समता घरेलुले मनकामनालाई प्राप्ति गरेर थप शक्तिशाली बन्दै, पूँजी ५४ करोड सहित पौने ४ अर्ब लगानी

  • BFIS News
  • 2023 Aug Thu 13:45
समता घरेलुले मनकामनालाई प्राप्ति गरेर थप शक्तिशाली बन्दै, पूँजी ५४ करोड सहित पौने ४ अर्ब लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई आत्मसाथ गर्दै समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई संस्थाले भदौ ७ गते विहान मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बागमति प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र बनाएका यि दुई संस्थाले मर्जर गरेर राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा सेवा प्रवाह गर्ने भएका छन् ।

काभ्रेपलाञ्चोक केन्द्रिय कार्यालय रहेको समता घरेलुले आफ्नो सेवा क्षेत्र विस्तार गर्ने उद्देश्य अनुरुप मनकमानालाई प्राप्त गर्ने भएको हो । हाल समताको चुक्ता पूँजी ३९ करोड ४१ लाख रुपैयाँ छ भने मनकामना स्मार्टको १४ करोड ८४ लाख मात्रै छ । यदि बराबरी हैसियतमा मर्जर भयो भने चुक्ता पूँजी ५४ करोड २६ लाख पुग्नेछ ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार दुबैको जगेडा कोष जोड्दा १४ करोड १९ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै समताको निक्षेप ९८ करोड १४ लाख छ भने मनकामनाकव ४१ करोड २४ लाख छ । मर्जर पछि चुक्ता पूँजी एक अर्ब ३९ करोड नाघ्नेछ ।

दुबैले अहिले गरेको बरोइङ मर्जर पछि एक अर्ब ७५ करोड पुग्नेछ । हाल समताको कर्जा लगानी २ अर्ब ९० करोड छ भने मनकामनाको ८७ करोड १७ लाख छ । मर्जर पश्चात कर्जा विस्तार तीन अर्ब ७७ करोड पुग्नेछ । यस वर्ष दुबैको मुनाफामा खासै ठुलो सुधार छैन । त्यस्तैले समताको प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ भने मनकामनाको १.४६ रुपैयाँ मात्रै छ । कोभिड १९  र पछिल्लो समयको आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव लघुवित्त वित्तीय संस्थामा देखिएको छ ।

हाल मनकामनाको खराव कर्जा ९.५७ प्रतिशत छ भने समताको ४.५१ प्रतिशत छ । यसले गर्दा पनि मनकामनाले मर्जरको बाटो रोजेको हो । दोस्रो बजारमा शेयर मूल्य उस्तै छ । हाल समताको शाखा ६१ वटा छ भने मनकामना स्मार्टको ३८ वटा रहेका छन् । मर्जर पश्चात शाखा सञ्जाल ९९ वटा पुग्नेछ । समता घरेलुले मर्जरको सुविधा लिएर यस वर्ष पनि १५ प्रतिशत भन्दा धेरै लाभांश दिन सक्ने छ ।

मनकामना स्मार्टले २०७८ असारमा प्राथमिक शेयर निष्काशन गरेको थियो । प्राथमिक शेयर निष्काशन पछि गएको वर्ष शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिएको थियो । मनकामना स्मार्टले भने २०७३/७४ देखि लगातार लाभांश दिदै आएको छ । पहिलो वर्ष ३१ प्रतिशत लाभांश दिएको संस्थाले गत वर्ष १८ प्रतिशत दिएको थियो ।  समताको अध्यक्षमा डिएम थेबे लिम्बु रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा डा. मदन घिमिरे रहेका छन् । उनि २०७० सालदेखि समतामा छन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया