शेयर बजारमा प्रवेश गर्नु अगाडी लगानीकर्ताले जान्नै पर्ने ३० वटा आधारभुत जानकारी
- गोविन्द राज जोशी
- 2024 May Wed 15:02
काठमाडौं । शेयर बजार एकदमै प्राविधिक विषय हो । त्यसैले हरेक लगानीकर्ताले बजारमा प्रवेश गर्नु अगाडी यसका न्युनतम सैद्धान्तिक तथा प्राविधिक कुराहरुको ज्ञान लिनु पर्छ ।
पछिल्लो समय शेयर बजारमा भित्रिएका युवा पुस्ताले प्राविधिक विश्लेषणलाई पनि लगानीको प्रमुख आधार बनाउन थालेका छन् ।सेयरबजारमा कतिबेला लगानी गर्ने र कतिबेला बिक्री गर्ने भन्ने निर्णय लिनु हरेक लगानीकर्ताका निम्ति मुख्य चुनौतिको विषय हो ।
नेपालमा औपचारिक रुपमा सेयर कारोबारको सुरुवात वि.सं. १९९४ मा पहिलो पटक विराटनगर जुट मिल र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गरेपछि भएको पाइन्छ । तर सेयर बजार विकासको मोडालिटी भने २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापानापछि भएको हो ।
२०४० सालमा धितोपत्र खरिद ऐन जारी गरेको सरकारले सो ऐनलाई समयानुकुल परिमार्जित गर्दै २०४९ मा संशोधन गर्यो । सोही संशोधनका आधारमा २०५० साल जेठ २५ गते नेपाल धितोपत्र बोर्ड र सोही वर्ष पुस २९ गते नेपाल स्टक एक्सचेन्जको स्थापना गर्दै पुँजी बजारलाई विकास र विस्तारको प्रयास गर्यो । ओपन क्राई सिस्टमदेखि अर्धस्वचालित प्रणाली पार गर्दै नेप्से आजको अनलाइन कारोबारको अवस्थामा आइपुगेको छ ।
हाम्रो बजारमा अझै पनि सेयर साक्षारताको कमी छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउन चाहने लगानीकर्ता पनि हच्किनु पर्ने स्थिति छ । नेपालमा अझै पनि व्यवसायिक सेयर परामर्शदाताहरु छैनन् । केहि संस्थागत लगानीकर्ताहरुले आफ्नो सेवाहरुमा यस्तो सुविधाहरुको उल्लेख गरे पनि आम सर्वसाधारणले विश्वास गर्न सकेको अवस्था छैन ।
आजको दिनमा डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ६२ हजार छन् । आइपिओमा आवेदन दिनेको संख्या भने ३० लाख पनि नाघ्न सकेको छैन । पछिल्ला दिनमा आइपिओ निष्काशन गर्दा आवेदन दिनेको अधिकतम संख्या १५ लाख भन्दा मुनि नै छ । अर्को तर्फ दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या १० लाख पनि छैन । नियमित रुपमा टिएमएस सञ्चालन गर्ने र कारोबार गर्नेको संख्या एकदमै कम छ ।
यसरी प्राथमिक बजारबाट शेयर बजारमा प्रवेश गरेका लाखौ लगानीकर्ताहरु डराएर तथा शेयर बजारको सामान्य ज्ञान नभएकै कारण दोस्रो बजारमा आउन सकेका छैनन् । त्यसैले शेयर बजारमा प्रवेश गर्नु अगाडी जो सुकै लगानीकर्ताले निम्न विषयवस्तुमा सामान्य जानकारी राख्नै पर्ने हुन्छः
(१) ब्रोकर (सेयर दलाल) धितोपत्र बजारमा सेयर खरिद कर्ता र बिक्री कर्तासँग प्रत्यक्ष सम्बन्ध राख्ने पहिलो निकाय शेयर ब्रोकर हुन् । धितोपत्र बोर्डबाट लाइसेन्स लिएर नेपाल स्टक एक्सचेन्जले कारोबार गर्न अनुमति दिएका ब्रोकरको संख्या आजको दिनमा ९६ वटा छन् । यसका साथै दुई वटा स्टक डिलर छन् । लगानीकर्ताले दोस्रो बजारमा प्रवेश गर्नु भन्दा पहिला यि नै ब्रोकर कार्यालयमा गएर खाता खोल्नु पर्ने हुन्छ ।
