सर्वाधिक लाभांश वितरण गर्ने युनिलिभरको भन्दा नबिल बैंकको धेरै ! युनिलिभरले एक अर्ब ५७ करोड दिदा नबिलको २ अर्ब ७० करोड
- अरुण सापकोटा
- 2024 Nov Sun 15:29
काठमाडौं । दोस्रो बजारमा सर्वाधिक धेरै लाभांश घोषणा गरेको युनलिभर नेपालको भन्दा नबिल बैंकले वितरण गर्न लागेको नगद लाभांश बापतको रकम धेरै रहेको छ ।
युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट अहिलेसम्मकै सर्वाधिक धेरै प्रतिशत १७१४ प्रतिशत अर्थात एक अर्ब ५७ करोड रुपैयाँ वितरण गर्यो । जवकी नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्दा २ अर्ब ७० करोड रुपैयाँ वितरण गर्दैछ । यद्यपी प्रतिशतका हिसावले युनिलिभरले वितरण गरेको नगद लाभांशलाई कम भन्न खोजिएको होइन ।
कहिल्यै बोनस शेयर वितरण नगर्ने युनिलिभरको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ मात्र छ । यहि पूँजीमा हरेक वर्ष कम्पनीले नगद लाभांश वितरण गर्दा सधै प्रतिशतमा लाभांश वितरण गर्ने कम्पनी मध्ये सर्वाधिक अगाडी रहदै आएको छ । युनिलिभरले सबैभन्दा कम लाभांश दिदा १०० प्रतिशत दिएको छ । त्यतिवेला पनि युनिलिभर सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीको अग्र स्थानमै थियो ।
बाणिज्य बैंकहरु मध्ये नबिल बैंक उत्कृष्ठ लाभाश दिने बैंक भित्र पर्छ । नेपाल राष्ट्र बैंकको पटक पटकको पूँजी बृद्धि योजनाका कारण तीन करोड रुपैयाँ पूँजी सहित स्थापना भएको नबिल बैंकको विद्यमान चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख ९८ हजार ४०० रुपैयाँ रहेको छ ।
नबिल बैंकले शेयरधनीलाई ४२ अर्ब ७६ करोड रुपैयाँ लाभांश वितरण गरिसकेको छ । अहिले प्रस्ताव गरेको नगद लाभांश पनि जोड्ने हो भने ४५ अर्ब ४६ करोड हुन जान्छ । शेयरधनीले नगद लाभांश मात्रै अहिले प्रस्तावित सहित २२ अर्ब ७५ करोड रुपैयाँ हुन जान्छ ।
तीन करोड रुपैयाँको नबिल बैंकले सर्वसाधारणलाई एक करोड ९७ लाख ४ हजार रुपैयाँको आइपिओ निष्काशन गरेको थियो यस बाहेक अहिलेसम्म शेयरधनीहरु सँग थप शेयर पूँजी अर्थात हकप्रद तथा एफपिओ समेत निष्काशन गरेको छैन । यस बाहेको चुक्ता पूँजीमा साविक नेपाल बंगालदेश बैंकको ५ अर्ब ८४ करोड र साविक युनाइटेड फाइनान्सको ३६ करोड ४२ लाख रुपैयाँ मिसिएको छ । यो बाहेक सबै पूँजी बैंकले बोनस शेयरबाटै जुटाएको हो ।
अव हेरौ युनिलिभर नेपालले पनि आफ्ना शेयरधनीलाई अर्बौ रुपैयाँ प्रतिफल प्रदान गरिसकेको छ । दोस्रो बजारमा शेयर सप्लाइ एकदमै कम भएकाले शेयर मूल्य धेरै माथि छ । यस वर्ष मात्रै कम्पनीको शेयर मूल्य ५६ हजार ८०५ रुपैयासम्म पुग्यो । यसको प्रमुख कारण कम्पनीले हरेक वर्ष दिने आकर्षक प्रतिफल र एकदमै कम शेयर सप्लाइ हो । युनिलिभर नेपालले हरेक वर्ष दिने नगद लाभांशले सम्बन्धित शेयरधनीहरुले राम्रो गर्जो टार्ने गरेका छन् । प्रायः दशै अगाडी साधारणसभा सम्पन्न गर्ने युनिलिभरको नगद लाभांशबाट शेयरधनीहरुले भव्य सँग दशै तिहार मनाउने गर्छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा युनिलिभरको जगेडा कोषमा ५ अर्ब २८ करोड रुपैयाँ छ । कम्पनीले तीन महिनामा ५२ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्यो । यस आधारमा युनिलिभरको प्रतिशेयर आम्दानी २०९६ रुपैयाँ हुन जान्छ । यहि अवधिमा नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ मुनाफा आर्जन गर्यो । यसका आधारमा नबिलको चुक्ता पूँजी केवल २९.८३ रुपैयाँ हुन जान्छ । बैंकको आजका दिनमा जगेडा कोषमा ३० अर्ब ५ करोड रहेको छ ।
शेयर बजारमा कम्पनीको शेयर मूल्य सप्लाइ र डिम्याण्डले सबैभन्दा धेरै प्रभाव पार्छ । यसले गर्दा एकदमै कम शेयर सप्लाइ भएकै कारण आज युनिलिभरको शेयर मूल्य ४६ हजार ६०० रुपैयाँ रहेको छ भने नबिलको ५६३ रुपैयाँ छ । पहिलो त्रैमाशिक अवधिमा नबिलको पिइ रेसियो २०.३८ गुणा रहेको छ जवकी युनिलिभरको २२.१ गुणा छ ।
प्रतिक्रिया