Nepal Life

यि हुन् अहिले शेयर बजार बढ्न नसक्नुको प्रमुख कारण, यस्तो छ लगानीकर्ताको प्रतिक्रिया

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 18:59
यि हुन् अहिले शेयर बजार बढ्न नसक्नुको प्रमुख कारण, यस्तो छ लगानीकर्ताको प्रतिक्रिया
Sanima Reliance

काठमाडौं । सरकारको समिकरणमा परिवर्तन भए सँगै लगानीकर्ताले शेयर बजारमा राम्रै सुधार हुने अपेक्षा गरेका थिए । अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधार होस् भनेर माहोल बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीलाई लगानीकर्ताको सुझाव सहित बजार सुधारका लागि सुझाव आह्वानको लागि पत्र पठाए ।

NIMB

उनको यो कदमले शेयर बजार २१११ अंकसम्म पुग्यो । तर उनको यो चालबाजीले खासै काम गरेन । बजार सुधार हुनका लागि अर्थमन्त्री एउटा सानो कारण मात्रै हो । यो भन्दा बाहेक अन्य धेरै कारण हुन्छन् जसले बजारलाई बढाउन वा घटाउन भुमिका खेलेको हुन्छ ।

शेयर बजार माग र आपुर्तीको श्रृङखला हो । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपिओ निष्काशन गर्न दिए सँगै लगानीकर्ताको ठुलो पैसा कम्पनीहरुले तानेका छन् । यसरी अनियन्त्रित रुपमा आइपिओ र हकप्रदको बाढी आउदा बजारको पैसा पलायन भएको केशव कोइराला बताउछन् ।

शेयर बजारका विज्ञ अम्बिका प्रसाद पौडेले सामाजिक सञ्जाल मार्फत अहिले शेयर बजार बढ्न नसक्नुको प्रमुख कारण के होला भन्दै गरेको प्रश्नमा अधिकाम्स लगानीकर्ताले प्राथमिक बजारलाई आरोप लगाएका छन् ।

लगानीकर्ता जितेन्द्र अनुराग वलीका अनुसार शेयरबजार नबढ्नुको प्रमुख कारण नीतिगत समस्या न‌ै हो । उनले भने ‘शेयर धितोकर्जामा लगाइएको १५/२० करोडको क्याप हट्यो र रिक्स वेटेज १०० रुपैयाँमा झर्यो भने पैसा कहाँबाट आउँछ भन्ने थाहा नै हुँदैन । अरु बाँकी त गौण कुरा मात्र हुन् । मुख्य कुरा लगानिकर्ताको बजारप्रति विश्वास बढ्न नसक्नु पनि हो ।’

लगानीकर्ता तथा बजार विश्लेषक ज्योति दाहाल पनि सामाजिक सञ्जाल मार्फत पूँजीको भार सबैभन्दा ठूलो र मुख्य कारण भएको बताउछन् । उनि भन्छन् ‘यो भारले थिचेसम्म्म केही हुनेवाला छैन । परिमाणात्मक आम्दानी बढे पनि गुणात्मक वृद्धि देखिन्न । पूँजीको भारले थिचिरहन्छ । कुकुर भुक्न पनि आड चाहिन्छ भाउ बढ्न पनि केही आड त चाहिएला त्यो आड भनेको गुणात्मक आम्दानी हो जुन देखिनेवाला छैन । ’

लगानीकर्ता बिष्णु सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई संकेत गर्दै शेयरधितो कर्जाको क्याप, लगानी कर्ताको उठ्न नसकेको मनोबल भनेका छन् । सुदिप राज सुवेदीले दोस्रो बजारको सप्लाइ र सूचिकृत कम्पनीको घट्दो मुनाफालाई कारण मानेका छन् । हिम चापागाईले पनि बजारमा पैसा नआउनु र अस्थिर राजनीतिलाई देखाएका छन् ।

लगानीकर्ता दिपक पुडासैनीले माओवादी सरकारकै कारण बजार बढ्न नसकेको भन्दै अनलाइन कारोबारलाई पनि बजार बढ्न नसक्नुको कारण मानेका छन् ।

सुदिप थापाले यसलाई सुपर साईकलको संज्ञा दिएका छन् । जबसम्म बजार प्राकृतिक हुँदैन तवसम्म लय लिन गाह्रो पर्ने उनको विश्लेषण छ । ठुला खेलाडीहरुले आफुले शेयर बिक्री गरे पछि बजार अझै घटाउन सामाजिक सञ्जालको दुरुपयोग गरेर नकारात्मक कुरा गर्ने गरेको लगानीकर्ता डम्बर ढुङ्लको आरोप छ ।

