तिहार अगाडी ३४ कम्पनीको लाभांश घोषणा, युनिलिभर सर्वाधिक अगाडी बैंक तर्फ स्ट्याण्डर्ड चार्टर्ड, हेर्नुहोस् कसको कति?
- BFIS News
- 2024 Oct Thu 06:43
काठमाडौं । तिहार अगाडी ३४ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट जस मध्ये ७ वटा बाणिज्य बैंक, एउटा विकास बैंक, ८ वटा माइक्रोफाइनान्स, होटल तथा पर्यटन २ वटा, हाइड्रोपावर ११ वटा, उत्पादन तथा प्रशोधनमुलक ३ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।
यस वर्ष सदाझै युनिलिभर नेपालले सर्वाधिक धेरै १७१४ प्रतिशत लाभाश प्रदान गरेको छ । कम्पनीले साधारणसभा सम्पन्न गरि लाभांश समेत वितरण गरिसकेको छ । युनिलिभरले यतिहासकै सर्वाधिक धेरै लाभांश प्रदान गरेको हो । जुन नेप्से इतिहासकै सर्वाधिक धेरै पनि हो । दोस्रो धेरै लाभांश सोल्टी होटलले १० प्रतिशत बोनस शेयर सहित ३६.८४ प्रतिशत घोषणा गरेको छ ।
यस वर्ष बाणिज्य बैंकहरुको भने लाभांश खुम्चिएको छ । सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्डले २५.५ प्रतिशत लाभाश दिने भएको छ । बैंकको लाभांश अहिलेसम्म घोषणा भएको मध्ये तेस्रो धेरै हो । नेपाल ल्युव आयलले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
हाइड्रोपावर मध्ये सबैभन्दा धेरै रु रु जलविद्युत परियोजनाले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । यसको पनि बुक क्लोज भइसकेको छ । त्यस्तै बाणिज्य बैंक मध्ये दोस्रो धेरै एभरेष्ट बैंकले पनि १५.५३ प्रतिशत लाभांश वितरण गरिसकेको छ । जसमा १० प्रतिशत बोनस शेयर पनि रहेको थियो । नेशनल, स्वावलम्बन, आशा र गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
बाणिज्य बैंकहरुको लाभाश घोषणा क्रम बढेको छ । तिहार पछि लगभगत सबैले लाभांश घोषणा गर्नेछन् । तर यस पटक पनि कतिपय बाणिज्य बैंकहरु लाभांश वितरण गर्नबाट बञ्चित हुँदै छन् । सिटिजनले थोरै भए पनि लाभाश घोषणा गरेर साधारणसभाबाट पारित गरिसकेको छ । ग्लोबलले घोषणा गरे पनि बुक क्लोज तथा साधारणसभाको मिति तय गरेको छैन । सानिमा र प्राइमले थोरै भए पनि नगद लाभाश घोषणा गरेका छन् । जुन लाभाश अझै पनि पाउन सकिन्छ ।
विकास बैंक मध्ये कामना सेवाले मात्रै घोषणा गरेको छ । कामनाले ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद सहित कुल १२ प्रतिशत घोषणा गरेको छ । होटल समुहको सोल्टी पछि ओरियण्टलले पनि ५ प्रतिशत बोनस शेयर दिएको छ ।
जलविद्युत समुहका ११ वटाले लाभांश घोषणा गर्दा अधिकाम्सको १० प्रतिशत भन्दा कम छ । त्यसमा पनि दोस्रो बजारलाई प्रभावित पार्न पल्किएका प्रमोटरहरुले नगद भन्दा पनि बोनस शेयर दिइरहेका छन् ।
प्रतिक्रिया