बाणिज्य बैंकहरुको पूँजी भन्दा जगेडा बलियो, ८ अर्बको कोर्ष करेक्सन गर्न ८ वर्ष लाग्योः अर्को बैंक खोल्न सक्ने कोष
- BFIS News
- 2024 Nov Sat 06:53
काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले चुक्ता पूँजी भन्दा जगेडा कोष बलियो बनाउन थालेका छन् । हाल ५ वटा बाणिज्य बैंकको जगेडा कोष पूँजी भन्दा धेरै छ भने एउटाले हाराहारी छ । त्यस्तै तीन वटाको कोष पूँजीको ९० प्रतिशत हाराहारी रहेको छ ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बाणिज्य बैंकहरुलाई न्युनतम ८ अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको थियो । यस अवधिसम्म बाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानीदेखि लिएर जगेडा कोष राम्रो थियो । ८ अर्ब पुर्याउने चक्करमा बैंकहरुले आफ्नो कोष रित्याए । तिमात्र होइन उक्त अवधिमा हरेक वर्षको मुनाफालाई बोनस शेयर मार्फत पूँजीमा कन्भर्ट गरे । यसले गर्दा बैंकहरुको कोष निकै कमजोर रह्यो ।
अहिले ८ वर्ष पछि बाणिज्य बैंकहरुको जगेडा कोष बल्ल पूँजी भन्दा नाघ्न थालेको हो । यो कोष पनि कोभिड १९ पछि राष्ट्र बैंकले विगत चार वर्षमा लिएका कसिलो मौद्रिक नीतिको परिणाम हो । कतिपय बैंकहरुले लगातार तीन वर्षदेखि लाभांश वितरण गर्न पाएका छैनन् । कसैले लाभांश दिए पनि एकदमै कम मात्रै वितरण गर्न पाएका छन् । यसले अन्तत्वगत्वा जगेडा कोष भने असाध्यै राम्रो भएको छ ।
सर्वाधिक ठुलो जगेडा कोष राष्ट्रिय बाणिज्य बैंकको छ । चुक्ता पूँजी १५ अर्ब ६४ करोड रहेको राष्ट्रिय बाणिज्य बैंकको जगेडा कोषमा ३७ अर्ब २९ करोड जम्मा भइसकेको छ । जुन २३८ प्रतिशत बढि हो ।
दोस्रो धेरै जगेडा कोष नविल बैंकको छ । बैंकको जगेडामा ३० अर्ब ५ करोड र रिटेन अर्निङमा ४ अर्ब ९८ करोड सहित ३५ अर्ब ५ करोड रहेको छ । बैंकको चुक्ता पूँजी २७ अर्ब ६ करोड रहेको छ । पूँजीको तुलनामा जगेडा कोषको अनुपात १११ प्रतिशत छ ।
जगेडाको हिसावले तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक पर्छ । बैंकको जगेडा कोषमा ३१ अर्ब २९ करोड छ । रिटेन अर्निङ भने २ अर्ब ५१ करोड ऋणात्मक छ । चुक्ता पूँजी भने ३४ अर्ब १३ करोड छ । पूँजीको तुलनामा जगेडा कोषको अनुपात ९१ प्रतिशत छ ।
अनुपातकै हिसावले गर्दा नेपाल बैंकको १५७ प्रतिशत छ । नेपाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड छ भने जगेडामा २३ अर्ब २० करोड रहेको छ । एनआइसी एशिया बैंकको चुक्ता पूँजी १४ अर्ब ९२ करोड छ भने जगेडामा १७ अर्ब २० करोड छ । यस वर्ष यस्तो कोष अझै बढ्नेवाला छ । कर्जा विग्रिएका कारण वितरणयोग्य मुनाफा ऋणात्मक छ तर नियमित मुनाफाबाट भने बैंकले कोष थप बलियो बनाउदै गइरहेको छ ।
एभरेष्ट बैंकको १०४ प्रतिशत छ भने सिद्धार्थ बैंकको लगभगत बराबर जस्तै छ । सिद्धार्थको चुक्ता पूँजी १४ अर्ब ९ करोड रहेको छ भने जगेडा कोषमा १४ अर्ब ७ करोड रहेको छ । यस वर्ष अझ बढ्ने प्रक्षेपण गरिएको छ । राष्ट्र बैंकको कडाइको नीतिले बैंकहरुको कोष यस वर्ष अझ बलियो हुने निश्चित छ । सर्वाधिक धेरै चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २४ अर्ब ८९ करोड रहेको छ । यसरी बैंकको पूँजी र कोष सहित कुल ६१ अर्ब २ करोड रहेको छ ।
हेर्नुहोस् कुन बैंकको कोष कति
प्रतिक्रिया