मार्जिक कर्जाको व्यवस्था कार्यान्वयन नहुनु र कर्जा दिएर कारोबार गर्नु भन्दा उधारोमै खेल्न रमाउने लगानीकर्ताकै कारण बजार बढ्न नसकेको कृष्ण जंग थापा बताउछन् । लगानीकर्ता नवराज घिमिरेका अनुसार कम्पनीहरु नै कमजोर हुँदा नाफा कमाउन सकिरहेका छैनन् । साथै बजार तल्लो विन्दुमा आउदा पनि कसिलो मौद्रिक नीति अपेक्षा अनुसार खुकुलो नहुँदा बजार सुधार हुन नसकेको उनको विश्लेषण ।

२०० रुपैयाँ नेटवर्थ भएका बैंकहरुले नै एक रुपैयाँ पनि प्रतिफल दिन नसक्नु र बैंकका संस्थापकहरु नै प्रति कित्ता एक सय रुपैयाँमै बिक्री गरेर बाहिरिने क्रमले पनि बजारमा दवाव परेको लगानीकर्ता नरेश कार्की बताउछन् ।

नरेन्द्र चुडालीका अनुसार लगानीकर्तामा धर्यताको कमी छ । मनोविज्ञान कमजोर हुनु, बजारमा केहि हुदैन भन्ने "मास एन्जाईटि"ले काम गर्नु, राज्य प्रति भरोसायोग्य वातावरण बन्न नसक्नुले पनि बजार सुधार हुन नसकेको उनको भनाइ छ ।

बजार विश्लेषक विष्णु प्रसाद वस्यालका अनुसार समग्र अर्थतन्त्रमा घट्दो माग र सूचीकृत कम्पनीहरुको खुम्चिँदै गरेको कमाईले बजार बढ्न सकेको छैन । प्रितम रेग्मी भन्छन् ‘एउटा मात्रै कारण सरकार प्रति जनविश्वास नहुनु हो । सरकार जनताको अभिभावक हो भनेर मान्न नसक्नु र सरकारी निकायले लगानी कर्ता र ब्यावसायीलाई साथ सहयोग को साटो अनावश्यक दु:ख दिनु ।’

दोस्रो बजारमा राम्रो प्रतिफल दिने कम्पनी नहुँदा लगानीकर्तालाई आकर्षित गर्ने अवस्था नभएको मुकुन्द प्रसाद दाहाल बताउछन् । त्यस्तै सरकारले स्थिर नीतिगत व्यवस्था गरेर लगानी कर्ताको मन जित्न नसक्दा बजार बढ्न नसकेको दाहाल बताउछन् । नजिकिएको तेस्रो त्रैमाशिक अवधिको व्याज र किस्ताको दवाव बजारमा देखिएको राम प्रसाद पाण्डेको विश्लेषण छ ।

प्रकाश खनालका अनुसार अधिकांश शेयर लगानीकर्ताहरुले एभरेजिङ गर्दा गर्दै थला परिसके । ऋण लिएर लगानी गर्ने मनस्थितिमा छैनन् । त्यसैले नयाँ शेयर लगानीकर्ताहरु प्रवेश नगरी बजार नबढ्ने उनको भनाइ छ । यसले गर्दा  शेयर बजारका खेलाडीहरुले १८०० देखी २२०० बिचमा खेलिरहने देखिएको उनको विश्लेषण छ ।

दुई,चार दिन लगाएर बढेको शेयर बजार एकै दिन घट्ने क्रम जारी छ । लगानीकर्ताहरुले मात्र बजारलाई धान्न नसक्ने कुरालाई हृदयंगम गर्दै नेपाल सरकारले नेपाल धितोपत्र बोर्ड मार्फत पूँजी बजारको दिगो वृद्धि र सुधारका लागि एनआरएनहरुका लागि खुल्ला गर्न अब ढिलो गर्न नहुने लगानीकर्ताको सुझाव छ । आइपिओ निष्काशन गरेका कम्पनीहरुको लकइन पिरियड खुल्दै जादा शेयर सप्लाइ पनि बढिरहेको छ । यसले गर्दा बजार घटिरहेको विनोद ज्ञवाली बताउछन् ।

शेयर बजारमा मर्जरको प्रभाव देखिएको छ । मर्जर पछि कम्पनीको पूँजी बढेको छ । यसले गर्दा दोस्रो बजारमा शेयर सप्लाइ पनि बढेको छ । बजार सुधार हुनुका लागि अर्थतन्त्रमा सुधार हुनुका साथै कम्पनीको मुनाफा पनि बढ्नु पर्छ । भुपेन्द्र भट्टका अनुसार धेरै मुनाफा आर्जन गर्ने तथा आकर्षक लाभांश दिने कम्पनीहरुको संख्या धेरै हुने हो भने पनि दोस्रो बजारमा सुधार आउछ ।

बजार  विश्लेषक सुवास चन्द्र ढुङ्गानाका अनुसार यो समय बजारको बारेमा सिक्ने र बुझ्ने बेला हो । त्यसैले यस अवधिमा धेरै भन्दा धेरै बुझ्ने र सिक्ने काम गर्नु पर्ने उनको भनाइ छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया