Nepal Life

७ कम्पनीले प्राथमिक बजारबाटै उठाए ९ अर्ब प्रिमियम, स्वार्थ समुहको प्रभावमा नियामक पर्दा सर्वसाधारणको लगानी धरापमा

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 07:03
७ कम्पनीले प्राथमिक बजारबाटै उठाए ९ अर्ब प्रिमियम, स्वार्थ समुहको प्रभावमा नियामक पर्दा सर्वसाधारणको लगानी धरापमा
Sanima Reliance

काठमाडौं । सात कम्पनीले आइपिओ निष्काशन गरेर प्राथमिक बजारबाटै ९ अर्ब रुपैयाँ प्रिमियम उठाएका छन् । विगत ४/५ महिनाको अवधिमा ७ कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्ने अनुमती पाए । जस मध्ये सिटिजन लाइफले सर्वसाधारणका लागि यहि भदौ १५ गतेदेखि जारी गर्दैछ ।

NIMB

सिटिजनले संकलन गर्ने रकमलाई समेत गणना गर्दा उनिहरुले प्राथमिक बजारबाट १४ अर्ब ५८ करोड रुपैयाँ पूँजी संकलन गर्दैछन् । जवकी उनिहरुको प्राथमिक मूल्य अनुसारको पूँजी ५ अर्ब ५८ करोड रुपैयाँ मात्रै रहेको छ । यसरी ७ कम्पनीले प्राथमिक पूँजीको २.६१ गुणा बढि रकम सर्वसाधारण लगानीकर्तासँग उठाएका छन् ।

वैदेशिक रोजगारमा गएका नेपालीदेखि लिएर सानो सानो बचतलाई शेयरमा लगानी गरेका सर्वसाधारणले लगानी फिर्ता पाउने कुनै पनि सुनिश्चिता छैन । देखावटी र मनगणन्ते प्रक्षेपणलाई आधार मान्दै नियामकले कम्पनीहरुलाई प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ । जसमध्ये सर्वाधिक धेरै विवाद घोराही सिमेन्टको प्राथमिक शेयर निष्काशनमा भयो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई आधार मान्दै प्राथमिक शेयर निष्काशनको अनुमति दिने नेपाल धितोपत्र बोर्ड, अण्डराइटिङ गर्ने नागरिक लगानीकोषको चर्को विरोध भयो । जति सुकै विरोध भए पनि प्राथमिक बजारका लगानीकर्ताले भने शेयर खरिद गरिदिए ।

 नेपाल धितोपत्र बोर्डले जस्तासुकै कम्पनीलाई प्रिमियममा शेयर निष्काशन गर्न अनुमति दिन थाले पछि बोर्डको कार्यशैलीलाई लिएर सर्वसाधारण लगानीकर्ताले चर्को विरोध गर्न थालेका छन् । धितोपत्र बोर्डले शेयर बजारमा उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुलाई प्रोत्साहन गर्न प्रिमियममा शेयर जारी गर्न दिने नीति बनाएको भए पनि बोर्डको यस्तो कार्यशैलीलाई लिएर भने संका पैदा गरेको छ ।

धितोपत्र बोर्डले आइपिओ निष्काशन गर्न अनुमति माग्ने जस्ता सुकै कम्पनीलाई अनुमति दिदै गर्दा प्राथमिक बजारका लगानीकर्ताको लगानीलाई पनि सुरक्षण गर्ने नीति बनाउनु पर्छ । तर बोर्डको कार्यशैलीले यस्तो देखिदैन ।  

बोर्डले पहिलो पटक बीमा बीमा कम्पनीलाई प्रिमियममा शेयर जारी गर्न अनुमति दियो । यसरी बोर्डले आखा चिम्लेर अनुमति दिदा उनिहरुले प्राथमिक बजारबाटै अर्बौ रुपैयाँ प्रिमियम उठाए । बीमा यस्तो क्षेत्र हो जसको व्यवसाय सर्वसाधारण नेपालीको बीमा गरेर सञ्चालन हुन्छन् ।

जुन कम्पनीले राज्यको स्रोत साधन प्रयोग गर्छन् उनिहरुले सर्वसाधारणलाई पनि लगानीकर्ता बनाएर पब्बलिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुनु पर्छ भन्ने मान्यता रहेको छ । बैंकहरु सर्वसाधारणको निक्षेपबाट सञ्चालित हुन्छन् । त्यस्तै जलविद्युत आयोजना प्राकृतिक स्रोत साधनमा निर्भर हुन्छन् । प्राकृतिक स्रोत साधन कुनै व्यक्ति वा कम्पनीको पेवा हुँदैन । त्यस्तै बीमा कम्पनीले सर्वसाधारण नेपालीको बीमा गरेर आफुलाई टिकाइहेका हुन्छन् । यसरी सार्वजनिक स्रोत साधनलाई उपयोग गरेर सञ्चालनित कम्पनीले सर्वसाधारण सँगै प्रिमियम संकलन गर्नु आफैमा व्यवहारिक र सान्दर्भिक पनि हुँदैन ।

यस वर्ष सर्वाधिक धेरै घोराहीले प्राथमिक बजारबाट तीन अर्ब ४४ करोड संकलन गर्यो । ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर प्रभावितलाई ४०० र सर्वसाधारणलाई ४३५ रुपैयाँ शेयर निष्काशन गर्यो । कम्पनीले प्राथमिक बजारबाट २ अर्ब ६४ करोड लगेको छ । कम्पनीलाई यो पैसा फिर्ता गर्न १० वर्ष भन्दा धेरै समय लाग्ने छ ।

जीवन बीमा कम्पनीहरुले अहिले सर्वसाधारण सँग उठाएको प्रिमियमबाट २५ देखि ३५ प्रतिशत लाभांश दिन सक्नेछन् । तर उनिहरुले आगामी वर्षदेखि ५ प्रतिशत लाभांश पनि वर्ष विराएर दिनु पर्ने अवस्था आउछ । जीवन बीमा यस्तो व्यवसाय हो जसले मुनाफा कमाउने भन्दा पनि बीमितको हितमा काम गर्ने हो । उनिहरुले बीमित लिएको दायित्वका कारण ठुलो नाफा देखाउनै पाउदैनन् । यसले गर्दा बीमा कम्पनीको लाभांश त्यति आकर्षक हुँदैन । अव यि कम्पनीले अहिले लिएको प्रिमियम रकम फिर्ता दिन अझै १० वर्ष भन्दा लामो समय लाग्ने छ । विद्यमान बीमा कम्पनीको लाभांश इतिहास हेर्यो भने प्रष्ट हुन्छ । 

अहिले संकलन भएको प्रिमियमबाट बोनस शेयर दिने भन्दै लगानीकर्ताहरु हौसिएको देखिन्छ । जवकी यि कम्पनीले सर्वसाधारणसँग संकलन गरेको प्रिमियम रकम संस्थापक र सर्वसाधारण दुबैको लागि बोनस शेयर वितरण हुन्छ । यसरी ३० प्रतिशत संग संकलन गरेको प्रिमियम सत प्रतिशत अर्थात संस्थापक सहितका लगानीकर्तालाई वितरण गर्नु पर्छ । संस्थापकहरुले सर्वसाधारण सँग उठाएको पैसाबाट लाभांश प्राप्त गर्ने प्रवृत्तीको विकास भएको छ । 

सर्वसाधारणबाट उठाएको प्रिमियमबाट आकर्षक बोनस शेयर घोषणा हुन्छ । यसरी लाभांश घोषणा हुँदा दोस्रो बजारमा कम्पनीको शेयर मूल्य पनि बढ्छ । यस्तो सूचना तिनै संस्थापक लगानीकर्ता सँग हुने भएकाले उनिहरुले नै दोस्रो बजारमा राम्रो सँग प्ले गर्छन् । भोलका दिनमा प्राथमिक सँग सँगै दोस्रो बजारबाट पनि उच्चतम लाभ लिने यि नै संस्थापक लगानीकर्ता हुन्छन् । जहाँ सर्वसाधारणको हित सोचिदिने नियामक हुँदैन । 

कुनै कम्पनीले आफ्नै बलबुतामा कम्पनी खडा गरेर ब्राण्ड भ्यालु बनाएको छ भने उसले प्रिमियममा शेयर जारी गर्नु स्वभाविक पनि हो । तर सरकारले दिएको लाइसेन्स त्यसमा पनि सरकारले संरक्षित गरेका कम्पनीले उल्टै सर्वसाधारण सँग पैसा उठाउनु कदापि पनि सामाजिक हितमा छैन । राज्य सबैको हो जसले ठुला व्यवसायी र व्यापारीको मात्रै हिच सोच्ने होइन आम सर्वसाधारणको पनि हितमा काम गर्नु पर्छ ।  

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया