सिटिजन्स बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, साधारणसभाबाट प्रबन्ध-पत्र संशोधन
- BFIS News
- 2024 Oct Mon 13:12
काठमाडौं । सिटिजन्स बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । यसका लागि आज सम्पन्न १८ औं वार्षिक साधारणसभाबाट प्रवन्ध-पत्र र नियमावली नै संशोधन गरिएको छ ।
बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताले मात्रै धारण गर्ने व्यवस्था गरेको छ । जसमा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अन्तर्गत परिभाषित बैंकका सम्बन्धित पक्ष तथा बैंकको नियन्त्रण रहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयर खरिद गर्न पाउने छैन ।
बैंकको नियमावलीलाई पनि संशोधन गर्दै अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई मत दिने अधिकार नहुने व्यवस्था गरिएको छ । बैंकले विभिन्न वर्गका शेयर जारी गर्ने सवालमा बैंकको शेयर साधारण शेयर र अविमोच्य असञ्चिति अग्राधिकार शेयर गरेर दुई वर्गमा बिभाजित गरेको छ ।
यस सँगै अव बैंकले प्रचलित कानुनको अधिनमा रही नेपाल राष्ट्र बैंकको स्वीकृति लिई साधारणसभामा प्रस्ताव पारित गरी बैंकको पूँजीको आवश्यकता अनुसार अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने भएको छ ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा प्रदान गर्ने लाभांश दर उक्त शेयरजारी गर्दा तोकिए बमोजिम हुने बैंकले जनाएको छ । लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्ण गर्ने सम्पूर्ण अधिकार बैंकमा निहित हुने भनि नियमावलीमा व्यवस्था गरिएको छ ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाब मार्फत चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गरिने बैंकले जनाएको छ । यदि कुनै आर्थिक वर्षमा लाभांश वितरण नभएमा उक्त लाभांश आगामी आर्थिक वर्षमा जोडिदै नजाने कानुनी व्यवस्था गर्दै नियमावली नै संशोधन गरेको हो ।
पछिल्लो समय नविल बैंकले यस्तो अभ्यास सुरु गरिसकेको छ । यसका साथै एभरेष्ट बैंक र कृषि विकास बैंकले पनि आ-आफ्नै किसिमको अग्राधिकार शेयर जारी गरिसकेका छन् । नेपालको सन्दर्भमा यस विषयमा अझै प्रष्टता भने छैन । बैंकहरुले चासो व्यक्त गर्न थाले सँगै राष्ट्र बैंकले पनि यसको विषयमा छुट्टै कानुनी व्यवस्था गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले यस विषयमा आवश्यक अध्ययन तथा छलफल गरिरहेको छ ।
बैंकको आज सम्पन्न १८ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर अर्थात ५६ करोड ८० लाख रुपैयाँ र कर प्रयोजनका लागि ०.२१ प्रतिशत अर्थात २ करोड ९८ लाख रुपैयाँ नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरेको हो । बैंकको लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिको प्रतिवेदन उपर आ-आफ्नो राय व्यक्त गरेका थिए ।
कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र नजिको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । सभाले बैंकको मिति २०८१ बैशाख २६ गतेको सञ्चालक समितिको ४५० औं बैठकद्धारा सोही मितिबाट लागु हुने गरी बैंकको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा इला शर्मालाई र गएको असार २४ गते सञ्चालक समितिको ४५६ औं बैठकद्धारा सोहि मितिबाट लागु हुने गरी बैंकको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा अनिल कुमार ज्ञवालीलाई नियुक्त गरिएको निर्णयलाई समेत अनुमोदन गरेको छ ।
सभाले बैंकको सञ्चालक समितिलाई मर्जरको आवश्यक प्रकृयाँ अगाडी बढाउने अख्तियारी समेत प्रदान गरेको छ । प्रवन्धपत्र र नियमावलीका व्यवस्थाहरु संशोधन गर्नुका साथै पारित भएको छ ।
प्रतिक्रिया