वैदेशिक रोजगारको ३१ प्रतिशत बीमाशुल्क कम्पनीलाई, ६९ प्रतिशत पुलमा जाँदा कसले कति पाए?
- BFIS News
- 2024 Sep Mon 16:41
काठमाडौं। नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई सामूहिक बीमा कोष (पूल) मार्फत् सञ्चालन सुरु गरेको छ। प्राधिकरणले कम्पनीहरुको वैदेशिक रोजगार बीमाबाट प्राप्त बीमाशुल्कमध्ये ३१ प्रतिसत मात्र सम्बन्धित कम्पनीलाई दिने व्यवस्था गरेको हो। बाँकी ६९ प्रतिशत बीमाशुल्क भने दामासाहीमा १७ कम्पनीले बाँड्ने छन्।हाल पुलमा १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनी गरि १७ कम्पनी सहभागि छन्। पुल निर्देशिकाले पहिलो वर्ष ६९ः३१ को अनुपातमा आम्दानी र दायित्व बाँडफाँड गरेपनि दोस्रो र तेस्रो वर्षका लागि फरक अनुपात निर्धारण गरेको छ।
यद्यपी प्राप्त बीमाशुल्कको एक प्रतिशत कोष प्रवन्धकलाई दिनुपर्ने छ। कोष प्रवन्धकलाई दिएको रकम पछि मात्रै समानुपातिक हिसाबले बाँटफाँड गरिनेछ। बीमालेख जारी गर्ने कम्पनीहरुले दोस्रो वर्ष १५.५ प्रतिशत र तेस्रो वर्ष ०.१० प्रतिशत बीमाशुल्क आफुसँग राखेर आम्दानी र दायित्व बहन गर्ने व्यवस्था गरिएको छ। पहिलो वर्ष ४.६ प्रतिशतका दरले ६९ प्रतिशत रकम बाँडिने छ भने दोस्रो वर्ष ५.७ प्रतिशतका दरले ८५.५ प्रतिशत र तेस्रो वर्ष ६.९९ प्रतिशत गरी ९९.९ प्रतिशत रकम बाँटफाँड हुने छ।
आर्जित बीमाशुल्क पुलमा नगई एउटै बीमा कम्पनीले लिँदा अस्वस्थ प्रतिस्पर्धा भएको आरोप लाग्दै आएको थियो। त्यति मात्रै होइन कम्पनीहरुले अनावश्यक रुपमा बीमा अभिकर्ता सिर्जना गरेर अधिक खर्च गर्ने गरेको आरोपसमेत लाग्दै आएको थियो। वैदेशिक रोजागार जीवन बीमालेखमा समस्या देखिएपछि प्राधिकरणले यसअघि बैदेशिक रोजगार म्यादी जीवन बीमा सामुहिक बीमा कोष (पूल) स्थापना तथा संचालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको थियो। त्यसअुरुप साउन १ गतेदेखि बीमाशुल्क कम्पनी र पुलमा जाने व्यवस्था कार्यान्वयन आएको हो।
बीमा कम्पनीहरुद्वारा जारी वैदेशिक रोजगार म्यादी बीमालेखको दायित्व र आम्दानी पुलमा गएसँगै अस्वस्थ प्रतिस्पर्धा अन्त्य भएको प्राधिकरणले जनाएको छ । साउन १ देखि नै वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको दायित्व र आम्दानी पूलमार्फत् विभिाजन गरिएको थियो । व्यवसाय संकलन गर्ने कम्पनीलाई केही प्रतिशत राखेर बाँकी सबै कम्पनीमा समानुपातिक तबरमा विभाजन गर्ने व्यवस्था भएको छ ।
पुल निर्देशिकाअनुसार बीमालेख बिक्री गर्ने कम्पनीले ३१ प्रतिशत आफूसँग राखेर बाँकी रकम पुलमा पठाउनु पर्नेछ। पुलमा गएको व्यवसायलाई ३ आर्थिक वर्षमा विभाजन गरी दायित्व र आम्दानी बाँडफाँड गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ। वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा भित्रिएको ‘कमिसन विकृति’ रोकी पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन पुलको स्थापना गरिएको हो। जीवन बीमा कम्पनीहरुले सम्पूर्ण व्यवसाय बढाउन वैदेशिक रोजगार म्यादी जीवन बीमालेखमार्फत् प्राप्त बीमाशुल्कको ८५ प्रतिशतसम्म कमिशनमा खर्च गर्ने गरेका थिए।
साउन १ देखि पुलमा जम्मा भएको बीमाशुल्कले वैदेशिक रोजगार म्यादी जीवन बीमाको दावी व्यवस्थापन गर्न बीमा कोष स्थापना हुनेछ। दावी व्यवस्थापनको जिम्मेवारी प्राधिकरणले जीवन बिमक संघलाई दिएको छ भने संघले कोष स्थापनाको प्रक्रिया अघि बढाएको छ। पूलमार्फत् वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय गर्न जीवन बीमा कम्पनीहरु वैदेशिक रोजगार विभागमा सूचीकृत भएको अर्को महिनादेखि सामुहिक बीमा कोषमा सहभागि हुन पाउनेछ।
बीमा कम्पनीहरुले साउन १ देखि भदौसम्म २१ लाख ५५ हजार २ सय १५ वटा बीमालेख विक्री गरी ४९ करोड २६ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन्। त्यसमध्ये सबैभन्दा धेरै हिस्सा सन नेपाल लाइफको ३०.३२ प्रतिशत छ भने नेपाल लाइफको १७.२७ प्रतिशत, आइएमई लाइफको १२.४४ प्रतिशत, सुर्यज्योति लाइफको १०.०९ प्रतिशत, सानिमा रिलाइन्सको ७.२४ प्रतिशत, नेशनल लाइफको ६.५७ प्रतिशत र रिलायबल लाइफको ५.८१ प्रतिशत छ। सामान्यतयाः वैदेशिक रोजगार म्यादी जीवन बीमा ३ वर्षका लागि विक्री गरिन्छ र त्यसपछि स्वतः खारेज हुन्छ। निर्देशिकाले पुल संचालनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरेको छ। कम्पनीहरुबाट दैनिक बीमाशुल्क प्राप्त भएको आधारमा प्राप्त ब्याज आम्दानी र दावी भुक्तानीको रकम मासिक रुपमा बाँटफाँड हुनेछ।
त्यस्तै, हरेक कम्पनीले आफुले जारी गरेको म्यादी बीमालेखको विवरण दैनिक रुपमा कोष प्रवन्धक समक्ष पेश गर्नु पर्नेछ। ३ महिनासम्म वैदेशिक म्यादी जीवन बीमा जारी नगरेमा पुलमा सहभागि गराइने छैन। कामका लागि विदेश जाने हरेक नेपालीले अनिवार्य रुपमा वैदेशिक रोजागार म्यादी जीवन बीमालेख किनेको हुनुपर्छ। बीमालेख नदेखाए वैदेशिक रोजगार विभागले विदेश जान रोक लगाउन सक्छ।
प्रतिक्रिया