बैंकिङ र शेयर बजारको क्षेत्रमा पनि सरकारको लोकरिझ्याँइ, बजेट भन्दा कुरा बढी

  • BFIS News
  • 2024 May Tue 17:24
बैंकिङ र शेयर बजारको क्षेत्रमा पनि सरकारको लोकरिझ्याँइ, बजेट भन्दा कुरा बढी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य मार्फत वित्तीय सुदृढीकरण र पहुँच सम्बन्धी विभिन्न व्यवस्थाहरु गरेका छन् । 

अर्थतन्त्रको सन्तुलित र दिगो विकासका लागि साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाइने भएको छ। बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाई दिगो विकास गर्न ग्राहक हित संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्व, कर्जा व्यवस्थापन लगायतका विषयमा  सचेतनामूलक कार्यक्रम सञ्‍चालन गरिने पुनले घोषणा गरेका छन् । 

बैकिङ सेवा पुग्न बाँकी बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने भएको छ। दुर्गम एवं ग्रामीण क्षेत्रमा बैकिङ सेवा प्रदान गर्न डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङ सेवालाई सघन रूपमा उपयोग गर्दै लगिने भएको छ।

विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सोभरेन वेल्थ फण्ड स्थापना गरिने बजेटमा उल्लेख छ । यो कोषलाई सार्वजनिक पूर्वाधार लगानीको परिपूरकको रूपमा स्पेशल पर्पस भेहिकल मार्फत उपयोग गरिने पुनले जनाएका छन् । 

विभिन्न क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई व्याजमा दिइदै आएको अनुदानलाई प्रभावकारी बनाउन ब्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गरिने भएको छ। पुनले सहुलियतपूर्ण कर्जाको लागि रु. ११ अर्ब विनियोजन गरेका छन् । 

वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाइने भएको छ।  नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाइने भएको छ।  नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनिमय नियमित गर्ने ऐन संशोधन गरिने भएको छ।  धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने भएको छ।

सामाजिक बैंकिङका लागि स्थानीय तहलाई वित्तीय संस्थासँग सहकार्य गर्न प्रोत्साहित गरिने भएको छ। न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आवद्ध गराउँदै लगिने भएको छ।

पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने भएको छ। नेपाल स्टक एक्सचेञ्‍ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको संरचनागत सुधार  गरिने भएको छ। वस्तु विनिमय बजारको सञ्‍चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने भएको छ।  निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य  रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया