तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन, १ हजार २५ वटा संस्थाबाट ५ हजार २८६ प्रकारका पदलाई आधार
- BFIS News
- 2024 Nov Tue 19:13
काठमाडौं । नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांक गणनाको आधार वर्ष अद्यावधिक गरी २०८०/८१ कायम गरेको छ ।अर्थतन्त्रमा आएको संरचनात्मक परिवर्तनसँगै रोजगारीको स्वरुपमा आएको फेरबदलसमेतलाई ध्यानमा राखी सूचकांक निर्माणमा प्रयोग हुने भारांकलाई अद्यावधिक गर्न नयाँ आधार वर्ष परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि आर्थिक वर्ष २०६१/६२ लाई आधार मान्दै आएको थियो । तलब तथा ज्यालादर सूचकांक श्रमको मूल्य (तलब तथा ज्यालादर) मा आएको परिवर्तन मापन गर्ने विधि हो ।
नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांक गणनाको आधारवर्ष परिवर्तन गर्दै मासिक रुपमा हुँदै आएको गणनालाई त्रैमासिक बनाएको छ । तलब तथा ज्याला छोटो अवधिमा परिवर्तन नहुने भएकोले मासिक रुपमा गणना हुँदै आएको तलब तथा ज्याला सूचकांक त्रैमासिक रूपमा गणना गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
यो सूचक निर्माणका लागि राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जनशक्ति सर्वेक्षणलाई आधार बनाइएको छ । यसका लागि मोडिफाइड लास्प्रेयर्स विधि अपनाइएको राष्ट्र बैंकले जनाएको छ । यो सूचक निर्माणको पहिलो चरणमा प्रत्येक पेसाको तल्लो तहको सूचकांक निर्माण गरिएको छ । दोस्रो चरणमा उक्त सूचकांकलाई भारांकले गुणन गरी माथिल्लो तहमा प्रादेशिक, औद्योगिक, पेसागत र राष्ट्रिय सूचकांकको निर्माण गरिने उल्लेख गरिएको छ । नयाँ आधार वर्षमा आधारित सूचकांक औद्योगिक वर्गीकरण, पेसागत वर्गीकरण र प्रदेशगत वर्गीकरण गरी ३ वटा ढाँचामा रहेको छ ।
नयाँ सूचकांक गणना गर्दा सबै प्रदेशका ३० वटा जिल्लास्थित बजार क्षेत्रमा रहेका सबै औद्योगिक क्षेत्र तथा पेसा समावेश हुनेगरी १ हजार २५ वटा संस्थाबाट ५ हजार २८६ प्रकारका पदसँग सम्बन्धित तथ्यांक संकलन गरी सूचकांक निर्माण गरिएको जनाएको छ ।
यसअघिको सूचकांक गणना गर्दा ११ वटा बजार केन्द्रबाट तलबको हकमा ६ प्रकारका संस्था (निजामती सेवा, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, सेना तथा प्रहरी, शैक्षिक संस्था र निजी संस्थाहरु) तथा ज्यालादरको हकमा ३ प्रकारका औद्योगिक वर्गको ज्यालादर (कृषि, उत्पादन र निर्माण क्षेत्र) गरी ९ वटा समूहअन्तर्गत तथ्यांक संकलन गर्ने गरिएको थियो ।
नयाँ आधार वर्षमा आधारित सूचकांकबाट तथ्यांक प्रयोगकर्तालाई थप सहज हुनुका साथै अन्य मुलुकसँग अन्तर्राष्ट्रियस्तरमा समेत तुलना गर्न सजिलो हुनेछ । साथै नयाँ सूचकांक थप बृहत्, विश्वसनीय, प्रयोगकर्तामैत्री रहने र आय तथा उत्पादनको लागतसम्बन्धी निर्णय लिन सहयोगी हुने अपेक्षा राष्ट्र बैंकको छ।
प्रतिक्रिया