(२) टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम ) लगानीकर्ताले दोस्रो बजारमा शेयर कारोबार गर्नका लागि ब्रोकर कार्यालयबाट टिएमएस लिनु पर्छ । यो ब्रोकर कम्पनीमा खाता खोल्ने क्रममै प्राप्त गर्न सकिन्छ । जसको सहायताबाट लगानीकर्ताले आफैले अनलाइनबाट शेयर खरिद बिक्री गर्न सक्छन् । जसलाई हामी अनलाइन कारोबार पनि भन्ने गर्छौ । यस्तो खाता खोल्दा ब्रोकरले कुनै पनि शुल्क लिदैनन् । यस्तो खाता खोल्नका लागि लगानीकर्ताले आफ्नो नागरिकता, डिम्याट खाता, बैंक खाता उपलब्ध गराउनु पर्छ ।
(३) डिम्याट खाता सेयर कारोबार गर्नका लागि ट्रडिङ एकाउन्टका साथै डिम्याट एकाउन्ट पनि अनिवार्य छ । पैसा राख्नका लागि बैङ्क खाता भएजस्तो डिम्याट खाता सेयर जम्मा गर्नका लागि हो । कागजी रुपमा रहेका सेयर प्रमाणपत्रहरुलाई डिम्याट खातामा अभौतीकरण गरेर राखिन्छ । कागजी सेयर प्रमाणपत्रहरुलाई डिम्याट नगरी कारोबार गर्न पाइँदैन । डिम्याट एकाउन्ट ब्रोकर, बैङ्क, मर्चेन्ट बैंकमा गएर खोल्न सकिन्छ । यो आइपिओ खरिद गर्नका साथै दोस्रो बजारमा शेयर किनबेच गर्नका लागि पनि अनिवार्य छ । यसलाई शेयर बजारको पहिलो खाता पनि भनिन्छ ।
(४) म्युचुअल फन्ड सर्वसाधारणको पुँजीलाई केही निश्चित शुल्क लिएर धितोपत्र बजारमा सुरक्षित लगानी गरिदिने संस्थाहरुलाई म्युचुअल फन्ड अर्थात् सामूहिक लगानी कोष भनिन्छ । सेयरसम्बन्धी ज्ञानको अभाव भएका विशुद्ध नयाँ लगानीकर्ताहरुले सुरुमा यस्ता फन्डहरुमार्फत लगानी गर्नु उपयुक्त हुन्छ । यस्ता संस्थाहरुले कम्पनीहरुको प्राविधिक तथा बजार विश्लेषण गरेर सर्वसाधारणको पैसा सेयरमा लगानी गरिदिन्छन् र आवश्यक परामर्श प्रदान गर्नुको साथै पोर्टफोलियो म्यानेजमेन्ट पनि गरिदिन्छन् । लगानी व्यवस्थापनमा यस्ता फन्डहरु निकै दक्ष मानिन्छन् । यसबाट नयाँ लगानीकर्ताहरुको लगानी बढी सुरक्षित हुन्छ । नेपालमा मर्चेन्ट बैंकहरुले म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेका छन् ।
(५) मर्चेन्ट बैङ्क धितोपत्र बजारमा साधारण सेयर निष्काशन, आवेदन सङ्कलन, सेयर बाँडफाँट तथा पैसा फिर्ता गर्ने जिम्मेवारी पाएका संस्थाहरुलाई मर्चेन्ड बैङ्क भनिन्छ । यस्ता कम्पनीहरुले हकप्रद तथा बोनस सेयर वितरणसम्बन्धी कार्यहरु पनि गर्दछन् । नेपालमा अधिकाम्स बैंकहरुको सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकहरु सञ्चालन हुँदै आइरहेका छन् ।
(६) मार्केट मेकर नेपाल सरकारको मान्यता प्राप्त गरी धितोपत्र बजारमा ठूलो मात्रामा सेयर कारोबार गरी बजारको विकास र विस्तारमा सहयोग पुर्याउने कम्पनीहरुलाई मार्केट मेकर भनिन्छ । यहि अवधारणा अनुरुप नेपाल धितोपत्र बोर्डले हालसम्म दुई वटा कम्पनीलाई स्टक डिलरको लाइसेन्स दिएको छ । तर यिनहरुको प्रभावकारी भुमिका भने खासै देख्न पाइएको छैन ।
(७) सेयर रजिस्टार कम्पनीहरुको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राखिदिने, दाखिला खारेज, नामसारी, लगत अध्यावधिक लगायतका सेयरसम्बन्धी काम गर्ने संस्थाहरुलाई सेयर रजिस्टार भनिन्छ । एनआइएमी एस क्यापिटल, एनएमबी क्यापिटल, ग्लोबल आइएमई क्यापिटल लगायतले यस्तो काम गर्दै आइरहेका छन् ।
(८) प्रिमियममा आइपिओ, कम्पनीहरुले अंकित मूल्यमा थप प्रिमियम जोडेर आइपिओ निष्काशन गर्न पाउने कानुनी व्यवस्था छ । यसरी अंकित मूल्य भन्दा माथिको रकम शेयर पूँजीमा जोडिदैन । यस्तो रकम कम्पनीको जगेडा कोषमा जम्मा भएर बस्छ । राम्रो गुडविल बनाएका तथा प्रतिशेयर नेटवर्थ राम्रो भएका कम्पनीहरुलाई दोस्रो बजारमा ल्याउनका लागि प्रिमियममा शेयर जारी गर्न पाउने कानुनी व्यवस्था गरिएको हुन्छ । लगानीकर्ताले यस्ता शेयर खरिद गर्नु भन्दा अगाडी सम्बन्धित कम्पनीको सम्पुर्ण जानकारी लिएर मात्रै खरिद गर्नु पर्छ ।
(९) प्रतिसेयर आम्दानी सेयरमा लगानी गर्दा कम्पनीको विश्लेषण गर्ने प्रमुख आधार प्रतिसेयर आम्दानी हो । कम्पनीहरुले कमाएको कुल नाफलाई उक्त कम्पनीको कुल सेयरले भाग गर्दा प्रतिसेयर आम्दानी निस्किन्छ । प्रतिसेयर आम्दानी बढी छ भने सो कम्पनीको सेयर मूल्य राम्रो हुन्छ ।
(१०) नेटवर्थ चुक्ता पुँजीमा कम्पनीको जगेडाकोष जोड्दा नेटवर्थ आउँछ । नेटवर्थ राम्रो छ भने कम्पनीको अवस्था राम्रो छ भन्ने बुझ्नुपर्छ । नेटवर्थ धनात्मक वा क्रृणात्मक दुवै हुन सक्छ । यो महत्वपूर्ण वित्तीय सूचक हो । नेटवर्थ खराब रहेका सेयरमा बैङ्कले शेयर धितोकर्जा प्रदान गर्दैनन् ।
(११) भित्री कारोबार धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको सूचना जुन सार्वजनिक नै नभई गोप्य रुपमा प्राप्त गरी कम्पनीसँग सम्बन्धित व्यक्ति तथा तिनका नातेदारहरुले पहिले नै कारोबार गरे भने त्यो भित्री कारोबार हो । जस्तैः कुनै कम्पनीले ५० प्रतिशत बोनस दिने निर्णय बाहिर सार्वजनिक हुनु अगावै कम्पनीभित्रकै व्याक्तिले थाहा पाई सेयर कारोबार गरी गलत फाइदा उठाए भने त्यो गैरकानुनी हुन्छ । विश्वभरीको धितोपत्र बजारमा इन्साइडर ट्रेडिङलाई गम्भीर अपराधको रुपमा लिइन्छ । नेपालमा पनि यो गैरकानुनी छ ।
(१२) मार्जिन ल्यान्डिङ कम्पनीले जारी गरेका सेयरमा लगानी गर्नका लागि बैङ्कहरुले प्रदान गर्ने ऋणलाई मार्जिन ल्यान्डिङ भनिन्छ ।
(१३) सर्किट ब्रेकर धितोपत्र कारोबारको समयमा बजार अत्यधिक बढ्न वा घढ्न गएमा सोको नियन्त्रणका लागि उतावचढावको प्रतिशत अनुसार प्याकेजमा बजार बन्द गरिन्छ । त्यसलाई सर्किट ब्रेकर भनिन्छ । कम्पनीको हकमा कारोबार अवधिमा १० प्रतिशतभन्दा तल र १० प्रतिशत भन्दा माथि गएर खरिद बिक्री गर्न पाइदैन । तर कारोबार रोक्का भने हुँदैन । त्यस्तै समग्र शेयर बजारको हकमा कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ ।
(१४) प्रोक्सी कम्पनीको वार्षिक साधारण सभामा यदि कुनै सेयरधनी उपस्थित हुन सकेन भने उसले तोकिएको ढाँचा बमोजिम विवरण भरेर अन्य कुनै व्यक्तिलाई मतदान गर्ने अधिकार दिएमा सो व्याक्तिलाई प्रोक्सी (प्रतिनिधि) भनिन्छ ।
(१५) मार्केट डेफ्ट कारोबार समयमा कुनै कम्पनीको माग आपूर्ति र मूल्यको विवरण हेर्न पाउने प्रणली नै मार्केट डेफ्ट हो । यो व्यावस्था पहिले ब्रोकरका लागि मात्र रहे पनि पछिल्लो समयमा सर्वसाधारण लगानीकर्ताले पनि हेर्न पाउँछन् । यो नेप्सेको वेबसाइडमा हेर्न सकिन्छ । सोही आधारमा लगानीकर्ताले सेयर खरिद बिक्रिको तत्कालिन जानकारी प्राप्त गर्न सक्छन् ।
(१६) पुँजीगत लाभकर सेयर बेच्दा भएको फाइदाबाट नेपाल सरकारलाई तिर्नुपर्ने करलाई पुँजीगत लाभकर अर्थात् क्यापिटल गेन ट्याक्स भनिन्छ । यो सेयर बेच्दा भएको फाइदामा मात्र लाग्छ । सरकारले दीर्घकालिन लगानीकर्ताका लागि ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताका लागि ७.५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।
(१७) वियरिष्ट ट्रेण्ड बजारको घट्ने प्रबृतीलाई वियरिष्ट ट्रेण्ड भनिन्छ ।
(१८) बुलिस्ट ट्रेन्ड बजारको बढ्दो प्रवृत्तिलाई बुलिस्ट ट्रेन्ड भनिन्छ । नेपालको पुँजी बजार इतिहासमा ३१९९ सबैभन्दा उच्चतम बुल हो ।
(१९) ब्रोकर कमिसन सेयर कारोबार गर्दा ब्रोकरलाई धितोपत्र बोर्डले तोकेअनुरुपको शुल्क बुझाउनुपर्छ । त्यसलाई ब्रोकर कमिसन भनिन्छ । सार्क राष्ट्रमा नै सबैभन्दा धेरै रहेको नेपालको ब्रोकर कमिसन पछिल्लो समय भएको चौतर्फी विरोधपछि सरकारले धितोपत्र बोर्डलाई घटाउन निर्देशन दिएको छ । हाल संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्क वापत लिन पाउने सेवा शुल्क:
(क) रु. ५०,०००।– सम्मको कारोवारमा– ०.४० प्रतिशत
(ख) रु. ५०,०००।– भन्दा माथि रु. ५,००,०००।– सम्मको कारोवारमा– ०.३७ प्रतिशत
(ग) रु. ५,००,०००।– भन्दा माथि रु. २०,००,०००।– सम्मको कारोवारमा – ०.३४ प्रतिशत
(घ) रु. २०,००,०००।– भन्दा माथि रु. १,००,००,०००।– सम्मको कारोवारमा– ०.३० प्रतिशत
(ङ) रु. १,००,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा– ०.२७ प्रतिशत
(२०) ब्लु चिप सेयर व्यवस्थापन पक्ष राम्रो भएका, संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिने क्षमता राख्दछन् । यस्ता कम्पनीको बजार मूल्य पनि बढी हुन्छ ।
(२१) बजार पुँजीकरण नेप्सेमा सूचीकृत कम्पनीहरुका सेयर सङख्यालाई कारोबार भएको दिनको सम्बन्धित कम्पनीको बजार मूल्यले गुणान गर्दा बजार पुँजीकरण आउँछ । हाल बजार पूँजीकरण ३१ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ ।
(२२) स्टक डिभिडेन्ड कम्पनीले सर्वसाधारण सेयर होल्डरलाई सेयरको रुपमा दिने लाभांशलाई स्टक डिभिडेन्ट अर्थात् बोनस सेयर भनिन्छ । कम्पनीले प्रतिफलका रुपमा निश्चित प्रतिशत बोनस सेयर दिन्छ ।
(२३) क्यास डिभिडेन्ड सूचीकृत कम्पनीहरुले लगानीकर्ताहरुलाई प्रतिफलका रुपमा नगद प्रदान गर्दछन् भने त्यसलाई क्यास डिभिडेन्ट भनिन्छ । यो नगदका रुपमा आउँछ ।
(२४) चुक्ता पुँजी कम्पनीले जारी गरेको सेयरको कुल पुँजीलाई चुक्ता पुँजी भनिन्छ । धितोपत्रवालाले कम्पनीलाई तिरेको सेयर मूल्य नै चुक्ता पुँजी हो । जस्तैः कम्पनीले १०० रुपैयाँ को दरमा जारी गरेको सेयरमा १०० रुपैयाँ नै भुक्तान वा चुक्ता भएमा त्यो १०० रुपैयाँ चुक्ता पुँजी हो ।
(२५) हकप्रद सेयर हकप्रद सेयरलाई राइट सेयर पनि भनिन्छ । कम्पनीले एक पटक साधारण सेयर निष्काशन गरिसकेपछि भविष्यमा फेरि थप पुँजी आवश्यक पर्यो भने त्यतिबेला राइट सेयर निष्काशन गर्न सक्दछ । त्यो हकप्रद अर्थात् राइट सेयर खरिद गर्न पाउने पहिलो अधिकार वर्तमान सेयरधनीलाई हुन्छ । यदि आवह्वानअनुसार हकप्रदमा कम आवेदन पर्यो भनेपछि उक्त सेयर लिलामीमा जान्छ । त्यतिबेला सबैले उक्त सेयर किन्न पाउँछन् ।
(२६) पोर्टफोलियो बजारमा रहेका विविध क्षेत्रका कम्पनीहरुमा पुँजी लगानी गर्ने कला नै पोर्टफोलियो हो । बिमा, बैंक, उत्पादन तथा प्रशोधन, जलविद्युत, होटल तथा पर्यटन लगायतका कम्पनीहरुको अवस्था हेरेर लगानी गर्दा फाइदा कमाउन सजिलो हुन्छ । सबै लगानी एउटै कम्पनीमा हाल्दा जोखिम हुने भएकाले पोर्टफोलियो मिलाउनु आवश्यक छ ।
(२६) अड लट ट्रेड नियमित कारोबार समयमा नेप्सेमा १० कित्ताभन्दा माथिको सङ्ख्याका सेयरहरु कारोबार हुन्छन् । १० कित्ताभन्दा मुनिको सेयर कारोबार गर्ने कार्यलाई अड लट ट्रेड भनिन्छ । नेप्सेले यस्ता कित्ताहरुको कारोबार म्याचिङ मार्फत हरेक दिन गर्न पाउने व्यवस्था गरिदिएको छ ।
(२७) ट्रेडिङ टाइम नेप्सेले सेयर कारोबारका लागि बिदाको दिनमा बाहेक आइतबारदेखि विहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार समय निर्धारण गरेको छ । यसलाई नै ट्रेडिङ टाइम भनिन्छ । निर्धारित समयबाहेकको समयमा कारोबार गर्न पाइदैन ।
(२८) पे आउट धितोपत्र बजारमा सेयर बेचेको पैसा आउन करिब ५ दिन लाग्छ । सेयर बेचेर आउने पैसालाई यस पुँजी बजारको बोलीचालीको भाषामा पे आउट आएको भनिन्छ । पे आउट ले सेयर बेचेर प्राप्त गरिने पैसालाई जनाउँछ ।
(२९) फ्लोर सिट बजारमा कारोबार भएका कम्पनीको सेयर परिणाम, सेयर मूल्य, कुन ब्रोकरले बेच्यो र कुन ब्रोकरले किन्यो भनेर नेप्सेको वेब साइडमा एउटा विवरण हुन्छ उक्त विवरणलाई फ्लोर सिट भनिन्छ । यसबाट कुन कम्पनीको कति कित्ता सेयर कुन मूल्यमा कुन ब्रोकर मार्फत खरिद बिक्री भएको छ भनेर सजिलै हेर्न सकिन्छ । यसले बजार विश्लेषण गर्न सजिलो हुन्छ ।
(३०) सेयर रोक्का (प्लेजड) सेयर धितो राखेर बैङ्कहरुले कर्जा प्रदान गर्छन् । सोका लागि बैंकहरुले कर्जा प्रदान गर्ने सेयरलाई कर्जा चुक्ता नभएसम्म कारोबार गर्न नमिल्ने गरी रोक्का गरिदिएका हुन्छन् ।
यस बाहेक शेयर बजारका विषयमा जानु पर्ने आधारभुत कुराहरु धेरै छन् । जस्तै बुक विल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निश्कासन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण विधि हो । बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो । यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको सीमित लीलामी गरिन्छ । सर्वोत्तम सिमेन्टले नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट आइपिओ जारी गरेको थियो । लगानीकर्ताले शेयर बजारका सामान्य भन्दा समान्य कुराहरुको पनि ज्ञान लिनु पर्छ । अर्को तर्फ यो क्षेत्रमा मै हु भन्नेहरुले पनि ठुलो नोक्सानी बेहोर्ने भएकाले एकदमै संयमित हुनु पर्छ । सदैव अध्ययनशिल र सुझ बुझ पुर्ण तरिकाबाट लगानी गर्नु पर्छ ।
प्रतिक्रिया