नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीचको ‘जेटीसीसी’ बैठक काठमाडौंमा सम्पन्न
- BFIS News
- 2025 Nov 03 18:05
काठमाडौं। नेपाल राष्ट्र बैंक (NRB) र भारतीय रिजर्व बैंक (RBI) बीचको साझा समन्वय संयन्त्र Joint Technical Coordination Committee (JTCC) को नवौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ।
बैठकको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनको प्राविधिक समाधानका लागि ‘जेटीसीसी’ प्रभावकारी संयन्त्रको रूपमा स्थापित भएको बताए। उनले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन र सुपरिवेक्षण, भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासहरूको आदानप्रदान, प्राविधिक क्षमता अभिवृद्धि तथा नीति निर्माणको प्रभावकारिता वृद्धिमा ‘जेटीसीसी’को भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे।
गभर्नर पौडेलले आगामी दिनमा यो संयन्त्रमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान अझ सघन र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे। बैठकको उद्घाटन सत्रमा डेपुटी गभर्नर बमबहादुर मिश्रको पनि उपस्थिति थियो।
सोही अवसरमा भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक एवम् ‘जेटीसीसी’ संयोजक अर्णबकुमार चौधरीले संयन्त्र स्थापनापछि मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार तथा भुक्तानी कारोबारको सहजीकरण र वित्तीय समावेशीकरणको प्रवद्र्धनका क्षेत्रमा सकारात्मक परिणाम देखिएको बताए। उनले दुई केन्द्रीय बैंकबीचको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा अझ सबल र फलदायी हुने विश्वास व्यक्त गरे।
बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् ‘जेटीसीसी’ संयोजक राजनविक्रम थापाले स्वागत मन्तव्य राख्दै दुईपक्षीय हित प्रवद्र्धनका निम्ति संयन्त्रलाई आगामी दिनमा अझ सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए।
बैठकको दोस्रो सत्रमा दुवै बैंकका अधिकारीहरूबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो। साथै, आठौँ बैठकमा छलफल भएका एजेण्डाहरूको कार्यान्वयन अवस्थाको समेत समीक्षा गरिएको थियो।
बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू रेवतीप्रसाद नेपाल, विश्रुत थापा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल र निश्चल अधिकारीलगायतको सहभागिता रहेको थियो। आरबीआईका तर्फबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धकद्वय लथा राधाकृष्णन, सास्वतकुमार महापात्र र प्रबन्धक अपर्णा वकिल उपस्थित थिए।
बैठकपश्चात् कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति तथा भारतको भुक्तानी प्रणालीको विकासक्रमबारे प्रस्तुति दिएका थिए।
सन् २०१६ मे १३ मा दुई केन्द्रीय बैंकबीच बैंकिङ र वित्तीय प्रणालीसम्बन्धी सहकार्य तथा समन्वयका विषयमा उद्भव हुने समस्या समाधानका उद्देश्यले ‘Joint Technical Coordination Committee (JTCC)’ गठन गरिएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)






प्रतिक्रिया