अवकास हुनु भन्दा ६ महिना अगाडी गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द
- BFIS News
- 2024 Oct Sun 18:39
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठिन समिति रद्द गरेको छ । शुक्रबार (असोज १८ गते) बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ चैत २४ गते छानबिन समिति गठन गरेको थियो ।
सर्वोच्च अदालतका पूर्व न्यायधिश पुरुषोत्तम भण्डारीको नेतृत्वमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा सदस्य रहेको समितिले सरकारले गठन गरिएको थियो । समिति गठन भएसंगै गभर्नर अधिकारीलाई निलम्बन गरिएको थियो ।
सरकारले गरेको निलम्बन विरुद्ध अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाई क्रममा उनलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको थियो । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए ।
आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले छानविन समिति गठन गरेको, समितिमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको लागि उनले अन्तरिम आदेश माग गरेका थिए ।
तत्कालिन समयका अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी विच ठुलो अन्तरद्वन्द भएको थियो । कोभिड १९ को समयमा अधिकारी आइसोलेसन बस्न बाध्य भएका थिए । अहिले अधिकारीले तत्कालिन समयको आरोपबाट पुर्ण रुपमा मुक्ती पाएका छन् ।
एमाले निकट मानिने गभर्नर अधिकारीले एमाले वेगरका सरकारलाई ठुलो असहयोग गरेको भन्दै चौतर्फी आलोचना हुने गरेको थियो । जव जव सरकारमा एमाले हुन्थ्यो त्यतिवेला गभर्नर अधिकारीको प्रस्तुती नै फरक हुने गरेको छ । उनको कार्यकाल आगामी चैतबाट सकिदैछ ।
प्रतिक्रिया