नबिल बैंकको पूँजी कोष बलियो बनाउने रणनीति, ५ अर्बको अग्राधिकार शेयर क-कसले किन्न पाउछन् ?
- अरुण सापकोटा
- 2024 Sep 07 20:18
 
                    
काठमाडौं । मुनाफादेखि सम्पुर्ण सूचकमा अगाडी देखिएको नबिल बैंकले पूँजी कोष बलियो बनाउने रणनीति अनुरुप यदि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका खण्डमा नेपालमै पहिलो पटक 'अविमोच्य असञ्चिति अग्राधिकार शेयर' जारी गर्ने भएको छ । बैंकको भदौ १७ गते बसेको विशेष साधारणसभाले अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरी नियामकीय प्रकृयाँका लागि स्वीकृति समेत पाइसकेको छ ।
नेपालमै पहिलो पटक यस्तो अभ्यास हुन थालेकाले नियामक निकायहरु नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्ड नै कतिपय प्राविधिक पाटोमा छलफल गरिरहेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति पाए पछि प्रति इकाइ १०० रुपैयाँको दरले ५ करोड इकाइका अग्राधिकार शेयर जारी गर्न प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको हो ।
विशेष साधारणसभाले पारित गरे सँगै अव बैंकले बाँकी प्रकृयाँका लागि राष्ट्र बैंकबाट पुर्ण रुपमा स्विकृति लिनु पर्छ । अनि मात्र बैंकले सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा जानेछ ।
यस्तो अग्राधिकार शेयर संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जानकारी दिए । यसमा सर्वसाधारण लगानीकर्ताले लगानी गर्न पाउदैनन । विशेष गरी संस्थागत लगानीकर्ता जस्तै बीमा कम्पनीहरु जसले दीर्घकालिन लगानी गरिरहेका हुन्छन् त्यस्ता संस्थाहरुलाई लक्षित गरेर यो आएको उनले प्रष्ट पारे । उनले भने 'संस्थागत लगानीकर्ताहरुले बैंकले मुनाफा आर्जन गर्ने वित्तीकै हरेक वर्ष ८ प्रतिशत लाभांश पाउने पाउछन् । उनिहरुका लागि यो लाभांश आम्दानी अन्तिम करकट्टी हुने भएकाले करमा पनि सहुलियत प्राप्त हुन्छ ।'
अग्राधिकार शेयरको अभ्यास यस भन्दा अगाडी कृषि विकास बैंक तथा एभरेष्ट बैंकहरुले पनि अभ्यास गरिसकेका छन् । तर नविलले सुरु गरेको यस्तो अभ्यास भने अनि फरक हुनेछ । कृषि विकास बैंकको अग्राधिकार शेयर नेपाल सरकार एक्लैले खरिद गरेको छ । नेपाल सरकारले यस्तो शेयरबाट ६ प्रतिशत भन्दा धेरै लाभांश पाउदैन । त्यसमा पनि अन्य सर्वसाधारण लगानीकर्ताले प्राप्त गरेको समयमा मात्रै नेपाल सरकारले उक्त प्रतिफल प्राप्त गर्नेछ ।
अहिले नविल बैंकले घोषणा गरेको अग्राधिकार शेयरको प्रतिफल ८ प्रतिशत तोकिएको छ । यस्तो प्रतिफल बैंकले मुनाफा आर्जन गरेको वर्षमा मात्रै वितरण हुनेछ । यदि बैंकले कुनै वर्ष नोक्सानी बेहोर्नु पर्यो भने अग्राधिकार शेयरका शेयरधनीले प्रतिफल पाउने छैनन् ।
अहिले नविलले तयारी गरेको अग्राधिकार शेयर एभरेष्ट बैंकको भन्दा केहि फरक देखिएको छ । बैंकले कुनै वर्ष सर्वसाधारणलाई लाभांश दिन वितरण योग्य मुनांफा अपुग भएमा दिन नसके पनि अग्राधिकार शेयरधनीलाई पुग्ने रकम सम्म वितरण योग्य मुनांफा रहेमा भने अग्राधिकार शेयरधनीलाई लाभांश दिनै पर्नेछ ।नविल बैंकको अहिलेसम्मको इतिहास हेर्दा कुनै पनि वर्ष वितरण योग्य नोक्सानमा गएको रेकर्ड छैन । यसले गर्दा बैंकको लाभांश सुनिश्चित जस्तै छ ।
अहिले नविलले तयारी गरेको अग्राधिकार शेयर कृषि र एभरेष्ट बैंकको भन्दा केहि फरक देखिएको छ । कृषिले जस्तो नविलले सर्वसाधारणलाई लाभांश नदिदा नदिने भन्ने हुँदैन । बैंकले कुनै वर्ष सर्वसाधारणलाई लाभांश दिन नसके पनि अग्राधिकार शेयरधनीलाई भने दिनै पर्नेछ । नविल बैंकको अहिलेसम्मको इतिहास हेर्दा कुनै पनि वर्ष नोक्सानमा गएको रेकर्ड छैन । यसले गर्दा बैंकको लाभांश सुनिश्चित जस्तै छ ।
यस्ता उपकरणहरुको विकासले बीमा कम्पनी जस्ता संस्थागत लगानीकर्ताका लागि भने लगानी गर्ने दायरा थप फराकिलो भएको छ । ऋणपत्र तथा अन्य विभिन्न इन्स्ट्रमेन्टमा लगानी गर्दै आएका संस्थागत लगानीकर्ताले नयाँ अप्सन प्राप्त गर्ने छन् । लगानीकर्ताले जोखिम व्यवस्थापनका लागि भिन्न औजारहरुको प्रयोग गर्दछन् । नविल बैंकले निष्काशन गर्ने यस्तो अग्राधिकार शेयर पनि उपयुक्त औजार बन्नेछ ।
सर्वसाधारण लगानीकर्ताले किन्न नपाउने
नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही यस्तो अग्राधिकार शेयर सर्वसाधारण लगानीकर्ताले भने खरिद गर्न पाउने छैनन्, बैंकले संस्थागत लगानीकर्तालाई व्यात्तीगत तवरबाट मात्रै खरिदका लागि आह्वान गर्न सक्ने छ । साथै भोलिका दिनमा नियामकिय स्विकृती पश्चात् संस्थागत लगानीकर्ताहरु बिचमा खरिद बिक्री हुन सक्नेछ ।
नियामकिय स्वीकृती प्राप्त गरेमा ऋणपत्र जस्तै यो शेयर पनि दोस्रो बजारमा सूचिकृत हुनेछ । भोलिका दिनमा नेपाल राष्ट्र बैंकले के कसरी अनुमति दिन्छ र नेपाल धितोपत्र बोर्डले पनि कुन कुन सर्त राखेर अनुमति प्रदान गर्छ हेर्न बाँकी छ !
बैंकिङ तरलता व्यवस्थापन गर्ने उपयुक्त उपकरण
बैंकहरुले निक्षेपकर्ताबाट पैसा लिएर ऋणीलाई दिँदै गर्दा सम्भावित जोखिम व्यवस्थापन, निक्षेप फिर्ताको सुनिश्चितता आदि कारण बैंकिङ व्यवसाय विस्तारमा सेयरधनीको पनि निश्चित प्रतिशत योगदान हुनैपर्ने नियामकीय व्यवस्था छ । यस्तो पुँजीगत योगदान पुँजीकोषको हिस्साका रूपमा रहन्छ । भारित जोखिमको आधारमा स्वपुँजी, सञ्चित र जगेडाजस्ता सेयरधनीको सम्पत्ति वा कोष (सेयरहोल्डर्स इक्विटी) समेतको प्राथमिक पुँजीकोष तथा डिबेन्चर र अन्य पुँजीयोग्य रकम सहितको पूरक पुँजीकोष सहितको कुल पुँजीकोष कायम गर्नु बाध्यात्मक हुन्छ । बैंकहरुले समय समयमा पुँजीकोष र लगानीयोग्य रकमको दबाब झेल्दै आइरहेको छ । नविल बैंकले यो अग्राधिकार शेयर जारी गरेपश्चात थप ५० अर्ब भन्दा माथिको कर्जा विस्तार गर्ने स्पेस पाउनेछ ।
जव पूँजीकोष दवावमा पर्छ तव महंगो व्याजदरमा ऋणपत्र जारी गर्दा पनि बिक्री गर्न नसक्ने बैंकहरु जव बैंकमा अधिक तरलता थुप्रदै जान्छ तव ऋणपत्र समेत जारी गर्दैनन् । जसले यस्तो समयमा ऋणपत्र तथा अन्य औजारहरु ल्याउछन् त्यसले सहजै बिक्री गर्न सक्ने छन् ।
अग्राधिकार शेयर भनेको के हो ?
कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ ।
यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार चाहिँ हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ ।
कतिपय अग्राधिकार शेयर निश्चित समयावधिपछि साधारण शेयरमा परिणत हुने खालका हुन्छन् । यस्तो शेयरलाई परिवर्तनीय (कन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । यसरी परिवर्तन गर्न नसक्ने खालको शेयरलाई अपरिवर्तनीय (ननकन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । साधारण सभामा अग्राधिकार शेयरधनीलाई मतदान गर्ने अधिकार दिएको वा नदिएको आधारमा पनि अग्राधिकार शेयरको वर्गीकरण गर्न सकिन्छ ।
अग्राधिकार शेयरका अन्य प्रकार :
क्युमुलेटिभ, ननक्युमुलेटिभ अग्राधिकार शेयर कुनै वर्ष कम्पनीले अग्राधिकार शेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था छ भने त्यस्तो शेयरलाई क्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ ।
रेडिमेबल, इरेडिमेबल अग्राधिकार शेयर निश्चित समयपछि साँवा रकम फिर्ता हुने अग्राधिकार शेयरलाई रेडिमेबल अग्राधिकार शेयर भनिन्छ भने फिर्ता नहुने अर्थात् कम्पनी रहुन्जेलसम्म रहने गरी जारी गरिएको अग्राधिकार शेयरलाई इरेडिमेबल (अग्राधिकार) शेयर भनिन्छ ।
यसरी कुनै अग्राधिकार शेयर कन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल हुन सक्छ भने कुनै कन्भर्टिबल, ननक्युमुलेटभ र रेडिमेबल हुन सक्छन् । त्यस्तै, कुनै अग्राधिकार ननकन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल पनि हुन सक्छ ।
यस्तो अग्राधिकार सञ्चित लाभांश कम्पनी कुनै वर्ष घाटामा गएर लाभांश वितरण गर्न नसकेमा बाँकी रहेको लाभांश सञ्चित भएर आगामी वर्षहरूमा प्राप्त गर्ने व्यवस्था हुन सक्छ । यस्तो लाभांशलाई सञ्चित लाभांश भनिन्छ । त्यसैगरी कम्पनी विघटनमा गएर पूँजी फिर्ता गर्ने क्रममा अंकित मूल्य बराबर नै फिर्ता गर्नुपर्ने हुन्छ । सोही कारण अग्राधिकार शेयरमा अंकित मूल्य तोकिएको हुन्छ ।
आम्दानी र सम्पत्तिमा प्राथमिकता अग्राधिकार शेयरधनीलाई आम्दानी प्राप्त गर्ने र कम्पनी घाटामा गएमा पनि पूँजी फिर्ता गर्ने क्रममा साधारण शेयरधनीलाई भन्दा पहिलो प्राथमिकता हुन्छ । यस्तो शेयरलाई मिश्रित प्रतिभूति पनि भनिन्छ । किनभने अग्राधिकार शेयरमा साधारण शेयर र ऋणपत्र दुवैको विशेषता हुन्छ । नेपालको कम्पनी ऐनअनुसार अग्राधिकार शेयर रकम फिर्ता गरेमा वा फिर्ताको प्रस्ताव गरेमा सो शेयरको अंकित मूल्यबराबरको नयाँ शेयर जारी गर्न सक्ने व्यवस्था छ ।
 
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                            









प्रतिक्रिया