यस पालिको तिजमा भित्रियो ३९ करोडको सारी, भारतदेखि अमेरिकाबाट आउँछन्
- BFIS News
- 2024 Sep Sat 12:12
काठमाडौँ । गएको साउनमा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी आयात भएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा १२ करोड रुपैयाँ बढीको सारी आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको साउनमा २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी, लुंगी र धोती आयात भएको थियो ।
नेपालमा सुती र मानवनिर्मित रेसाबाट बनेका सारी, लुंगी र धोती आयात हुने गरेको छ । यो वर्षको साउनमा ९ लाख २४ हजार ९ सय ५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी सारी भारतबाट आयात भएको छ ।
भारतबाट ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी, लुंगी र धोती आयात भएको छ । चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको छ । इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ ।
गत आर्थिक वर्षमा ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको सारी, लुंगी र धोती आयात भएको थियो । गत वर्ष भारत, चीन, इन्डोनेसिया, अमेरिका, बेलायत लगायत विभिन्न मुलुकबाट सारी आएको थियो । भारतबाट मात्रै ३ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ बराबरको ७८ लाख ६३ हजार ७९ थान सारी आएको थियो । चीनबाट भने ३ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको सारी आयात भएको विभागले जनाएको छ ।
प्रतिक्रिया