जीवन बीमा कम्पनीको व्यवसाय १२.६२ प्रतिशतले बढ्यो, १ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन
- BFIS News
- 2026 Jun 26 08:49
काठमाडौं। नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।
जीवन बीमा उद्योगले पछिल्ला महिनाहरूमा व्यवसाय विस्तारलाई निरन्तरता दिएको देखिएको छ। कुल बीमाशुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र हिमालयन लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। यता, व्यवसाय वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ अग्रणी देखिएका छन्।
सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने नेपाल लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ संकलन गर्दै आफ्नो व्यवसायलाई १२.५३ प्रतिशतले विस्तार गरेको छ। त्यसपछि नेशनल लाइफले १७.४९ प्रतिशत वृद्धिसहित २२ अर्ब २१ करोड रुपैयाँ तथा एलआईसी नेपालले ७.२० प्रतिशत वृद्धिसहित १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।
त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय ३.७६ प्रतिशत बढेर १५ अर्ब ७९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको १७.९३ प्रतिशत बढेर १० अर्ब ६२ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ११.२८ प्रतिशत बढेर १० अर्ब ५२ करोड रुपैयाँ, एशियन लाइफको १०.८६ प्रतिशत बढेर ८ अर्ब ७१ करोड रुपैयाँ तथा सानिमा रिलायन्स लाइफको १२.५६ प्रतिशत वृद्धिसहित ६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
मध्यम आकारका कम्पनीहरूमध्ये आइएमई लाइफले सर्वाधिक ३०.७९ प्रतिशत व्यवसाय वृद्धि गर्दै ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ। कम्पनी वृद्धिदरका आधारमा पहिलो स्थानमा रहेको छ। त्यस्तै, मेट लाइफको व्यवसाय १०.१२ प्रतिशत बढेर ६ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको १८.७३ प्रतिशत बढेर ५ अर्ब ४१ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १४.८८ प्रतिशत बढेर ५ अर्ब २२ करोड रुपैयाँ तथा सन नेपाल लाइफको २.५९ प्रतिशत वृद्धिसहित ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
नवीकरण बीमाशुल्कमा पनि दोहोरो अंकको वृद्धि
कुल बीमाशुल्कसँगै नवीकरण बीमाशुल्कमा पनि उल्लेखनीय सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ३३ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँको तुलनामा ११.६३ प्रतिशत बढी हो।
नवीकरण बीमाशुल्क संकलनमा पनि नेपाल लाइफ ३५ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ सहित शीर्ष स्थानमा रहेको छ। त्यसपछि नेशनल लाइफले १६ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ, एलआईसी नेपालले १५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ, हिमालयन लाइफले १३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ तथा राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
यस्तै सूर्यज्योति लाइफले ७ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ, एशियन लाइफले ६ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब १४ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ६६ करोड ९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ तथा सन नेपाल लाइफले २ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएका छन्।
वृद्धिदरका आधारमा नवीकरण बीमाशुल्कतर्फ आइएमई लाइफ २२.६८ प्रतिशत वृद्धिसहित अग्रस्थानमा रहेको छ। त्यसपछि राष्ट्रिय जीवन बीमा कम्पनी २०.३० प्रतिशत, नेशनल लाइफ १८.४९ प्रतिशत, रिलायबल नेपाल लाइफ १८.३६ प्रतिशत, सिटिजन लाइफ १६.८६ प्रतिशत, सन नेपाल लाइफ १६.३२ प्रतिशत तथा सानिमा रिलायन्स लाइफ १५.०७ प्रतिशत वृद्धिसहित अगाडि देखिएका छन्।
प्रथम बीमाशुल्कमा २६.३१ प्रतिशतको छलाङ
बीमा कम्पनीहरूको नयाँ व्यवसाय विस्तार पनि उल्लेखनीय देखिएको छ। प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म प्रथम बीमाशुल्क आर्जन २६.३१ प्रतिशतले वृद्धि हुँदै ३९ अर्ब ५९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको थियो।
प्रथम बीमाशुल्क संकलनमा पनि नेपाल लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीले १० अर्ब १६ करोड ८८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। त्यसपछि नेशनल लाइफले ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ, एलआईसी नेपालले २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८० करोड ५६ लाख रुपैयाँ तथा सिटिजन लाइफले २ अर्ब ४५ करोड २० लाख रुपैयाँ संकलन गरेका छन्।
त्यसैगरी आइएमई लाइफले २ अर्ब २६ करोड ५६ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब २४ करोड ८३ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब १२ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८२ करोड ३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ९० लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ११ करोड ७० लाख रुपैयाँ तथा सन नेपाल लाइफले १ अर्ब ७ करोड ८७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।
समग्र तथ्यांकले जीवन बीमा उद्योगमा नयाँ व्यवसाय विस्तार, पुराना पोलिसीको नवीकरण र कुल बीमाशुल्क संकलन तीनै क्षेत्रमा सकारात्मक वृद्धि देखिएको संकेत गरेको छ। विशेषगरी नयाँ कम्पनीहरूले उच्च वृद्धिदर कायम गरिरहेका बेला बजारको आकार भने अझै नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल र हिमालयन लाइफजस्ता स्थापित कम्पनीहरूको नेतृत्वमा रहेको देखिन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया