बैंकमा कर्जाको माग ठप्प हुँदा व्याजदर घट्ने क्रम पुससम्म लम्बिन सक्ने, सस्तो व्याजदरमा ऋण लिने अवसर
- BFIS News
- 2024 Aug Thu 05:40
काठमाडौं । आर्थिक मन्दीका कारण बैंक वित्तीय संस्थामा कर्जाको माग लगभग ठप्प छ । यद्दपी एकदमै कम कर्जा प्रवाह हुने साउन महिनामा पनि ४ अर्ब हारारहारी कर्जा प्रभाव भयो । तर बैंकमा कर्जाको माग नै नभएको एक बैंकरले बताए ।
बैंकहरुमा अधिक तरलता थुप्रिए पछि राष्ट्र बैंकले भदौ १० गते बजारबाट ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ तानेको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन्।
रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढिरहेको छ । निक्षेप बढेको भए पनि कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिको हो । बैंकहरुमा अधिक तरलता रहेकाले सो व्यवस्थापनका लागि राष्ट्र बैंकमा उक्त रकम थन्काएका हुन्।
नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र यसमा अपेक्षित वृद्धि नभएकाले पनि कर्जाको माग बढ्न नसकेको बैंकहरुको विश्लेषण छ। भन्सार विभागका अनुसार गत साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ०.६७ प्रतिशतले कम हो । चाडवाड अगाडी पनि एलसीको आकार कम हुँदा बैंकहरुले व्याजदरको घट्दो श्रृङ्खला अझै लामो समय लम्बिने आकलन गरेका छन् ।
सामान्यतया साउन र भदौ महिनामा कर्जाको माग हुँदैन । भदौ महिनामा व्यापारीहरुले एलसी प्रयोग गरेर सामान आयात गर्छन् । यसले गर्दा केहि रकम कर्जाको रुपमा बाहिरिए पछि अन्य क्षेत्रमा कर्जा प्रवाह हुन सकेको छैन ।
असोज र कात्तीक महिना चाडवाडको समय भएकाले यस अवधिमा पनि कर्जा जाने सम्भावना एकदमै कम हुन्छ । यदि चाडवाड पछि कर्जा जान थाल्ने हो भने पनि कात्तिको अन्तिमतिरबाट सुरु हुन्छ । तर पहिलो त्रैमाशिक अवधिको अन्तिम महिना भएकाले बैंकहरुले नयाँ कर्जा भन्दा पनि थोर बहुत असुलीमा केन्द्रित हुन्छन् । यस पछि मंसिर र पुस महिनामा जाने कर्जाको आधारमा व्याजदर घट्ने वा बढ्ने कुराको आकलन गर्न सकिने एक बैंकले बताए । उनले भने 'मंसिर र पुस महिनामा कर्जा प्रवाह हुन थाल्यो भने बल्ल माघदेखि निक्षेपको व्याजदर बढ्न थाल्नेछ । जतिवेला पुस महिनासम्मको व्याजदर यस पटकको सबैभन्दा तल्लो विन्दुको हुनेछ ।'
नेपालमा कर्जा प्रवाह हुने भनेको घरजग्गामै हो । अर्को तर्फ नयाँ नयाँ उद्योग कलकारखाना तथा व्यवसाय गर्नेहरुले कर्जा लैजान्छन् । तर अहिलेसम्मको अवस्थामा लगानीमैत्री वातावरण छैन । जलविद्युत तथा निर्माणका क्षेत्रमा नियमित रुपमा एक चरणको कर्जा गइरहे पनि यस बाहेकका उत्पादनशिल क्षेत्रमा कर्जाको माग छैन ।
अहिले निक्षेप बढिरहे पनि कर्जा विस्तार सोही अनुपातमा वृद्धि नहुँदा कर्जा–निक्षेप अनुपात ७८.७८ प्रतिशतमा झरेको छ । जवकी बैंकहरुले ९० प्रतिशतसम्मको अवस्थामा कर्जा प्रवाह गर्न सक्छन् । अहिलेको अवस्थामा बैंक वित्तीय संस्थाले ६४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५१ खर्ब ८४ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् ।
