एनसिएचएल र नेप्सले सोमबारदेखि एकिकृत कारोबार गर्दै, डिजिटिल भुक्तानीमा राज गर्दै आएकोमा अव कार्डमा पनि प्रवेश

  • गोविन्द राज जोशी
  • 2024 Jun Sat 08:49
एनसिएचएल र नेप्सले सोमबारदेखि एकिकृत कारोबार गर्दै, डिजिटिल भुक्तानीमा राज गर्दै आएकोमा अव कार्डमा पनि प्रवेश

काठमाडौं । नेपाल क्लियरिङ हाउस ‘एनसिएचएल’ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम ‘नेप्स’विचको मर्जर प्रकृया टुङ्गिए सँगै आगामी सोमबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् । एनसिएचएलले नेप्सलाई १०० कित्ता बराबर २८ कित्ताको अनुपातमा प्राप्ती गरेको हो ।

हाल नेपाल क्लियरिङ हाउसको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने नेप्सको २१ करोड १२ लाख छ । स्वाप रेसियो अनुसार नेप्सको ५ करोड ९१ लाख रुपैयाँ मात्रै नेपाल क्लियरिङमा जोडिनेछ । यस हिसावले प्राप्ति पश्चात एनसिएचएलको चुक्ता पूँजी एक अर्ब ६ करोड पुग्नेछ ।

दुबै सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार नेप्सको जगेडामा १५ करोड छ भने एनसिएचएलको ९८ करोड १४ लाख रुपैयाँ रहेको छ । यहि अवधिको मुनाफाका आधारमा एनसिएचएलको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने नेप्सको १९ रुपैयाँ छ ।

एनसिएचएल सँग आजका दिनमा ८० जना भन्दा धेरै कर्मचारी रहेका छन् भने नेप्समा ५० भन्दा धेरै कर्मचारी छन् । मर्जर पछि १३० जना भन्दा धेरै कर्मचारी हुनेछन् ।

हाल नेप्सेले रिटेल पेमेन्ट स्वीच र कार्ड स्वीचको सेवा प्रवाह गर्दै आइरहेको छ । कार्ड मार्फत हुने भुक्तानीमा अगाडी रहेको नेप्सलाई प्राप्ति गरे सँगै एनसिएचएल इलेक्ट्रोनिक पेमेन्टमा मात्रै केन्द्रित रहेकोमा अव दुबै किसिमको सेवा प्रवाह गर्ने तहमा पुगेको छ ।  

नेप्सले एटिएम सेवा, थ्रिडी सेक्युर सर्भिस, एक्वाइरिङ सेवा, कार्ड जारी गर्ने, ग्रिन पिन, कार्ड पर्सनलाइज, फ्रड म्यानेजमेन्ट, कार्ड भुक्तानीका सेवाहरु, पस म्यानेजमेन्टका कामहरु गर्दै आइरहेको छ । नेप्सले १४ वटा बैंकहरुलाई एटिएम सेवा प्रवाह गर्दै आइरहेको छ । हाल १६०० एटिएम ९ हजार भन्दा धेरै पस मेसिन व्यवस्थापन गरिरहेको छ । नेप्सेले भिजा, मास्टर कार्ड, युनिनयन पे, बिपिसी, एक्सपिआइ र एटुएमओ सँगको साझेदारीमा कामगर्दै गर्दै रहेको छ ।

इन्टरनेट प्रविधिमा आधारित विद्युतीय भुक्तानीको बढ्दो प्रयोग सँगै कार्ड मार्फत हुने भुक्तानीमा व्यापक गिरावट आइरहेको छ । कार्ड मार्फत सिमित रकम मात्रै झिक्न मिल्ने तथा भुक्तानी गर्न मिल्ने भएकाले नेप्सले भविष्य हेरेर अहिले नै मर्जरको बाटो रोजेको हो । अर्को तर्फ यि दुबै कम्पनीमा क्रस होल्डिङ रहेको छ । दुबैको शेयरधनीहरु बैंकहरु त्यसमापनि नेप्सका सबै शेयरधनी नेपाल क्लियरिङको शेयरहोल्डर हुन् ।

नेपाल क्लियरिङ हाउसले बैंकहरुको भुक्तानी प्रणालीमा आमुल परिवर्तन ल्याइदिएको छ । हिजोका दिनमा चेक क्लियरिङ तथा इन्टर बैंक पेमेन्टमा धेरै समय लाग्थ्यो । त्यसमा पनि बैंकमै पुगेर भुक्तानीका प्रकृयाँ अगाडी बढाउनु पर्दा समय खर्चिनु पर्थ्यो । आजका दिनमा यि सबै कुराहरुलाई नेपाल क्लियरिङ हाउसले सहज बनाइदिएको छ । नेपालको डिजिटल बैंकिङमा यसले धेरै ठुलो टेवा पुर्याएको छ । यसले गर्दा बैंकहरुले टेलरबाट कर्मचारी हटाएर भित्री काममा लगाउनु पर्ने अवस्था सिर्जना भएको छ । बैंकहरुले डिजिटल भुक्तानीमा गर्नु पर्ने ठुलो लगानीलाई र यस्ता सेवा लिनका लागि अन्तर्राष्ट्रिय संस्थाहरु सँग जोडिनु पर्ने र पैसा बाहिरिने बाध्यतालाई पनि यसले हटाइदिएको छ ।

नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुको मात्रै शेयरधनी भएकाले यो सबैभन्दा सुरक्षित र भर पर्दो माध्यम बन्न सफल भएको हो । डिजिटल पेमेन्टका क्रममा आफुलाई क्युआर पेमेन्टमा पनि अगाडी बढाइसकेको नेपाल क्लियरिङ हाउसले कार्ड तर्फको व्यवसायमा पनि आफुलाई अगाडी सारेको हो ।

  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार