Nepal Life

ग्लोबल मनी विक : जीवन बीमा किन गर्ने ?

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Mar Sun 12:08
ग्लोबल मनी विक : जीवन बीमा किन गर्ने ?
Sanima Reliance

काठमाडौं । जीवन बीमासम्बन्धी जानकारी नभएकै कारण अधिकांश मानिसले जीवन बीमा गरेका छैनन् । जबसम्म हरेक नागरिकलाई जीवन बीमाको महत्वबारे जानकारी हुँदैन, तबसम्म अधिकांश नागरिक जीवन बीमाबाट वञ्चित हुन्छन् । अर्थात्, उनीहरूले जीवन बीमा गर्दैनन् । त्यसैले, जीवन बीमा किन गर्ने ? कसरी गर्ने ? यसका प्रक्रियालगायत फाइदाका पक्षमा जनचेतना फैलाउनु आजको आवश्यकता हो ।

NIMB

जीवन बीमाको महत्व बुझ्न यस व्यवसायका सम्बन्धमा पनि जान्नु जरूरी हुन्छ । ‘बीमा ऐन २०७९’ अनुसार ‘जीवन बीमा भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करार सम्झनु पर्छ ।’

नेपालमा जीवन बीमा अभिकर्ताको सङ्ख्या वर्षेनि बढिरहेको छ । बीमासम्बन्धी जनचेतना फैलाउने बलियो माध्यम भनेकै बीमा अभिकर्ता हुन् । अहिले नेपालमा १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । सबै जिल्लामा जीवन बीमा कम्पनीका कार्यालय स्थापना भएका छन् । हरेक कम्पनीमा हजारौको सङ्ख्यामा बीमा अभिकर्ता रहेका छन् । तिनीहरूको सङ्गठित प्रयासले जीवन बीमाबारे चेतना जगाउन निकै सहयोग पुगिरहेको पनि छ । जीवन बीमाका महत्व धेरै छन्, तीमध्ये केही तल दिएको छ ।

सर्वोत्तम बचत : जीवन बीमालाई सर्वोत्तम बचतका रूपमा लिन सकिन्छ । तर, यसप्रकारको बचत जुनसुकै समयमा झिक्न सकिँदैन । बैङ्क तथा वित्तीय संस्थामा रकम राख्दा जुनसुकै समयमा रकम झिक्न सकिने भएकाले अनावश्यक खर्च हुने सम्भावना पनि हुन्छ । तर, जीवन बीमाबापत सङ्कलन गरेको बचत तुरून्तै निकाल्न नसकिने भएकाले यसलाई सर्वोत्तम बचत भनिएको हो । बीमामा निर्धारित समयमा बीमा कम्पनीलाई बीमाशुल्क तिर्नुपर्ने हुन्छ । तोकिएको समयमा बीमाशुल्क नतिरेमा जरीवानासमेत तिर्नुपर्ने हुन्छ । त्यसैले, निर्धारित समयमै बीमाशुल्क भुक्तानीमार्फत अनावश्यक खर्च कटौती गरी बीमाशुल्कका रूपमा बचत गरिन्छ ।

सर्वोत्तम बचतलाई अनिवार्य वा बाध्यात्मक बचत पनि भन्न सकिन्छ । जीवन बीमामा बीमितले पटकपटक गरेर थोरै–थोरै रकम तिर्दै गए पनि बीमा परिपक्वता हुँदा धेरै रकम सङ्कलन हुन्छ । साथै, बीमा अवधि नसकिँदै बीमितको मृत्यु भएमा सोही समयमा भविष्यमा तिर्नुपर्ने रकम वा बीमाङ्क तथा सो अवधिसम्मको बोनससमेत निजको हकवालाले प्राप्त गर्छ ।

आर्थिक सुरक्षा :

जीवन बीमाको चर्चा हुनेबित्तिकै आर्थिक सुरक्षाको पनि कुरा आउँछ । बीमा नै यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको कवचका रूपमा काम गरेको हुन्छ । बीमामा बीमितको धेरै ठूलो रकमको जोखिम वहन भएको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमाङ्क तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।

करछूट :

आयकर ऐनअनुसार बीमा गरेमा ४० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।

ऋण सुविधा :

बीमा गर्दा ३ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नुपर्दैन ।

परनिर्भरता उन्मूलन :

जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।

मानसिक शान्ति :

मानिसलाई आफ्नो जीवनमा हुन सक्ने अनिश्चितताले सताइरहेको हुन्छ । आफ्नो मृत्युपछि घरव्यवहार सञ्चालन, सन्तानको शिक्षा, बुढेसकालको सहारालगायत विविध कारणले गर्दा मानिसहरू त्रसित भएका हुन्छन् । जीवन बीमाले यस्ता समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले मानसिक शान्ति प्रदान गर्छ ।

अभिकर्ताहरूले सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाउनुपर्ने देखिन्छ । नेपालको कुल जनसङ्ख्याको करीब ८० प्रतिशत भन्दा धेरै जनता ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका छन् । तर, अझै पनि अधिकांश बीमा कम्पनीका अभिकर्ताहरू शहरमुखी छन् । आगामी दिनमा ग्रामीण क्षेत्रमा पनि बीमासम्बन्धी जनचेतना फैलाउनुपर्ने देखिन्छ । यस्तो हुन सकेमा जीवन बीमाप्रतिको विश्वास अभिवृद्धि भई जीवन बीमा गर्नेको सङ्ख्या बढ्नेछ । अर्को तर्फ लाखौको संख्यामा नेपालीहरु विदेशी भुमिमा छन् । उनिहरुलाई बीमाको दायरामा ल्याउनु पर्ने आजको प्रमुख चुनौती हो । यस तर्फ पनि नियामक निकाय बीमा प्राधिकरण तथा बीमा कम्पनीहरु सक्रिय रहनुपर्नेछ ।  

महाभारतमा यक्षले युधिष्ठिरसँग केही प्रश्न गरेका थिए । यसमध्ये एउटा प्रश्न थियो – ‘संसारमा शाश्वत चिज के हो ? उत्तर थियो – मृत्यु ।’ वास्तवमा मृत्यु नै शाश्वत हो । त्यसैले, प्रत्येक व्यक्तिले जीवन बीमाको महत्व बुझ्र बीमा गर्नुपर्छ । अहिले प्रत्येक गाउँमा बीमा अभिकर्ता रहेका छन् । प्रत्येक नगरपालिकामा बीमा कम्पनीका कार्यालय छन् । हरेक नागरिकले यसको फाइदा उठाउँदै बीमा गर्नुपर्छ । जीवन बीमाले गरीब वा धनी हेर्दैन । यसले तिनीहरूको आवश्यकता हेर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया