शेयर बजारका सर्वाधिक ठुला १० कम्पनी, जसले कुल बजार पूँजीकरणको २४ प्रतिशत हिस्सा ओगट्छन्
- BFIS News
- 2024 Nov Sat 08:03
काठमाडौं । कुल बजार पूँजीकरणमा १० कम्पनीले मात्रै २४ प्रतिशत हिस्सा ओगटेका छन् । जसको शेयर मूल्यमा आउने परिवर्तनले नेप्से सूचकलाई तलमाथि पार्ने सामर्थ्य राख्छ । यसरी शेयर बजारमा सर्वाधिक धेरै बजार पूँजीकरण रहेका कम्पनीहरुमा नेपाल टेलिकम, नविल बैंक, नागरिक लगानीकोष, नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आइएमई बैंक, हिमालयन रिइन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल लाइफ रहेका छन् ।
नेपाल टेलिकम
नेपालको स्टक मार्केटमा बजार पूँजीकरणका हिसावले सर्वाधिक ठुलो कम्पनी नेपाल टेलिकम रहेको छ । चुक्ता पूँजीका हिसावले ग्लोबल आइएमई बैंक भएता पनि दोस्रो बजारको शेयर मूल्य र कम्पनीको चुक्ता पूँजीका हिसावले नेपाल टेलिकमको कुल बजार पूँजीकरण एक खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ ।
१८ अर्ब चुक्ता पूँजी रहेको नेपाल टेलिकमको शेयर मूल्य ९८० रुपैयाँ रहेको छ । दोस्रो बजारमा ८.४७ प्रतिशत मात्रै कारोबार गर्न मिल्ने नेपाल टेलिकमको ९१.५३ प्रतिशत शेयर नेपाल सरकार तथा नेपाल सरकार मातहतका अन्य संघ संस्थाको नाममा रहेको छ । कुनै समयमा नेपाल टेलिकमको शेयर मूल्यमा आउने उतारचढावले नेप्से सूचक तल माथि हुन्थ्यो । अहिले पनि कुल बजार पूँजीकरणमा टेलिकमको हिस्सा ४.०१ प्रतिशत रहेको छ ।
नविल बैंक
दोस्रो ठुलो कम्पनीमा नविल बैंक पर्छ । नविल बैंकको कुल बजार पूँजीकरण एक खर्ब ५५ अर्ब रुपैयाँ छ । बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रहेको छ । दोस्रो बजारमा बैंकको शेयर मूल्य ५७६ रुपैयाँ छ । पूँजी भन्दा कोष बलियो रहेको नविलको सर्वसाधारण समुहको शेयर पूँजी ४१.५६ प्रतिशत छ । यसमा पनि संस्थागत होल्डिङ धेरै भएको हुँदा तुलनात्मक रुपमा फ्लट कम हुन्छ । भोलिका दिनमा बैंकिङ सेक्टरमा बुल आउदा नविलको शेयर मूल्यले राम्रै उचाइ लिनेछ ।
नागरिक लगानीकोष
तेस्रो ठुलो कम्पनी नागरिक लगानीकोषको चुक्ता पूँजी भने ६ अर्ब ५ करोड मात्रै छ । कम्पनीको शेयर मूल्य भने २१८७ रुपैयाँ छ । सर्वसाधारण शेयरधनीहरु सँग २० प्रतिशत मात्रै शेयर पूँजी रहेकाले पनि कोषको शेयर मूल्य धेरै हुने गरेको छ । कोषको बजार पूँजीकरण भने एक खर्ब ३२ अर्ब रुपैयाँ छ ।
नेपाल पुनर्बीमा कम्पनी
बजार पूँजीकरणक हिसावले चौथो नम्बरमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भने ७९९ रुपैयाँ छ । कुनै समय १८ सयसम्म पुगेको नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ताको अझै पनि आकर्षण कायमै छ । चुक्ता पूँजी १३ अर्ब ४२ करोड रहेको नेपाल टेलिकमको १६ प्रतशित मात्रै सर्वसाधारण शेयरधनीहरु रहेका छन् । बाँकी ८४ प्रतिशत शेयर संस्थापक शेयरधनीको नाममा छ ।
