति बनाए ।
यतिकैमा फेरी सिइओ भट्टराइले फोन गरे । उनले जवाफ दिए ‘सर म आउन सक्छु तर मलाई फुल म्यानेजर पोस्ट चाहिन्छ त्यसमा पनि स्थायी हुनु पर्छ ।’ जसरी गौतमले सिकाएका थिए उनले त्यस्तै गरि भनिदिए । त्यस पछि सिइओ भट्टराइले भने ‘तपाईले अप्ठ्यारोमा पार्नु भयो । ६ महिना परीक्षणकाल दिन्छु त्यस पछि फुल म्यानेजर दिन्छु ।’
तत्काल उमापतिले जवाफ दिए ‘मलाई ६ महिना परीक्षणकाल होइन स्थायी नै दिनुस् तर मेरो काम राम्रो भएन भने ६ महिना पछि हुम्ला मुगुतिर पठाइदिनुस् त्यस पछि म आफै जादिन ।’
सिइओले भने ‘ल ठिक छ तपाईले भनिहाल्नु भयो आउनुस् ।’ त्यस पछि सञ्चालक समितिले निर्णय गरेर उनलाई कम्पनीले स्थायी नियुक्ति दियो । उनले २०६५ जेठ १६ गते स्थायी नियुक्तिपत्र प्राप्त गरे ।
स्थायी नियुक्ति भएको जेठ १६ गतेदेखि असार मसान्तसम्ममा उनको बुटवल शाखाले साढे १० महिनामा जति व्यवसाय गरेको थियो डेढ महिनामा त्यति नै व्यवाय भित्र्याए । डेढ महिनामै उनले आउट स्ट्याण्डिङ पफर्मेन्ट सहित ग्रेड थप गरेर सुविधा बुझे । यस पछि उनि बुटवलमा लगातार दुई वर्ष शाखा प्रमुख भए । पहिलो दुई वर्ष बेस्ट ब्रान्च म्यानेजर अफ दि एयरको अवार्ड प्राप्त गरे । तत्कालिन २२ वटा शाखा मध्ये उनि उत्कृष्ट बने ।
यस पछि पहिलो क्षेत्री कार्यालय बुटवलमा खोलियो । क्षेत्रीय कार्यालय स्थापनाको पहिलो तीन महिना कमल पन्थी प्रमुख भए पनि बाँकी अवधिमा उनि आफै क्षेत्री प्रमुख भए । चार वर्ष क्षेत्रीय प्रवन्धकको रुपमा काम गरे । चार वर्षमा दुई पटक बेस्ट रिजनल म्यानेजरको अवार्ड प्राप्त गरे । यस पछि २०७० सालमा सरुवा गरेर उनलाई काठमाडौं ल्याइयो । बुटलमा रहदा गुल्मी अर्घाखाची स्याङ्जा कपिलबस्तु रुपन्देही दाङ प्युठान रोल्पा हुम्ला मुगु बाजुरा क्षेत्रमा शाखा उपशाखा खोल्नेदेखि लिएर व्यवसाय विस्तारमा धेरै काम गरे । यस स्थानहरुमा धेरै ट्रेनिङ दिने काम गरे ।
सधै राम्रो काम गर्ने भएकाले उनि अभिकर्तादेखि लिएर कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीहरुमा उनि सधै लोकप्रिय थिए । २०७० असोज १४ गते काठमाडौं आए र बागमती क्षेत्रको प्रमुख भए । जतिवेला यस क्षेत्रमा जम्मा ५ वटा मात्रै शाखा थिए । उनि आए पछि आफ्नै सक्रियतामा २२ वटा उप शाखा कार्यालय खोले । काठमाडौं आए पछि तत्कालिन सिइओ विवेक झा तथा मार्केटिङ चिफ चौधरी दुबैले कहिले पनि उनको अनुरोधलाई नाइ भन्ने काम भएन ।
उनि आए पछि नेपाल लाइफको पुरै व्यवसायको ४० प्रतिशत बजार बागमती प्रदेशको थियो । त्यसमा पनि बानेश्वर र बुढानिलकण्ठलाई छुट्टाएर । यस पछि पनि बागमती प्रदेश प्रमुख हुँदा तीन पटक बेस्ट रिजनल म्यानेजरको अवार्ड प्राप्त गर्नुका साथै एक वर्ष वेष्ट परफर्मर अफ दि एयर प्राप्त गरे ।
उनको नेपाल लाइफमा छिरेको दिनदेखिनै एउटा उद्देश्य थियो ‘म कुनै पनि हालतमा मार्केटिङ चिफ हुनु पर्छ’ भन्ने थियो । एक दिन शुशिल कुमार चौधरीको स्थान लिनु पर्छ भन्ने उनको उद्देश्य थियो । उनि २०७७ सालसम्म बागमती प्रदेश प्रमुख भए । त्यस पछि शुशिल कुमार चौधरीको अण्डरमा रहेर डेड वर्ष काम गरे । दुई वर्षदेखि उनि नेशनल सेल्स हेडको रुपमा कार्यरत छन् ।
उनि भन्छन् ‘कसैले पुस गरेर हुँदैन । आफुले अठोट गरेर जुन पेशा गरिन्छ त्यो पेशामा फुल फोकसका साथ गर्नु पर्छ ।’ पोखरेल सोर्स फोर्स लगाएर कम्पनीमा आएका होइनन् । उनि पदमा पनि वार्गेनिङ गरेर आएका थिए भने आजको यस पदमा पनि काम गरेरै आएका हुन् । उनले अहिलेसम्म चार जना प्रमुख कार्यकारी अधिकृत अन्तर्गत काम गरिसके । हालसम्म कुनै पनि सिइओले उनलाई तपाईले यो काम गर्नु भएन भन्न सकेको अवस्था छैन ।
उनले जहिले पनि कम्पनीको मार्केट सेल्स घटाउनु हुँदैन भनेरै काम गर्छन् । अहिले पनि कम्पनीको मार्केट शेयर घटाउनु हुँदैन भनेरै सक्दो मिहिनेत गरिरहेका छन् । यसका लागि १८५ वटा शाखा तथा उपशाखा ७ वटा प्रदेश कार्यालयका प्रमुखहरु सँग सधै समन्वय गरिरहन्छन् । सबै जना उनको क्लोज मोनिटरिङमा रहने गरेका छन् ।
उनले जहाँ काम गरे कुनै पनि काममा दोस्रो भएनन् । शोभा बोर्डिङ स्कुल, समिट बोर्डिङ र नेपाल लाइफको सेल्स हेड हुँदासम्म उनले उत्कृष्ट प्रस्तुती दिइरहेका छन् । उनले आफैले सञ्चालन गरेको समिट बोर्डिङ स्कुल पनि एसएलसीमा सधै उत्कृष्ठ नतिजा ल्याउने स्कुल भित्रै पर्थ्यो । यति मात्रै होइन उनले अध्यापन गराउने विषयमा अन्य विषयको भन्दा औषतमै उत्कृष्ट नतिजा थियो ।
सुरुका दिनमा उनको सोच छोरीलाई स्टाफ नर्स पढाउने र छोरालाई साइन्सबाट एमएसी पढाएर आफ्नै विद्यालय सञ्चालन गर्न लगाउने थियो । जव उनि नेपाल लाइफमा प्रवेश गरे त्यस पछि उनको यस्तो सोच परिवर्तन भयो । उनले नेपाल लाइफबाट हुने आम्दानीलाई घरजग्गा तथा अन्य क्षेत्रमा लगानी गर्न थाले । यस्तो लगानीको प्रतिफल जागरिबाट आउने भन्दा बढि हुन्थ्यो । यस पछि उनले आफुलाई आर्थिक रुपमा पनि अब्बल बनाउदै लगे । जति पैसा कमाइ हुन्थ्यो सबै पैसा उनि स-साना टुक्रा जग्गामा लगानी गरिदिन्थे । यस्तो लगानीबाटै उनले छोरा छोरीलाई डाक्टर पढाए ।
दुबै छोराछोरीले एमबिबिएस उत्तीर्ण गरिसकेका छन् । पोखरेलका बुहारी डा. प्रशान्ती प्रसाइ, ज्वाइ सरोबर उपाध्याय, छोरा डा. मनिस पोखरेल र छोरी मनिसा पोखरेल सबै जना डाक्टर पेशामा छन् । यो सबै उपलब्धी उनकै महिनेतकै फल हो । उनि भन्छन् ‘मिहिनेत गरियो भने सामान्य व्यक्तिले पनि राम्रो सफलता हासिल गर्न सक्छ ।’
नेपाल लाइफबाट नयाँ आएका हरेक पोलिसीको ब्राण्डिङ पोखरेल आफै गर्छन् । कम्पनीका भिडियोहरुमा पनि पोखरेल अग्रस्थानमा छन् । उनले विभिन्न सञ्चार माध्यममा दिएका अन्तर्वाताहरु अहिले पनि अधिकाम्स बीमा अभिकर्ताहरुको लागि मार्गदर्शनका रुपमा रहेका छन् । उनलाई व्यक्तिगत रुपमा धेरैले नचिने पनि उनका अन्तर्वार्ता तथा प्रस्तुतिकरणले सबै परिचित छन् ।
नेपाल लाइफले कुनै पनि ट्रेनिङ तथा मोटिभेसनल कार्यक्रममा पोखरेललाई नै अगाडी सार्ने गरेको छ । कम्पनीले मात्रै होइन अभिकर्ताहरुले पनि उनको उपस्थितिलाई प्रतिक्षा गर्छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत विवेक झादेखि लिउर सबै सिइओले उनलाई हरेक स्थानमा पठाउने गरेका थिए । जुन ठाउँबाट राम्रो व्यवसाय आउदैन थियो त्यस स्थानमा झाले पोखरेललाई नै खटाउथे ।
बुटवलबाट काठमाडौं आए पछि उनले चार वर्षसम्म यति धेरै मिहिनेत गरे देशभरका अभिकर्ता सँग जोडिने मौका पाए । ति चार वर्ष उनलाई कहिल्यै पनि शनिवार आएन । जुनसुकै दिन उनि ट्रेनिङमै विताउथे । यसले गर्दा नेपाल लाइफमा नेपाल अधिराज्य भरका अभिकर्ताले उनलाई नजिकबाट चिन्दछन् । यसक्रममा डोल्पा र मनाङ जिल्ला बाहेक सबै जिल्लामा पुगिसकेका छन् ।
उनलाई अन्य बीमा कम्पनीबाट आकर्षक अफर नआएको होइन । एक पटक उनले कुनै बीमा कम्पनीमा अन्तर्वार्ता पनि दिएका थिए । तर तत्कालिन प्रमुख कार्यकारी अधिकृतले उनलाई रोक्न सफल भए ।
उनले आजका दिनसम्ममा जति पनि सफलता हासिल गरेका छन् ति सबै नेपाल लाइफले नै दिएको हुँदा उनले अव उपरान्त अन्य कम्पनीमा नजाने अठोट बनाएका छन् । उनि जहिलेसम्म जागिर खान्छन् त्यतिवेलासम्म नेपाल लाइफमै बस्ने उनको प्रतिवद्धता छ ।
उनि नियमले पाउने बाहेक कुनै पनि लाभका लागि लालायित छैनन् । उनि सम्पुर्ण अभिकर्ता साथिहरुलाई बीमा व्यवसाय एकदमै राम्रो पेशा व्यवसाय रहेको बताउछन् । यदि यस पेसामा डटेर लाग्ने हो भने फजुल खर्चमा जाने पैसालाई बीमाको मार्फत बचत गराउन सकिन्छ । व्यक्तिको जीवनमा आइपर्ने जोखिम व्यवस्थापन तथा बहन गर्ने काममा सहयोग गर्न सकिन्छ ।
उनि भन्छन् ‘थोरै रकम बीमा शुल्क लिएर धेरै बीमाङ्कको जोखिम बहन गराउने काममा संलग्न हुनुहुन्छ । साथ साथै थोरै बचतबाट धेरै प्रतिफल पाउने काम पनि हो । बीमा अभिकर्ता बीमाको आर्थिक अभियन्ता पनि हुन् । यो स्वरोजगार बन्ने व्यवसाय पनि हो ।’
आफुलाई कमिशन आउछ भन्दैमा बीमितलाई ठुलो ठुलो बीमाङ्कको बीमा गराउन नहुने उनको सुझाव छ । यदि यस्तो बीमा गराइयो र पोलिसीले निरन्तरता पाउन सकेन भने बीमितलाई उल्टै नोक्सानी हुने भएकाले यस्तो काम नगर्न उनि सम्पुर्ण अभिकर्ताहरुलाई अनुरोध गर्छन् । उनले थपे ‘आफुलाई कमिशन कम आउछ भनेर बीमितलाई फाइदा हुने पोलिसीबाट बञ्चित गराउनु हुँदैन ।’
उनले नेपाल लाइफमा आएर धेरै कुरा पाए र खासै ठुलो कुरा गुमाएका छैनन् । उनले यस अवधिमा आफ्नो शैक्षिक जीवन भने गुमाए । उनले अंग्रेजी विषय पढाउथे । कुनै समयमा उनि घण्टौसम्म अग्रेजीमा कुराकानी गर्ने तथा प्रवचन दिन सक्थे । तर अहिले यस्तो बानी हराइसक्यो । उनि आफ्नो रिटार्यड लाइफमा पुनः शैक्षिक क्षेत्रमै फर्किने छन् । उनको अझै पनि आफुले महिनेत गरेर स्थापित गरेको शैक्षिक संस्थामा थोरै भए पनि इट्टा थप्ने सोच छ ।
नियम अनुसार उनि नेपाल लाइफमा अझै २७ महिना काम गर्न पाउछन् । त्यस पछि पनि कम्पनीले अझै काम गर्नु पर्छ भनेमा उनि कम्पनीले राखुन्जेल बस्ने सोचमा छन् । उनले भने ‘यदि सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले अझै बस्नु अनुरोध गर्नु भयो भने म बस्न तयार छु ।’ उनले थपे ‘जुन दिन सक्सेर तयार भएर अगाडी आउनु हुन्छ म ह्याण्ड ओभर गर्न तयार भएर बसेको छु ।’ उनि आफ्नो कार्यकाल पछि सेल्स सम्हाल्ने सकेसर राम्रो आओस भन्ने चाहन्छन् । साथै कम्पनी सधै अगाडी बढेको देख्न चाहन्छन् । आफु रहदासम्म भएको पोजिसन कायम रहदै अझ माथि पुगेको हेर्न चाहन्छन् ।
प्रतिक्रिया