जग्गा रोक्का र फुकुवा प्रक्रियालाई सहज बनाउन मालपोत कार्यालयलाई नयाँ व्यवस्था
- BFIS News
- 2026 May 25 08:49
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले जग्गा रोक्का तथा फुकुवा प्रक्रियालाई थप व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन देशभरका मालपोत कार्यालयलाई नयाँ निर्देशन जारी गरेको छ।
विभागले २०८१ जेठ ८ गते जारी गरेको परिपत्रमार्फत अनलाइन प्रणाली ‘पीएएम’ प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी र फुकुवा प्रक्रियामा देखिएका कानुनी तथा व्यवहारिक समस्या समाधान गर्ने प्रयास गरेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार एउटै धितोमा थप ऋण प्रवाह गर्नुपर्ने वा पुरानै धितो कायम राखी ऋणको रकम घटबढ गर्नुपर्ने अवस्थामा नयाँ दृष्टि बन्धक लिखत पारित गर्दा अघिल्लो रोक्कालाई आधार मानेर प्रक्रिया अघि बढाउन सकिनेछ।
त्यस्तै, एकभन्दा बढी कित्ता जग्गा धितो राखिएको अवस्थामा सम्बन्धित बैंकको सहमतिमा केही कित्ता वा निश्चित क्षेत्रफल मात्रै फुकुवा गर्न सकिने व्यवस्था गरिएको छ। विभागले यसबाट आंशिक फुकुवा प्रक्रिया सहज हुने अपेक्षा गरेको छ।
परिपत्रमा बैंक तथा वित्तीय संस्थाले उल्लेख गर्ने ऋण रकमसम्बन्धी जिम्मेवारी ऋणी र ऋणदाताकै हुने स्पष्ट पारिएको छ। यस आधारमा मालपोत कार्यालयले सरकारी मूल्यांकनभन्दा बढी रकम भएको कारण देखाएर रोक्का वा बन्धक प्रक्रिया रोक्न नपाउने व्यवस्था गरिएको छ।
सेवा प्रवाहलाई छिटो बनाउन बैंक तथा वित्तीय संस्थाबाट दिउँसो १२ बजेसम्म प्राप्त भएका रोक्का वा फुकुवासम्बन्धी निवेदन सोही दिनभित्र टुंग्याउनुपर्ने निर्देशन दिइएको छ। १२ बजेपछि प्राप्त निवेदन भने भोलिपल्ट पहिलो प्राथमिकतामा राखेर फर्छ्यौट गर्नुपर्नेछ।
रोक्का रहेको जग्गामा घर निर्माण भएको अवस्थामा आवश्यक कागजात र शुल्कका आधारमा घर कायम गरी त्यसको जानकारी सम्बन्धित बैंकलाई दिनुपर्ने व्यवस्था पनि गरिएको छ। साथै, भौतिक अभिलेखमा रोक्का देखिए पनि अनलाइन प्रणालीमा विवरण अद्यावधिक नभएका जग्गाको अभिलेख सच्याएर सेवा प्रवाह नियमित गर्न विभागले निर्देशन दिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)





प्रतिक्रिया