Nepal Life

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुन बैंकको वित्तीय अवस्था कस्तो?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Fri 08:17
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुन बैंकको वित्तीय अवस्था कस्तो?
Sanima Reliance

काठमाडौं । बैंकहरुले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। केहीले मुनाफामा वृद्धि गरेका छन् भने कसैको अवस्था खस्किएको छ।

NIMB

एनआइसी एसिया बैंक लिमिटेडको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट आएको छ । बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.९५ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ छ भने कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको  तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ  खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुपैयाँको तुलनामा २६.३१ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड करोड रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ११ करोड करोड रुपैयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैतसम्म १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १२ प्रतिशतले बढेको हो । चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ८ अर्ब ४३ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ६ अर्ब ४९ करोड २९ लाख रुपैयाँ थियो । साथै, कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड २२ लाख रुपियाँ गरेको बैंकको सञ्चालन नाफा भने ३ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

कृषि विकास बैंक लिमिटेडको खुद नाफामा भारी वृद्धि भएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ५ करोड बढी खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९७.२२ प्रतिशतले बढी हो। अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने बैंकको खुद नाफा १ अर्ब ४ करोड रुपैयाँमा सीमित थियो। बैंकको खुद ब्याज आम्दानी पनि १५.३१ प्रतिशतले बढ्दै ७ अर्ब २० करोड रुपेयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रहेको छ ।

कुमारी बैंकको सञ्चालन नाफा बढेको छ भने  खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालन मुनाफा २१.६० प्रतिशतले बढेको छ। चालू आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत आवमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।  बैंकको खुद नाफा भने समीक्षा अवधिमा घटेको छ । गत आवको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपियाँ खुद नाफा कमाएको  बैंकले चालू आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड मात्र नाफा कमाएको छ ।

लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १०३ प्रतिशत बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १०१ प्रतिशत बढेर १० अर्ब ४१ करोड रुपैयाँ र सञ्चालन नाफा ११.७८ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको नाफा गत आवको तुलनामा ८.७६ प्रतिशतले कम हो । तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन नाफा भने १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, एनपिएल (खराब कर्जा) १.९८ प्रतिशत विन्दुबाट घटेर १.२७ प्रतिशत कायम भएको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपियाँ सञ्चित छ।

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९८ पैसा रहेको छ।

एभरेष्ट बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा बढेको छ । बैंकले यो अवधिमा २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ थियो । गत आवको ९ महिना अर्थात चैत मसान्तसम्म ३ अर्ब ५२ करोड २९ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा बढेर समीक्षा अवधिमा ३ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया