बाणिज्य बैंकहरुले गरिब बनायो लगानीकर्तालाई, नेटवर्थ भन्दा कममा कारोबार हुँदा पोर्टफोलियो बढ्न सकेन
- अरुण सापकोटा
- 2024 May Fri 04:46
काठमाडौं । शेयर खरिद बिक्री हुने दोस्रो बजारमा बाणिज्य बैंकको हिस्सा सबैभन्दा धेरै छ । त्यसैले बाणिज्य बैंकमा आउने सानो परिवर्तनले पनि शेयर बजारलाई तलमाथि पार्छ । तर पछिल्लो बुल पछि बाणिज्य बैंकको शेयरमा लगानीकर्ताको खासै आकर्षण देखिदैन ।
२०७८ को बुलिस बजारमै बाणिज्य बैंकहरुको शेयरमा खासै उत्साहजनिक सुधार देखिएन । छिट्टो समयमा धेरै पैसा कमाउने उद्देश्य राखेका लगानीकर्ताको लागि बाणिज्य बैंकको शेयर त्यति उपयुक्त छैन । दोस्रो बजारमा १९ वटा बाणिज्य बैंकको शेयर सूचिकृत छ । जस मध्ये सर्वाधिक महंगो भनेको स्ट्यार्डर्ड चार्टर्डको ५१५ रुपैयाँ रहेको छ । यस पछि भनेको एभरेष्ट बैंकको ४९९ रुपैयाँ र नविलको ४२२ रुपैयाँ रहेको छ ।
यस बाहेक अरु बाणिज्य बैंकहरुको शेयर मूल्य २ सयको हाराहारीमा छ । कतिपयको शेयर मूल्य नेटवर्थकै आसपास छ । यसले गर्दा अघिल्लो बुलमा बाणिज्य बैंकको शेयर होल्ड गरेका लगानीकर्ता अहिले पनि चरम नोक्सानीमा छन् । केहि समयदेखि नेप्से सूचकमा खासै सुधार नहुँदा पनि केहि सेक्सटरमा उछाल आएको छ । जसबाट लगानीकर्ताले राम्रो पैसा कमाइसकेका छन् । तर जसको पोर्टफेलियोमा बाणिज्य बैंकको शेयर धेरै छ उनिहरुलाई खासै केहि पनि बढेको अनुभुति हुन सकेको छैन । यसरी बाणिज्य बैंककै कारण लगानीकर्ताको पोर्टफेलियोमा बृद्धि हुन सकेको छैन ।
किन बढ्न सकेन बाणिज्य बैंकको शेयर
बाणिज्य बैंकको शेयर बढ्न नसक्नुको पहिलो कारण पूँजी बृद्धि र मर्जर पछि बैंकहरुको आकार धेरै ठुलो भएको छ । सबैभन्दा कम शेयर पूँजी भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९ अर्ब ४२ करोड रुपैयाँ छ । दोस्रो बजारमा बैंकको सर्वसाधारण शेयर पूँजी २५ प्रतिशत मात्रै छ । यति हुँदा त बैंकको शेयर मूल्यमा खासै ठुलो चार्मिङ देखिदैन ।
अर्को तर्फ मर्जरबाट धेरै ठुला भएका ग्लोबल आइएमई, नविल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंकलाई लगानीकर्ताले हल्लाउन पनि सकेका छैनन् । मर्जर नै नभएका बैंकको शेयर मूल्यमा पनि लगानीकर्ताको आकर्षण देखिदैन ।
कुनै समयमा दोस्रो बजारमा सबैभन्दा महंगो शेयरमा बाणिज्य बैंकको शेयर पर्थे । यसको प्रमुख कारण थियो त्यतिवेला बाणिज्य बैंकको सर्वसाधारण तर्फको शेयर पूँजी ३० प्रतिशत भन्दा तल थिए । बैंकले क्रमिक रुपमा सर्वसाधारण तर्फको शेयर पूँजी बढाउदै बढाउदै ४९ प्रतिशतसम्म पुर्याए । यसले गर्दा दोस्रो बजारमा सप्लाइ बढायो । त्यसमा पनि नेपाल राष्ट्र बैंकले एक जनाले बैंक वित्तीय संस्थाको शेयर १५ प्रतिशत भन्दा धेरै होल्ड गर्न नपाउने व्यवस्था गर्यो । यस सँगै ठुला लगानीकर्ताको हातबाट शेयर अन्य साना तिना लगानीकर्ताहरुको हातमा छरियो । यसले गर्दा शेयर होल्ड गर्ने कोहि पनि भएनन् । परिणाम शेयर मूल्यमा सानो परिवर्तन हुने वित्तीकै सप्लाइ आउन थाल्छ ।
अहिले पनि कसैले बाणिज्य बैंकको शेयर बढाउन खोज्यो भने दुई तीन दिन पनि टिक्दैन । हजारौ लाखौ लगानीकर्ताहरु प्रत्येक सँग लाखौ कित्ता शेयर होल्ड छ । ठुलो संख्यामा शेयर भएकाले उनिहरुलाई इन्ट्राडे कारोबार गर्दा पनि फाइदा हुन्छ यसले गर्दा पनि बाणिज्य बैंकको शेयरमा कर्नरिङ गरेर बढाउन सम्भव छैन ।
पछिल्ला दिनमा लगानीकर्ताहरुले कर्नरिङ गरेर शेयर बढाइरहेका छन् । निश्चित ब्रोकरले ठुलो मात्रामा शेयर होल्ड गर्ने अनि माथि पुर्याउने र बिक्री गर्ने प्रवृत्ती छ । यसले गर्दा साना लगानीकर्ता भन्दा पनि ब्रोकर र ठुला लगानीकर्ताले मिलेर राम्रो पैसा बनाइरहेका छन् । अहिले बजार सबैभन्दा तल्लो विन्दुबाट माथि उठिरहेको हुँदा अहिलेसम्म जस्ता सुकै लगानीकर्ताले कर्निङ गरिएका शेयरमा नसोचेको आम्दानी गरिरहेका छन् । जव बजारमा सामान्य तलमाथि हुन्छ त्यस पछि अनपेक्षित रुपमा शेयर सप्लाइ बढ्छ । र सबैभन्दा पहिला साना लगानीकर्ताहरु फस्छन् ।
कमजोर वित्तीय अवस्था
बाणिज्य बैंकको शेयरमा चार्मिङ नदेखिनुको अर्को कारण कमजोर वित्तीय अवस्थाका कारण हो । बाणिज्य बैंकहरुको मुनाफा घट्दो क्रममा छ । साथ साथै खराव कर्जाका कारण प्रोभिजनिङ गर्नु पर्दा बाणिज्य बैंकहरुले राम्रो मुनाफा देखाउन सकेका छैनन् ।
नेपाल राष्ट्र बैंकले पनि बाणिज्य बैंकलाई माइक्रोम्यानेजमेन्ट गर्ने भएकाले बैंकहरुले अनपेक्षित रुपमा वित्तीय विवरण तयार पार्न सक्दैनन् । प्रोभिजनिङकै कारण कयौ बाणिज्य बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । एकातिर बैंकमा तरलता थुप्रिदै गइरहेको छ भने अर्को तर्फ पूँजीकोष अनुपातमा दवाव परेकाले कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । यसले बैंकहरुको मुनाफामा धेरै नै प्रभाव पार्ने देखिन्छ । जवसम्म अर्थतन्त्रमा सुधारका संकेत देखिदैनन्, कर्जा असुली हुने आधारहरु तय हुँदैनन तवसम्म बैंकको शेयरमा लगानीकर्ताको आकर्षण हुने देखिदैन । यदि अर्थतन्त्रमा सामान्य मात्रै सुधार हुने हो भने बाणिज्य बैंकहरु सबैभन्दा उपयुक्त स्क्रिप्ट हुनेमा दुइमत छैन ।
खराव कर्जा सल्टिएर नयाँ कर्जा प्रवाह हुन थाल्ने वित्तीकै बैंकहरुको मुनाफामा व्यापक सुधार देखिनेछ । प्रोभिजनिङ खुल्ने वित्तीकै बैंकहरुले अहिलेसम्म आर्जन गरेको मुनाफा वितरण योग्य हुनेछ । त्यस पछिका वर्षमा बाणिज्य बैंकको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढ्न सक्छ । नेपाल राष्ट्र बैंकले कोभिड पछि बैंक वित्तीय संस्थालाई मुनाफा वितरणमा रोक लगाउन अनेकौ नियमहरु लगाएको छ । कयौ बैंकहरुले क्षमता हुँदा हुँदै पनि लाभाश बाड्न सकेका छैनन् । जव लाभांश नै आउछ भन्ने छैन भने लगानीकर्ताले आकर्षण देखाउने कुरै रहदैन ।
बाणिज्य बैंकको प्रयाप्त अप्सन तयार हुनु
पहिला पहिला जस्तो लगानीकर्ताका लागि कारोबार गर्न बैंक वित्तीय संस्था मात्रै छैनन् । लगानीकर्ताले उत्पादन तथा प्रशोधनमुलक कम्पनी, जलविद्युत, लगानी, होटल तथा पर्यटन, व्यापार क्षेत्रका धेरै कम्पनी दोस्रो बजारमा भित्रिसकेका छन् । यसले गर्दा लगानीकर्ताहरुले बाणिज्य बैंककै शेयरमा घुमेर बस्नु पर्ने बाध्यता छैनन् । कम शेयर पूँजी भएका विभिन्न क्षेत्रका कम्पनीहरुमा घुमाइ घुमाइ कारोबार गर्ने अवसर छ । अन्य कम्पनीबाट राम्रो फाइदा हुँदा हुँदै बाणिज्य बैंकमा अर्बौ रुपैयाँ खर्चिएर बढाउनु पर्ने अवस्था छैन । यसले गर्दा पनि दोस्रो बजारमा अहिले समग्र सूचक भन्दा पनि सेक्टरल ग्रोथ देखिएको हो । अहिले बाणिज्य बैंकको बजार हिस्सा ४० प्रतिशत भन्दा तल छ । कुनै समयमा ७० प्रतिशत भन्दा माथि थियो । विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्सको शेयर पूँजी तुलनात्मक रुपमा धेरै कम भएको हुँदा यनिहरुको बजार हिस्सा पनि ज्यादै कम छ । त्यसैले बैंक वित्तीय संस्थामा आएको सुधारले समग्र नेप्से सूचकमा सुधार ल्याए पछि लगानीकर्ताले कमाउन अव नेप्से सूचकमै सुधार आउनु पर्छ भन्ने छैन ।
प्रतिक्रिया