सुधारिदै बैंकहरुको व्यालेन्स सिट : खराव कर्जा घट्दै नाफा बढ्दै, कर्जा क्षमता बढ्दा तत्काल सवा ७ खर्ब दिन सक्ने
- BFIS News
- 2024 Sep Thu 05:11
काठमाडौं । बैंक वित्तीय संस्थाको व्यालेन्स सिट सुधारिने तहमा पुगेको छ । नेपाल राष्ट्र बैंकले खराव कर्जामा ल्याएको लचिलो नीतिका कारण बैंकहरुले व्यालेन्स सिट वासिङ गर्ने अवसर प्राप्त गरेका हुन् ।
खराव कर्जाका कारण पूँजी कोष अनुपातमा ठुलो समस्या देखिदै आएको थियो । प्रोभिजनिङका कारण कर्जा दिन सक्ने क्षमतामा समेत ह्रास आएकोमा अहिले बैंकहरु कर्जा प्रवाह गर्न सक्ने तहमा पुगेका हुन् । नीतिगत सहजतासँगै खराब कर्जाबापत नोक्सानी व्यवस्था घटेको छ भने नाफा र कर्जा असुली समेत बढेको बैंकरहरुले बताएका छन् ।
गएको आर्थिक वर्षको चैत मसान्तसम्ममा अधिकाम्स बैंकहरुको प्राथमिक पूँजी कोष ९ प्रतिशत भन्दा कम थियो । राष्ट्र बैंकको नीतिगत पहलका कारण असार मसान्तसम्ममा २ बाणिज्य बैंक बाहेक सबैको पूँजीकोष अनुपात ९ प्रतिशत भन्दा माथि छ । राष्ट्र बैंकको व्यवस्था अनुसार प्राथमिक पूँजी कोष ८.५ प्रतिशत हुनु पर्छ । यस सँगै बैंकहरुको कर्जा प्रवाह गर्न सक्ने क्षमतामा सुधार आएको हो ।
अर्को तर्फ राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको लागि लचकता अपनाइदिएको छ । यसले पनि बैंकहरुलाई अतिरिक्त पूँजीकोष व्यवस्थापन गर्नु पर्ने दवाव हटेको छ । बैंकहरु गएको वर्ष खराव कर्जा असुली गर्नै पर्ने दवावमा थिए । सिथिल अर्थतन्त्र र ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमतामा ह्रास आउदा राष्ट्र बैंकले पनि बैंक वित्तीय संस्थाहरुलाई केहि संयमिता अपनाइदिन अनुरोध गर्यो । बैंकहरुले गत वर्षको बैंशाख, जेठ र असारमा केहि मानवियता प्रस्तुत गरिदिए । राष्ट्र बैंकले पनि खराव कर्जाका विषयमा केहि नीतिगत सहजता प्रदान गर्यो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि खराव कर्जाका विषयमा केहि लचकता अपनाइएको छ ।
अर्को तर्फ अर्थतन्त्रका अन्य सूचकहरुमा पनि क्रमिक सुधार आइरहेको छ । ऋणीहरुले विस्तारै विस्तारै सावा व्याज घटाउन थालेका छन् । बैंकहरुमा थुप्रिएको तरलताको अंशले पनि यसलाई केहि हदसम्म संकेत गर्दछ । यद्यपी यसमा ठुलो योगदान वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाएको रेमिट्यान्सको छ ।
सामान्यतया साउन र भदौ महिना कर्जा प्रवाहका लागि खासै राम्रो मानिदैन । असोज र कार्तिक महिना चाडवाडको समय भएकाले यस अवधिमा घरजग्गाको कारोबार सुरु हुन्छ । बैंकहरुमा कर्जाको माग आउन सुरु हुन्छ । तर कर्जाको यथार्थ माग मंसिर र पुस महिनामा सबैभन्दा धेरै हुन्छ ।
त्यस पछि भने बैंकहरुमा पूँजी कोषको दवाव पर्न जाने एक बैंकरले बताए । पुँजी पर्याप्तता अनुपात (पुँजी कोष) बैंकहरूले ऋण प्रवाह गर्दा आफू (बैंक) ले हाल्ने रकम हो । हालको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले एक सय रुपैयाँ कर्जा प्रवाह गर्दा न्यूनतम ११ प्रतिशत बैंकका तर्फबाट र बाँकी ८९ प्रतिशत बचतकर्ताको निक्षेपबाट हाल्नुपर्छ । बैंकले हाल्ने ११ प्रतिशतलाई पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी रेसियो– सीएआर) भनिन्छ । प्राथमिक पुँजी र पूरक पुँजी गरी यसलाई पनि दुई वर्गमा विभाजन गरिन्छ ।
प्राथमिकमा मुख्यगरी चुक्ता पुँजी र नाफाको केही अंश मात्र जोडिन्छ भने ऋणपत्रलगायत अन्य स्रोतबाट संकलन भएको पुँजी पूरक हो । जोखिम सम्पत्तिको तुलनामा वाणिज्य बैंकहरूले न्यूनतम ८.५ प्रतिशत प्राथमिक पुँजी कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । प्राथमिक पुँजी जति कम हुन्छ, त्यति बैंकहरूको ऋण दिन सक्ने क्षमता कमजोर हुन्छ । गत चैतसम्म ५ वटा बैंकको प्राथमिक पुँजी ९ प्रतिशतभन्दा कम थियो । असारसम्म आइपुग्दा दुईवटा बैंकको प्राथमिक पुँजी मात्र ९ प्रतिशतभन्दा कम छ । बाँकी सबैको त्योभन्दा धेरै रहेकाले बैंकहरूको कर्जा प्रवाह क्षमतामा सुधार भएको बैंकरहरू बताउँछन् ।
विगतमा वित्तीय प्रणालीमा ऋण दिन मिल्ने धेरै रकम रहे पनि पुँजी कोषमा दबाब परेको कारणले ऋण दिन सकेका थिएनन् । अहिले बैंकहरूको त्यही अवस्थामा सुधार आएको तथ्यांकहरूले देखाएका छन् । बैंकहरूको प्राथमिक पुँजी कोष अनुपात एक आर्थिक वर्षको कुनै पनि त्रैमासमा तोकिएको भन्दा कम भए राष्ट्र बैंकले बैंकहरूलाई लाभांश वितरणमा समेत रोक लगाउँछ । यसअनुसार यस वर्ष पनि केही बैंकले लाभांश वितरण गर्न पाउनेछैनन् ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको खराब कर्जा पनि केही घटेको देखिन्छ । गत असारसम्म बैंकहरूको खराब कर्जा औसत ३.७६ प्रतिशत छ । गत आर्थिक वर्षको चैतसम्म खराब कर्जा ३.८९ प्रतिशत थियो । सो अवधिमा बैंकहरूका आधार दर पनि घटेको छ । गत असारमा बैंकहरूको आधार दर औसत ८.०१ प्रतिशत छ । सोही आर्थिक वर्षको चैतमा यस्तो दर ८.५६ प्रतिशत थियो । आधार दरमा कमी आएसँगै बैंकहरूको ऋणको ब्याजदर पनि निरन्तर घटिरहेको छ । तर कर्जा माग अपेक्षित रूपमा बढ्न नसक्दा प्रणालीमा धेरै ऋण दिनमिल्ने रकम थुप्रिएको छ । जसअनुसार गत बिहीबार (भदौ १३) सम्म बैंक तथा वित्तीय संस्थामा करिब सवा सात खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ । गत असार मसान्तमा बैंकहरूसँग यस्तो रकम करिब ८ खर्ब थियो ।
बैंकहरूमा ऋण दिन मिल्ने रकम थुप्रिरहेको, ब्याजदर एकल अंकमा झरेकोलगायत कारण नयाँ आर्थिक वर्षको सुरुवातसँगै कर्जा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको थियो । तर अपेक्षा गरिएअनुसार कर्जा माग बढ्न नसकेको बैंकहरू बताउँछन् । गत बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९५ प्रतिशत छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ६१ र्ब रुपैयाँ छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन पाउँछन् ।
प्रतिक्रिया