आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
- BFIS News
- 2024 Jul Wed 08:34
काठमाडौं । आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेको छ। असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंक रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र मेरो सेयर एपमार्फत पनि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
प्रतिक्रिया