याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ चैत ८ देखि खुल्ने, २८ लाख कित्ता शेयर निष्काशन गर्ने
- BFIS News
- 2026 Mar 12 11:12
काठमाडौँ। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आगामी चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोही अनुमति अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर जारी गर्न लागेको हो।
कम्पनीले ७ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएको छ। उक्त शेयरका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने २ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ लाख १० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको शेयरको निष्काशन छिटोमा चैत २२ गते बन्द हुनेछ भने ढिलोमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरिएको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते बन्द हुने जनाइएको छ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
उक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ। आयोजनामा गरिएको लगानीको साधारण फिर्ता अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले सिन्धु विकास बैंक तथा कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, इच्छुक स्थानीय बासिन्दाले आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया