कर्जा लगानी बढ्ने सिजनमै बैंकहरुले घटाए व्याजदर, नयाँ कर्जाको माग नहुँदा व्याज खर्च धान्नै मुस्किल
- BFIS News
- 2024 Nov Fri 12:15
काठमाडौं । बाणिज्य बैंकहरुले नयाँ कर्जाको उच्चतम माग हुने सिजनमै निक्षेपको व्याजदर घटाएका छन् । सामान्यतया दशै तिहार पछि कर्जाको माग उच्च हुने गर्छ । तर बैंकहरुले मंसिरमा कर्जाको माग नबढ्ने विश्लेषण गर्दै निक्षेपको व्याजदर घटाएका छन् । एक बैंकरले भने 'बैंकहरु निक्षेपको व्याजदर यो भन्दा पनि तल झार्ने अवस्थामा छन् तर भोलि कथम कदाचित कर्जाको माग बढिहाल्यो भने भएको निक्षेप जोगाइ राखौ भन्ने हो ।'
निक्षेपको अनुपातमा कर्जा विस्तार नहुँदा बैंकहरुको खर्च बढ्दै जादा यसको प्रत्यक्ष असर मुनाफामा देखिन थालिसकेको छ । एकातिर प्रवाह भएको कर्जा रिकभर हुने अवस्था छैन अर्को तर्फ ठुलो मात्रामा थुप्रिएको निक्षेपको व्याज खर्च धेरै छ ।
मंसिर महिनाको लागि बाणिज्य बैंकहरु मध्ये ११ वटाले व्याजदर घटाएका छन् भने ८ वटाले स्थिर राखेका छन् । बाणिज्य बैंक एउटाले मात्रै थोरै बढाएको छ । यसमा बैंकहरुले दिने उच्चतम व्याजदरमा हेरिएको छ । औषतमा एक महिनामा बाणिज्य बैंकहरुले ०.१९ प्रतिशतले घटाएका छन् । बाणिज्य बैंकहरुको निक्षेपको व्याजदर औषतमा ५.९९ प्रतिशत छ । कार्तिक महिनामा ६.१८ प्रतिशत थियो । बैंकहरुले हरेक महिना सुरु हुनु भन्दा अघिल्लो दिन व्याजदर निर्धारण गर्नु पर्छ । यस पछि महिनाभरी व्याजदर परिवर्तन गर्न पाउदैनन् ।
बैंकहरुको व्याजदर मूल्य बृद्धिदर भन्दा पनि तल झरिसकेको छ । समग्रमा व्यवसायीका लागि व्याजदर घट्नु सन्तोषजनक भए पनि आम सर्वसाधारणका लागि भने यो हितकर छैन । यस्तो अवस्थाले गर्दा सर्वसाधारणहरु बैंकको निक्षेपमा आकर्षित हुन सक्दैनन् । अर्को तर्फ व्याज आउने अन्य वैकल्पिक उपायहरु खोज्न थाल्छन् । तर अहिले बैंकहरुलाई के कुरामा ढुक्क छ भने सहकारी लगातार समस्यामा पर्दै जादा सहकारीको पैसा पनि बैंकमा आइरहेको छ र उच्चतम असुरक्षाका कारण सहकारीमा पनि सर्वसाधारणले पैसा जम्मा गर्न सकिरहेका छैनन् ।
व्याजदर बढ्नका लागि बैंकहरुमा निक्षेप तानातान हुनु पर्छ । जवसम्म उद्योग कलकारखानादेखि लिएर अन्य क्षेत्रमा कर्जाको माग हुनु पर्छ । अहिलेको अवस्थामा कसै सँग पनि लगानी गर्ने कन्फिडेन्स छैन । नेपालबाट विदेशिनेको संख्या दिनानुदिन बढिरहेको छ । कसैले पनि नेपालमा अवसर नदेख्दा लगानी गर्न खोजिरहेका छैनन् ।
जवसम्म लगानीको माहोल निर्माण हुन सक्दैन तवसम्म कर्जाको माग बढ्न सक्ने अवस्था रहदैन । अहिले मंसिरमै कर्जाको माग बढ्न नसक्ने बैंकहरुको प्रोजेक्सनले अवको एक वर्षसम्म कर्जाको माग बढ्न नसक्ने देखिन्छ । प्राय कर्जाको माग मंसिर पुस माघ फागुन र चैतमा उच्च हुन्छ । त्यस पछिका दिनमा खासै कर्जाको माग हुँदैन ।
नेपालमा हिउदमा घर निर्माण गर्नेदेखि लिएर जग्गाको राम्रो कारोबार हुन्छ । अर्को तर्फ सरकारले पनि परियोजनाहरु बनाउन थाल्छ । विकास खर्च विस्तारै बढ्दै जादा ठेकेदारले पनि कर्जा लिएर निर्माण सम्पन्न गर्न तर्फ लाग्छन् । बिडम्बना के छ भने अझै पनि गएको वर्ष काम गरेका ठेकेदारले पैसा पाउन सकेका छैनन् ।
सरकारको राजश्व भन्दा धेरै चालु खर्च हुन थालिसकेको छ । सरकारले पैसाकै अभावका कारण विकास खर्च गर्न सकेको छैन । यस्तै हालत बढ्दै जाने हो भने कर्मचारीलाई तबल भत्ता खुवाउन पनि हरेक वर्ष ठुलो मात्रामा ऋण लिनु पर्ने देखिइसकेको छ ।
हिजोका दिनमा घरजग्गामा लगानी गरेका ऋणीले कर्जा तिर्न सक्ने अवस्था छैन । भएको सम्पत्ती बिक्री गरेर तिर्छु भन्दा पनि राम्रो मूल्य पाएर बिक्री गर्न सक्ने अवस्था छैन । बैंकहरु आफै पनि कर्जा नउठ्ने धितोलाई लिलामीमा राख्ने अवस्थामा छैनन् ।
यस्तो अवस्थामा सरकारले लगानीकर्ताको कन्फिडेन्स बढाउने र लगानी बढाउने काम गर्नु पर्नेमा आफ्नै राजनीतिक स्वार्थमा रुमलिएर बसेको छ । हिजोका सहज वातावरणमा राजनीति गर्दा खासै असर देखिए पनि अहिलेको असहज अवस्थामा कुशल राजनीतिज्ञ र संकट व्यवस्थापन गर्ने नेत्रृत्वको अवस्यकता बढेको छ । जसको एकदमै खाचो छ ।
प्रतिक्रिया