ग्लोबल आइएमई बैंक
बजार पूँजीकरणका हिसावले ५ औ नम्बरमा रहेको ग्लोबलको चुक्ता पूँजी भने सूचिकृत कम्पनीहरु मध्येकै सर्वाधिक धेरै हो । ग्लोबलको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ छ भने बजार पूँजीकरण ९१ अर्ब ७६ करोड छ । बैंकको पब्लिक फ्लट धेरै भएकाले पनि दोस्रो बजारमा ओभर सप्लाइ छ । जसले गर्दा शेयर मूल्यमा धेरै मात्रामा सुधार हुन सक्दैन । बैंकको शेयर मूल्य २५४ रुपैयाँ मात्रै छ ।
हिमालयन रिइन्स्योरेन्स
पछिल्लो समय लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्न सफल हिमालयन रिइन्स्योरेन्स शेयर मूल्य ८७४ रुपैयाँ छ । हकप्रद र बोनस शेयरको चर्चाले कम्पनीको शेयरमा अधिक आकर्षण देखिएको हो । कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड छ भने बजार पूँजीकरण ९० अर्ब ८९ करोड रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
दोस्रो ठुलो चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्टको बजार पूँजीकरणका हिसावले भने ७ औं नम्बरमा रहेको छ । बैंकले केहि समयदेखि लाभांश वितरण गर्न नपाएका कारणले पनि बैंकको शेयरमा खासै आकर्षण छैन । यसले गर्दा अहिले बैंकको शेयर मूल्य २३६ रुपैयाँ मात्रै छ । बजार पूँजीकरण भने ८० अर्ब ५४ करोड छ । जगेडा कोष एकदमै राम्रो रहेकाले आगामी दिनमा बैंकको शेयर मूल्यले गति लिने लगानीकर्ताको अनुमान छ । मर्जर पछि बैंकको शेयर मूल्यमा खासै चार्मिङ आउन नसके पनि आगामी दिनमा बैंकले आफ्नो पुरानो लयलाई फर्काउने लगानीकर्ताहरुको विश्लेषण छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकको कुल बजारपूँजीकरण ७८ अर्ब १७ करोड छ । कम्पनीको शेयर पूँजी भने १२ अर्ब ९४ करोड छ । दोस्रो बजारमा बैंकको शेयर मूल्य ६०३ रुपैयाँ छ । प्रतिशेयर आम्दानीदेखि लिएर जगेडा कोषमा उल्लेख्य सुधार देखाउदै बएकाले पनि बैंकको शेयरमा लगानीकर्ताको आकर्षण छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुल बजारपूँजीकरण ६९ अर्ब ६३ करोड छ । चुक्ता पूँजी ९ अर्ब ४२ करोड मात्रै रहेको बैंकको शेयर मूल्य भने ७३८ रुपैयाँ छ । हरेक सूचकमा अव्बल बैंकको बजार पूँजीकरणले आगामी दिनमा अझै उचाइ लिने लगानीकर्ताहरुको विश्लेषण छ ।
नेपाल लाइफ
दसौ नम्बरमा रहेको नेपाल लाइफको बजार पूँजीकरण ६८ अर्ब २० करोड रहेको छ । कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड छ । शेयर मूल्य ८३१ रुपैयाँ रहेको नेपाल लाइफको शेयरमा पनि पछिल्लो समय खासै आकर्षण छैन । तर कम्पनीले गएको वर्ष पनि आकर्षक मुनाफा आर्जन गर्न सफल भएकाले यस वर्ष पनि आकर्षक लाभांश दिने विश्वास लिइएको छ । यसले गर्दा कम्पनीको बजार पूँजीकरण अझै बढ्न सक्नेछ ।
प्रतिक्रिया