सिद्धार्थ बैंकको मुनाफा ८.९ गुणाले बढ्यो, चुक्ता पूँजी र जगेडा कोष बराबर
- BFIS News
- 2024 Oct Wed 11:33
काठमाडौं । सिद्धार्थ बैंकले ८.९ गुणाले मुनाफा बढाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा ३८ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले ४ करोड २८ लाख रुपैयाँ मात्रै थियो ।
नियामकीय व्यवस्थाका कारण प्रोभिजनिङ गर्नु पर्दा गत वर्ष बैंकको मुनाफा कम देखिएको थियो । यस वर्ष बैंक मुनाफा मात्रै नभइ अन्य सूचकमा पनि उल्लेख्य सुधार गरेको छ । अन्य बैंकहरुको खुद व्याज आम्दानी घट्दै गर्दा सिद्धार्थ बैंकको भने ६.०१ प्रतिशतले बढेको छ । बैंकले समिक्षा अवधिमा २ अर्ब ८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सञ्चालन आम्दानी भने २ अर्ब ६९ करोड रहेको छ । प्रोभिजिङले गर्दा अझै पनि बैंकले वास्तविक मुनाफा देखाउन पाएको छैन ।
अर्थतन्त्रमा सँगै कर्जामा सुधार आउने वित्तीकै बैंकको मुनाफामा अझै बढ्ने देखिएको छ । राष्ट्र बैंकले लाभांश वितरणमा गरेको कडाइका कारण सिद्धार्थ बैंकको जगेडा कोष झन् बलियो बनेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी र जगेडा कोष लगभग बराबरकै अवस्थामा छ । हाल बैंकको चुक्ता पूँजी र जगेडा कोष दुबैमा १४ अर्ब ४० करोड रहेको छ ।
बैंकले समिक्षा अवधिमा २ खर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब कर्जा विस्तार गरेको छ । यदि बैंकले खराव कर्जा सुधार गर्दै प्रोभिजनिङ घटाउने हो भने यसै वर्षको मुनाफाबाट ४० प्रतिशत भन्दा माथि लाभांश दिन सक्ने विश्लेषकहरु बताउछन् । बैंकको प्रतिशेयर आम्दानी भने १०.६४ रुपैयाँ रहेको छ । नेटवर्थ २०१ रुपैयाँ छ । खराव कर्जा भने १.९९ प्रतिशत छ ।
प्रतिक्रिया