नयाँ कर्जा नजादा बैंकहरुलाई निक्षेप नै घाडो हुन थालेको छ । निक्षेको अनुपातमा कर्जा नजादा बैंकहरुको व्याज खर्च धेरै हुन जान्छ । यसले गर्दा अहिले प्राय बैंकहरुले निक्षेपमा तीन प्रतिशत हाराहारी मात्रै व्याज दिइरहेका छन् । यो व्याजदर मूल्य बृद्धिदर भन्दा पनि कम हो । यसले गर्दा पनि निक्षेपकर्ताहरुले बैंक बाहेक अन्यन्त्र निक्षेप लैजान सक्ने अवस्था आउन सक्छ ।
सहकारीमा समस्या आउदा सहकारीको पैसा पनि बैंक वित्तीय संस्थामा थुप्रिएको छ । तर बैंकहरुले सहकारीको जस्तो साना साना कर्जा प्रवाह गर्दैनन् । यसका लागि सहकारी नै सबैभन्दा उपयुक्त माध्यम हुन् । यसले गर्दा पहुँचको अभावले पनि कर्जा जान सकिरहेको छैन ।
त्यसमा पनि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा काउन्टर साइक्लिक बफर अनुसार थप पुँजी कायम गर्नु नपर्ने सुविधा दिएको छ । यसबाट बैंकहरुको थप कर्जा प्रवाह गर्ने क्षमता विस्तार हुनेछ । यसले गर्दा बैंक वित्तीय संस्थामा २ खर्बभन्दा बढी रकम थपिने बैंकरहरु बताउछन् । काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने व्यवस्थाले अब बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (सीएआर) ११ प्रतिशत र टायर वान क्यापिटल (सीसीएआर) ८.५ प्रतिशत भए पुग्नेछ ।
काउन्टर साइक्लिकल बफर यसअघि २०७६ बाट नै कार्यान्वयन गर्ने घोषणा भए पनि कोभिडका कारण देखाउँदै स्थागित भएको भएको थियो । केन्द्रीय बैंकले यसलाई गत आर्थिक वर्षबाट मात्र कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले पछिल्लो ५ वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निजी क्षेत्रको कर्जा अनुपातको औसत र पछिल्लो आवको जीडीपीमा निजी क्षेत्रको कर्जा अनुपात अन्तरका आधारमा ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर अतिरिक्त पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।
काउन्टर साइक्लिकल बफर अतिरिक्त पुँजी कोष प्राथमिक पुँजीबाट नै कायम गर्नुपर्ने हुँदा बैंकहरु दबाबमा थिए । गत असारमा ९ प्रतिशत प्राथमिक पँजी कोष कायम गर्नुपर्नेमा कुमारी बैंक र एनआईसी एसिया बैंकले कायम गर्न सकेका थिएनन् । यससँगै अब चालु आर्थिक वाणिज्य बैंकको न्यूनतम प्राथमिक पुँजी कोष ८.५ प्रतिशत र पूरक पुँजी २.५ प्रतिशतसहित ११ प्रतिशत कायम गर्दा हुने भएको छ ।
तथापि, पछिल्लो २ आर्थिक वर्षमा कर्जा विस्तार न्यून हुँदा उक्त अन्तर घटेसँगै चालु आर्थिक वर्ष भने काउन्टर साइक्लिकल बफरको शून्य प्रतिशत मात्रै कायम गर्दा पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
यि सबै कारणले बैंकमा लगानीयोग्य रकम थुप्रिदैछ । तथापी अहिलेको व्याजदरमा पनि खासै धेरै तल झर्ने अवस्था भने नभएको बैंकरहरु बताउछन् । राष्ट्र बैंकले पनि निक्षेप तथा कर्जाको क्षेत्रमा कुनै पनि औजार प्रयोग गरिरहेको छैन । यसले पनि राष्ट्र बैंकले निश्चित अवधिपछि यि सबै कुरा समाधान हुने अनुमान गर्दै बसिरहेको छ ।
प्रतिक्रिया