Nepal Life

समृद्धि, सुख र बैंकिङ क्षेत्र, डा. प्रकाश कुमार श्रेष्ठको लेख

Global Ime detail Page
  • डा. प्रकाश कुमार श्रेष्ठ
  • 2024 Nov Sun 05:42
समृद्धि, सुख र बैंकिङ क्षेत्र, डा. प्रकाश कुमार श्रेष्ठको लेख
Shikhar detail

विषय प्रवेश

नेपालको संविधान २०७२ जारी भएपछि नेपाल संघीयगणतान्त्रिक मुलुक भएको छ । संविधान जारी भएपछिसंघीय स्वरूपमा २०७४ सालमा तीन तहको सरकारकालागि निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट संघीयतहमा करिब दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारले दीर्घकालीन सोचसहितको पन्ध्र्रौँयोजना तर्जुमा गरेको थियो । उक्त योजनाले दीर्घकालीनसोचका रूपमा समृद्ध नेपाल, सुखी नेपालीलाई लिइएको थियो ।

NIMB

उक्त योजनाअनुसार दीर्घकालीन सोचको अर्थ “समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितकोसमान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्चजीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक” भन्ने रहेको छ । सोह्रौँ योजनाले पनि सारभूत रूपमावि.स. २१०० सम्म हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई नैआत्मसात् गरेको छ । उक्त दीर्घकालीन सोच हासिल गर्न बैकिङ क्षेत्रले कसरी भूमिका खेल्न सक्छ भन्ने सन्दर्भमा योलेख केन्द्रित रहेको छ ।

समृद्ध नेपाल, सुखी नेपाली

पन्ध्रौँ योजनाले समृद्धिलाई परिभाषित गरेको छ । यसअनुसार समृद्धिले चारवटा आधारलाई जनाउने देखाएकोछ । पहिलो, सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघनअन्तरआबद्धता, दोस्रो मानवपुँजी निर्माण तथा सम्भावनाकोपूर्ण उपयोग अनि तेस्रो उच्च एवम् दिगो उत्पादन तथा उत्पादकत्व र चौथो, उच्च र समतामूलक राष्ट्रिय आय । त्यस्तै, सुखका लागि ६ वटा आधारहरू लिइएका छन् ।पहिलो परिष्कृत तथा मर्यादित जीवन, दोस्रो सुरक्षित, सभ्यर न्यायपूर्ण समाज, तेस्रो स्वस्थ र सन्तुलित पर्यावरण,चौथो असल सुशासन, पाँचौँ सबल लोकतन्त्र र छैटौँराष्ट्रिय एकता, सुरक्षा र सम्मान ।

आर्थिक विकास र सम्पन्नताले समृद्धि ल्याउन सक्छ तरयसैले मात्र सुख नल्याउन पनि सक्छ । समृद्धिका लागिउत्पादन र उत्पादकत्वको अभिवृद्धि आवश्यक पर्दछ जसकाकारण आयमा वृद्धि ल्याउन सकिन्छ । उच्च आयकोयथासम्भव समान वितरणले समाजमा सामञ्जस्यताल्याउने गर्दछ । उच्च आयसँगै समाज सुरक्षित र सभ्यभएन भने बस्न लायक हुँदैन । उत्पादन र उत्पादकत्ववृद्धिसँगै आय बढाउन मानवीय र भौतिक पुँजी आवश्यकपर्दछ । यसका लागि मानवीय पुँजी र भौतिक पूर्वाधारमालगानी बढाउनुपर्दछ । भौतिक पूर्वाधारका अतिरिक्त प्रविधिर उपकरणहरूमा पनि लगानी बढाउनुपर्ने हुन्छ ।

सक्षमजनशक्ति र प्रविधिको प्रयोगले नै उत्पादन र उत्पादकत्वबढाउन सहयोग पुग्दछ ।समृद्धिले सुख वा खुसी प्राप्त गर्ने आधार दिन्छ तर सुखर खुसी मनसँग जोडिएका विषय हुन् । पूर्वीय दर्शनमाभौतिकताले भन्दा आध्यात्मिकताले सुख र खुसी दिने पनिठानिन्छ तापनि यसो भन्दैमा गरिबी, अभाव र दुःखमा मानिस सुखी र खुसी हुन पक्कै सक्दैन । मुख्यतया मानवीय जीवनका आधारभूत भौतिक आवश्यकताहरू पूरा हुनुपर्दछ । त्योसँगै योजनाले परिलक्षित गरे झै परिष्कृत र मर्यादितजीवनको आवश्यकता पर्दछ ता कि मानिसले समाजमा अपहेलित हुन नपरोस् र सम्मानित जीवन बाँच्न सकोस् ।

भौतिक रूपमा सम्पन्न भए पनि समाजमा मुद्दामामिला,झैझगडा भइरहे बस्नलायक नहुन सक्छ तर अन्याय भएकैअवस्थामा न्याय सजिलै पाउन सक्ने र कसैले अन्याय गर्ननसक्ने अवस्थाले सुख सिर्जना गर्न सक्छ । भौतिक उत्पादन र विकासले पर्यावरणमा नकारात्मकअसर पार्दछ । विकसित देशहरूमा भौतिकताको चरमविकासले गर्दा अहिले जलवायु परिवर्तन भई थुप्रै विनाशपनि हुने गरेको छ । भौतिकतातर्फको बढी आसक्तिलेगर्दा वातावरण प्रदूषित भई बासस्थानहरू बस्नलायक हुनछाडेका थुप्रै उदाहरणहरू पाइन्छन् ।

दूषित वातावरणलेगर्दा मानिसहरूको स्वास्थ्य बिग्रिन जाँदा पक्कै पनिमानिसहरू सुखी र खुसी रहन सक्दैनन् । यसले अनावश्यकखर्च बढाउँछ भने मानिसको जीवनमा पीडा ल्याउँछ ।साथै, सहज र गुणस्तरीय स्वास्थ्य सुविधाले मानवीय पुँजीनिर्माणमा सहयोग पुर्याउछ । अस्वस्थ र रोगी व्यक्तिआर्थिक गतिविधिमा सक्रिय भई लाग्न सक्दैन ।

समाजमा असल वातावरणका लागि असल शासनको पनिआवश्यकता पर्दछ । व्यक्तिगत फाइदाका लागि सत्ता रशक्तिको दुरूपयोगले नै समाजमा भेदभाव र असमानतासिर्जना गर्दछ । कानुनी शासन नहुने हो भने मानिसहरूलेसुरक्षा महसुस गर्न सक्दैनन् । समाजमा सबै मानिसहरूअसल आचरणका हुन्छन् भन्ने छैन । गलत आचरण भएका मानिसहरूले समाजको वातावरण खल्बल्याउन सक्छन् ।

तसर्थ, कानुनी राज्यको आवश्यकता पर्दछ ताकि खराबकाम गर्ने मानिस दण्डित हुन पुगोस् ।असल शासनका लागि लोकतन्त्र बलियो हुनुपर्दछ भन्नेमान्यता रहेको छ । खासगरी सत्ता र शक्तिको दुरूपयोगगरेर व्यक्तिगत फाइदा लिने अनि अरूमाथि अन्याय रअत्याचार गर्ने मानवीय प्रवृत्ति हाबी हुन्छ । विभिन्न देशर नेपालमै पनि विगतमा निरङ्कुश शासन हुँदा सत्ता रशक्तिमा निश्चित वर्ग र तप्काका मानिसहरूको मात्र पहुँचहुने हुँदा ठूलो तप्कालाई शोषण गर्ने सुनौलो अवसर मिलेको थियो । त्यसैले विश्वमा तुलनात्मक रूपमा लोकतान्त्रिकव्यवस्थालाई रुचाइन्छ ।

आवधिक रूपमा हुने निर्वाचनलेगर्दा कुनै व्यक्ति वा समूहले जनतामाथि अन्याय र अत्याचारगरिरहन सक्दैन । मतदाताहरू असन्तुष्ट भएमा शासनगर्नका लागि पर्याप्त मत नदिन सक्छन् तर मतदानकोव्यवस्थाले मात्र लोकतान्त्रिक प्रणाली सबल हुन्छ भन्नेनहुन पनि सक्छ । मतदाताहरूको चेतना, बलियो कानुनीव्यवस्था र शक्तिसन्तुलनको स्थितिले लोकतान्त्रिकव्यवस्थालाई मजबुत बनाउने काममा सघाउँछ ।मानिसहरू खुसी र सुखी हुनका लागि देशमा अमनचयनपनि कायम हुनुपर्दछ ।

देशभित्र मात्र होइन बाह्य देशहरूसँगपनि सन्तुलित सम्बन्धहरू कायम गर्दै भैmझगडामुक्त भईसुरक्षित पनि हुनुपर्दछ । आन्तरिक द्वन्द्घ वा बाह्य युद्धलेपक्कै पनि बस्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना गर्नसक्दैन । यसरी समृद्ध नेपाल र सुखी नेपालीले बहुआयामिकपक्षहरूलाई समेटेको छ । सायद यो भौतिक र मानवीयविकासको उच्चतम अवस्था हो अनि अभाव र समस्यारहितअधिकतम मानसिक सन्तुष्टि प्राप्त हुने अवस्था हो ।

बढीभन्दा बढी भौतिक उपयोगतर्फ अग्रसर वर्तमान समाजर विश्वमा मानसिक सन्तुष्टिको पर्याप्तता कहाँ गएरपूरा हुन्छ भनेर भन्न नसकिने अवस्था पनि छ । तथापिकम्तीमा जीवन बाँच्नका लागि देशका सबै नागरिकहरूकालागि आर्थिक अभावरहित अवस्था सिर्जना हुन सकेमा पनिनेपालले लिएको दीर्घकालीन सोच हासिल गर्न सहयोगपुग्ने देखिन्छ । बैंकिङ क्षेत्रले कम्तीमा आर्थिक अभावकाअवस्थाबाट मुक्ति दिन सहयोग पुर्याउन सक्छ । यसमा बैंकिङ क्षेत्रले कसरी सहयोग पुर्याउन सक्छ भन्ने सबालबारेतल चर्चा गरिएको छ ।

समृद्धि र सुखको वर्तमान अवस्था

पन्ध्रौ योजनाले लिएको दीर्घकालीन सोच वास्तवमा अतिउच्चतम र आदर्शतम अवस्था हो । कतिपय अवस्थामातथ्याङ्कीय सूचकमा यो मापन गर्न पनि सकिँदैन । नयाँ राजनीतिक परिवेशमा दीर्घकालीन महत्वका साथ तर्जुमा गरिएको पन्ध्रौँ योजना कार्यान्वयन सुरु भएकै आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी आयो जसले गर्दा उक्तआर्थिक वर्षको आर्थिक वृद्धिदर २.४ प्रतिशतले नकारात्मक रह्यो ।

कोरोनाका प्रभावमा तीन वर्षसम्म कुनै न कुनैरूपमा रह्यो । कोभिड १९ को प्रभावबाट आर्थिक क्षेत्रलाईबचाउन लिएका लचक नीतिहरूले गर्दा दुई वर्षपछि बाह्यक्षेत्रमा दबाब सिर्जना गर्यो जसका लागि नीतिगत कडाइ गर्नु पर्यो । दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्नखोजेको पन्ध्रौँ योजनाका अवधिमा आर्थिक वृद्धिदर २.८ प्रतिशतमात्र रहन गयो । तापनि प्रति व्यक्ति आम्दानीआधार वर्ष २०७५/७६ मा १२१६ अमेरिकी डलर रहेकामाअन्तिम वर्ष २०८/८१ मा आइपुग्दा १९.७ प्रतिशतले बढेर १४५६ अमेरिकी डलर पुग्यो तापनि तुलनात्मक रूपमा योआय दक्षिण एसियाकै कममध्येमा पर्दछ ।

आर्थिक वर्ष २०७९/८० मा सम्पन्न नेपाल जीवनस्तरसर्वेक्षण चौथोका अनुसार गरिबीको मापनलाई नेपालजीवनस्तर सर्वेक्षण तेस्रो (२०६७/६८) कै आधार मान्ने होभने २०७९/८० मा गरिबीको दर ३.५ प्रतिशत झरेको छ । तर १२ वर्षका अवधिमा उपभोगको संरचनामा व्यापकपरिवर्तन आएको छ, मूल्यवृद्धि भएको छ र जीवनस्तरमाकेही सुधार देखिएको छ । त्यसैले नयाँ गरिबीको रेखाका रूपमा रु. ७२९०८ कायम गर्दा निरपेक्ष गरिबीको रेखामुनिरहेको जनसङ्ख्या २०.३ प्रतिशत रहेको पाइएको छ ।

यसरी गरिबी घट्दै गए पनि अझै उच्च रहेको छ । यसले करिब ६० लाख जनसङ्ख्या गरिबीका अवस्थामा रहेको देखिन्छ । गरिबीका अवस्थामा पक्कै पनि समृद्धि र सुख प्राप्त नहुनसक्छ । समृद्धिका केही अन्य सूचकहरूलाई हेर्दा पन्ध्रौ योजनाले लक्ष्य गरे बमोजिम नभए पनि सुधारोन्मुख चाहिँ रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा १२५० मे.वा भएको विद्युत्उत्पादन २०८०/८१ मा साढे दुई गुणा जतिले बढेर करिब३२४३ मे.वा. रहेको छ । सो अवधिमा विद्युत्मा पहुँच प्राप्तजनसङ्ख्या ८८ प्रतिशतबाट बढेर ९८ प्रतिशत पुगेको छ ।आर्थिक वर्ष २०८०/८१ देखि नेपालले आयातभन्दा बढीविद्युत् निर्यात गर्न सकेको छ । राष्ट्रिय र प्रादेशिक लोकमार्गआर्थिक वर्ष २०७५/७६ मा ७८९० किमी रहेकामा झन्डैदोब्बरले बढेर १४७५५ किमी पुगेको छ । करिब २५ हजारकिलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ भने ७०प्रतिशत जनसङ्ख्यामा फोर जी इन्टरनेट सेवा पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालीहरूको औसत आयु ७०.५ वर्ष रहेकामा २०८०/८१ मा ७१.३ वर्ष पुगेको छ । साक्षरता दर (१५ वर्षमाथि) उक्त अवधिमा ५८ प्रतिशतबाटबढेर ७१.२ प्रतिशत पुगेको छ । आधारभूत खानेपानी सेवापुगेको जनसङ्ख्या ८९ प्रतिशतबाट बढेर ९६.४ प्रतिशतर आधारभूत सरसफाइ ९५.५ प्रतिशत जनङ्ख्यामा पुगेकोछ । भौतिक प्रगति भए पनि आन्तरिक रोजगारी पर्याप्त सिर्जनाहुन नसक्दा कृषि र निर्माणमा सृजित रोजगारीमा युवाहरूलेरुचि नराख्दा लाखौंको सङ्ख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारीको आम्दानीलेगरिबी घटाउन अनि शिक्षा र स्वास्थ्य सुविधा प्राप्त गर्नसफल भए पनि कति परिवारहरू कति सुखी र खुसीछन् भन्ने कुरा आउन सक्छ । कोभिडपछि अलि बढीनिराशा बढेको भने अवश्यै हो । सञ्चार माध्यमको विकासर विस्तारले गर्दा सूचनाको सहज पहुँचसँगै विकसितदेशहरूका तुलनामा नेपालको विकासको अन्तरलाई लिएरयुवाहरू बढी असन्तुष्ट भएको देखिन्छ । समृद्धिका लागि उल्लेख्य परिश्रम, मेहनत, त्याग, लगनशीलता, क्षमता अभिवृद्धि र उद्यमशीलता चाहिने कुरालाई भन्ने युवाहरूले नजर अन्दाज गरेको देखिन्छ ।

समृद्धि र सुख हासिल गर्ने सबालमा बैंकिङ क्षेत्रको भूमिका

बैंकिङ क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको हुन्छ । नेपालमा आर्थिक र वित्तीय उदारीकरण पश्चात बैंकिङ क्षेत्र तीव्र रूपमा विस्तार हुन पुगेको छ । नेपालमा आधुनिक बैंकिङ क्षेत्रको विकास वि.स. १९९४ मा नेपाल बैंक लिमिटेड स्थापना भएपछि भएको पाइन्छ । यसरी नेपालमा बैंकिङ क्षेत्रको सुरुवात राणा शासनदेखि नै भएकोथियो । नेपालको बैंकिङ क्षेत्रले विभिन्न राजनीतिक व्यवस्थार कालखण्ड पार गर्दै आएको छ ।

पछिल्लो समय विभिन्न खालका राजनीतिक परिवर्तन पश्चात् मुलुक अहिले संघीयगणतान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै आर्थिक समृद्धिका मुद्दाले प्राथमिकता पाउन थालेको छ । माथि उल्लेख गरे झैँ नेपाल अहिले समृद्धि र सुखप्राप्तितर्फ अग्रसर रहेको छ । यस अवस्थामा नेपालको बैंकिङ क्षेत्रले उक्त सोच हासिलगर्नेतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ र गर्नुपर्नेदेखिन्छ ।बैंकिङ क्षेत्रको महत्वपूर्ण कार्य भनेको वित्तीय मध्यस्थता गर्नु हो ।

बचतकर्ताहरूबाट बचत सङ्कलन गरेरलगानीकर्ताहरूका लागि वित्तीय साधन उपलब्ध गराउनुनै वित्तीय मध्यस्थताको काम हो । आफूसँग पर्याप्तबचत नभए पनि बैंकिङ क्षेत्रबाट ऋण लिएर आर्थिक गतिविधि बढाउनका लागि लगानी गर्न सकिन्छ । धेरै बचतकर्ताहरूबाट सानो सानो रकम सङ्कलन गरेर बैंकिङ क्षेत्रले ठूलो र जोखिमयुक्त लगानीका लागि वित्तीय साधन उपलब्ध गराउँछ ।

वित्तीय मध्यस्थताको कामले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण हुन सघाउँछ । पुँजी निर्माणलेनै आर्थिक वृद्धि बढाउँछ । आर्थिक वृद्धि भएमा मात्र प्रतिव्यक्ति आम्दानी बढ्ने गर्दछ । बचत परिचालन र लगानीगर्दै हुने पूँजी निर्माणले बढाउने आर्थिक वृद्धिले बचत तथा लगानीकर्ता दुवैलाई फाइदा पुर्याउछ । बचतकर्ता ब्याजका रूपमा आम्दानी प्राप्त गर्दछ भने लगानीकर्ताले लगानी गरेर वस्तु तथा सेवाको थप उत्पादन गरेर कमाउन सक्छ । आम्दानी बढेमा मात्र मानिस समृद्ध र सुखी बन्नसक्छ ।

बढ्दो आर्थिक गतिविधिले गर्दा सरकारले बढी राजस्वसङ्कलन गर्न सक्छ जसले गर्दा सरकारले भौतिकपूर्वाधारको निर्माण र शान्ति सुरक्षा कायम गर्न सक्छ ।बैंकिङ क्षेत्र अर्को महत्वपुर्ण काम भनेको भुक्तानी प्रणाली व्यवस्थित गर्नु हो । अर्थतन्त्रका प्रायः सबै आर्थिकक्रियाकलापहरूको भुक्तानीका लागि कुनै न कुनै रूपमाबैंकिङ प्रणाली प्रयोगमा आउँछ । बैंकिङ प्रणालीको केन्द्रीयसंस्थाका रूपमा रहेको केन्द्रीय बैंकले छाप्ने मुद्राले आधारभूतरूपमा भुक्तानी प्रणालीको काम गरेको हुन्छ भने बैंकिङप्रणालीले भुक्तानीका लागि चेक, प्रतीत पत्र जस्ता अन्यउपकरणहरू प्रयोगमा ल्याएका छन् । सूचना प्रविधिकोविकासले गर्दा अहिले भुक्तानीका लागि डिजिटल बैंकिङप्रयोग बढ्दो छ । भुक्तानी प्रणालीको विकासले आर्थिक गतिविधिमा विशिष्टता हासिल गर्न सहयोग पुर्याउछ ।

वस्तु विनिमयमा जस्तो वस्तु तथा सेवाको विनिमयका लागिहुने जटिलता आधुनिक भुक्तानी प्रणालीमा हुँदैन । भुक्तानी प्रणालीको सहजताले गर्दा विगतमा जस्तो आफूलाई चाहिने अधिकांश वस्तु आफै उत्पादन गर्नुपर्ने अवस्था रहेको छैन । आर्थिक क्रियाकलापको कुनै क्षेत्रमा विशिष्टता हासिल गर्नभुक्तानी प्रणालीले सहयोग पुर्याउनेहुँदा अर्थतन्त्रमा धेरैर विभिन्न प्रकारका वस्तु तथा सेवा उत्पादन र उपभोग गर्न सकिने हुन्छ । भुक्तानी प्रणालीको उपलब्धताले गर्दाविभिन्न खालका बजारहरूको विकास हुन्छ । यी सबैकुराले आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउनेहुँदामानिसहरूको आम्दानी बढ्न पुग्छ ।

सहज ढङ्गले आर्थिकक्रियाकलाप गरेर आम्दानी गर्दै आफ्ना आवश्यकताहरू पूरागर्न सकिने हुँदा मानिस सुखी र खुसी हुन सक्छ ।मानिसहरूले बैंकिङ क्षेत्रबाट आर्थिक गतिविधिमा लगानी गर्नमात्र ऋण लिँदैनन् । आफूसँग पर्याप्त आम्दानी तथा बचतनभएका अवस्थामा मानिस ऋण लिएर शिक्षा र स्वास्थ्यउपचारमा पनि खर्च गर्न सक्छ । शिक्षा र स्वास्थ्यमा गरिनेखर्च मानवीय पुँजीले निर्माणमा सहयोग पुर्याउछ । शिक्षिततर त्यसमा पनि प्राविधिक शिक्षा हासिल गर्दा मानिसकोक्षमता र उत्पादकत्व बढ्दछ । क्षमतावान् व्यक्तिले नैबजारमा उच्च आय हुने रोजगारी पाउन सक्छ भनेविशिष्टीकृत ढङ्गले आर्थिक क्रियाकलापहरू गर्न सक्छ ।

परम्परागत कृषि तथा साना कुटीर उद्योगबाहेक आधुनिकनेपाल बैंक लिमिटेड, वार्षिकोत्सव विशेषाड्ढ, २०८१ ठढप्रकृतिका आर्थिक गतिविधि गर्न शिक्षा नभई हुँदैन । शिक्षाहासिल गर्न पनि खर्च लाग्ने हुन्छ । बैंकिङ क्षेत्रले प्रदानगर्ने ऋणले शिक्षा हासिल गर्न लाग्ने खर्चको जोहो हुनसक्छ । त्यस्तै, आफूसँग बचत नभएका अवस्थामा स्वास्थ्यउपचारका लागि प्राप्त हुने ऋणले स्वास्थ्य सेवा प्राप्त गरीव्यक्ति पुनः आर्थिक गतिविधिमा सक्रिय हुन सक्छ । बैंकिङ क्षेत्रले आफ्नो कार्यले गर्दा समृद्धिका माथि उल्लिखित चार आधारमध्ये तेस्रो आधारले उच्च र दिगो उत्पादनतथा उत्पादकत्व बढाउन प्रत्यक्ष रूपमा सहयोग पुर्याएको हुन्छ ।

आर्थिक गतिविधिलाई आधुनिक र ठूलो आकारमालैजान बैंकिङ क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ । सानादेखिठूला उद्योग धन्धा र व्यवसायहरू गर्न बैंकिङ क्षेत्रको कर्जाले ठूलो सहयोग पुर्याइरहेको छ । पछिल्लो समय नेपालमा जलविद्युत् आयोजनाहरूको विस्तार तीव्र रूपमा भइरहेको छ । यिनीहरूको विकास र विस्तारका लागि बैंकिङ क्षेत्रलेठूलो भूमिका खेलेको छ । माथि चर्चा गरे झैँ  बैंकिङ क्षेत्रले समृद्धिको दोस्रो आधारमानवपुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग गर्नपनि सहयोग पुर्याउछ ।

त्यस्तै, समृद्धिको चौथो आधारउच्च र समतामूलक राष्ट्रिय आय हासिल गर्न आंशिकरूपमा सहयोग पुर्याउछ । आर्थिक गतिविधिको विस्तारर विशिष्टतासँगै आय उच्च हुन सक्छ तर बैंकिङ क्षेत्रआफैले आय समतामूलक बनाउन भने सक्दैन । समृद्धिकोपहिलो आधार सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघनअन्तरआबद्धता हासिल गर्न पनि अप्रत्यक्ष रूपमा मात्रसहयोग पुर्याउछ । बैंकिङ क्षेत्रले आर्थिक गतिविधि बढाउँदासरकारले राजस्व सङ्कलन गरी पूर्वाधार निर्माणमा खर्चगर्न सक्छ ।

बैंकिङ क्षेत्रले सुखका ६ आधारमध्ये पहिलो परिष्कृत तथामर्यादित जीवन र तेस्रो स्वस्थ र सन्तुलित पर्यावरण हासिलगर्न सहयोग पुर्याउनसक्छ । आर्थिक गतिविधिहरू बढाईआम्दानी बढ्न पुग्दा मानिसहरूको जीवन परिष्कृत रमर्यादित बन्न सक्छ । आय बढ्दा नै मानिसको जीवनमर्यादित र सम्मानित हुन पुग्छ । अझ देश धनी बन्न सकेविश्वमा नै त्यसको इज्जत बढ्ने गरेको पाइन्छ । त्यस्तै,सुखको तेस्रो आधार हासिल गर्न पनि बैंकिङ क्षेत्रले भूमिकाखेल्न सक्छ । बैंकिङ क्षेत्रले कर्जा लगानी गर्दा वातावरणनबिगार्ने र बचाउन सहयोग पुर्याउने परियोजना तथाव्यवसायलाई प्राथमिकता राख्न सक्छ ।

बैंकिङ क्षेत्रले ऋण नदिए वातावरण प्रदूषण गराउने उद्योगधन्धा तथा व्यवसाय सञ्चालनमा नआउन सक्छन् । बैंकिङ क्षेत्रले कर्जा लगानीगर्दा वातावरणीय पक्षलाई हेर्नुपर्ने गरी नियामकीय व्यवस्थाहरू समेत भएका छन् ।समृद्धिका लागि बैंकिङ क्षेत्रले सशक्त भूमिका खेल्न सक्नेभए पनि समग्रमा हेर्दा नेपालमा जुन ढङ्गले बैंकिङ क्षेत्रकोविकास र विस्तार भएको छ सोअनुरूप आर्थिक वृद्धिदर भने बढ्न सकेको छैन । आर्थिक वृद्धिदर कम हुँदा अपेक्षागरेअनुसार आर्थिक समृद्धि हासिल हुन सकेको छैन ।

पछिल्लो १० वर्षलाई हेर्दा मात्र पनि औसत मुद्रास्फीति समायोजित निजी क्षेत्रतर्फ प्रवाहित औसत कर्जा वृद्धिदर १०.६ प्रतिशतहुँदा आर्थिक वृद्धिदर भने ४.२ प्रतिशत मात्र रहेको छ । यसले नेपालमा बैंकिङ क्षेत्रको कर्जा वृद्धि उत्पादन र उत्पादकत्वबढाउनतर्फ त्यति केन्द्रित हुन सकेको छैन । अझै पनि एकातर्फ कर्जाको ठूलो हिस्सा सीमित ऋणीहरूमा केन्द्रितछ भने अर्कातर्पm प्रवाहित कर्जा धेरै उपभोग र आयात तर्फ प्रवाहित छ । कर्जा प्रवाहले उत्पादन बढाउने भन्दाघरजग्गा जस्ता सम्पत्तिको मूल्य बढाउन सहयोग पुर्याएको छ । घर जग्गाका मूल्य उच्च दरले बढेकाले सामान्य आम्दानी हुनेले सहरी क्षेत्रमा आधारभूत वासस्थानकालागि पनि घरजग्गाको व्यवस्था गर्न गाह्रो स्थिति रहेकोछ ।

कर्जा प्रवाहअनुरूप आर्थिक वृद्धिदर बढ्न नसक्नुमा थुप्रैकारणहरू रहेका छन् । पहिलो त सोअनुरूप कर्जा प्रवाह भएको छैन, दोस्रो सोअनुरूप कर्जा प्रवाहका लागि आवश्यक वातावरण रहेको छैन । बढ्दो उपभोगमुखी संस्कृति, उच्चलागत अर्थतन्त्र, भूपरिवेष्ठितता, छिमेकी देशहरूसँग कृषि रऔद्योगिक उत्पादनमा प्रतिस्पर्धा गर्न कठिनाइ आदिले गर्दाकर्जाको वृद्धिदर र आर्थिक वृद्धिबीच तादात्म्य मिल्न सकेको छैन । कर्जा प्रवाहको दरअनुरूप उत्पादन, उत्पादकत्व ररोजगारी बढ्न नसक्दा धेरै युवाहरू वैदेशिक रोजगारीमा गएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा बाध्यताले सुरु भएको वैदेशिक रोजगारीले अहिले कतिपय अवस्थामा संस्कृतिको रूप धारण गरेको छ । वैदेशिक रोजगारीका थुप्रै सकारात्मक पक्ष भए पनि समाजमा उच्च बसाइँसराइ, पारिवारिक बिछोड, काम कम गर्ने र उपभोग गर्ने संस्कृंति बढाउने सबालमा वैदेशिक रोजगारीले भूमिका खेलेको छ । वैदेशिकरोजगारीले उपभोग गर्ने क्षमता बढाएर घरपरिवारमा केहीहदसम्म सुख त ल्याएको छ तर पारिवारिक विखण्डन,बिछोड, बेमेल, असमझदारी बढाउन सहयोग पुर्याएको छजसले केही दुःख पनि सिर्जना गरेको छ ।

कर्जाको सही प्रयोगले आर्थिक वृद्धिसँगै समृद्धि ल्याउनसहयोग पुर्याउनसक्छ तर कर्जाको दुरूपयोग वा कर्जा व्यवस्थापन सही ढङ्गले नभएमा भने कर्जा भुक्तानी समयमा गर्न नसकेर कालो सूचीमा पर्न सकिने र घर परिवार व्यवस्थापन कठिन भई सुखको अभिलाषामा दुःख निम्तिने पनि देखिएको छ । कर्जा लिएर सही ढङ्गले प्रयोग गर्न सक्दा कर्जा भुक्तानीको बोझ सम्हाल्न नसकेका थुप्रै उदाहरण समाजमा पाउन सकिन्छ । बैंकिङ क्षेत्रले पुँजी निर्माणमा सहयोग पुर्याउदै आर्थिक समृद्धिलाई सहयोग पुर्याउदै गर्दा बैंकिङ क्षेत्र आफै पनि सबल र सक्षम हुनुपर्ने हुन्छ ।

बैंकिङ संस्थाले न्यूनतमको नाफा कमाई आफै पनि सबल हुन सक्नु पर्छ क्षेत्रमा सबल र सक्षम लगानीकर्ता आकर्षित भई जोखिम व्यवस्थापन गर्ने क्षमता राख्नुपर्दछ । पछिल्लो समय बैंकिङक्षेत्रको नाफा कम भइरहेको, निष्कृय कर्जा अनुपात रगैरबैंकिङ सम्पत्ति बढिरहेको अवस्था छ । बैंकिङ क्षेत्र अस्थिरहुन गएमा भने आर्थिक समृद्धि र सुख दुवै नकारात्मकरूपमा प्रभावित हुने हुन्छ ।

निष्कर्ष

पन्ध्रौं योजनादेखि नेपालले दीर्घकालीन सोचका रूपमा समृद्ध नेपाल र सुखी नेपालीलाई अङ्गीकार गरेको छ । उक्त सोच हासिल गर्न अर्थतन्त्रमा सबै क्षेत्रहरूले आफ्ना ठाउँबाटलाग्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा नेपाली अर्थतन्त्रमा सबै भन्दा बढी विकसित र क्षमतावान् क्षेत्रका रूपमा बैंकिङ क्षेत्र रहेको छ । यसले गर्ने कार्यले अर्थतन्त्रमा समृद्धि हासिल गर्न सहयोग पुर्याउन सक्छ र पुर्याउनु पर्दछ । हालसम्म बैंकिङ क्षेत्रले आफ्ना कार्यहरूलाई विस्तार र विकसित गर्दै नेपाली अर्थतन्त्रलाई आधुनिक बनाउन सहयोग पुर्याउँदै आए पनि यो क्षेत्र विस्तार भए झैँ समग्र अर्थतन्त्रको विकासर विस्तार हुन सकेको छैन । वास्तविक अर्थतन्त्रको विकासर विस्तार नभएसम्म बैंकिङ क्षेत्र दिगो बन्न सक्दैन । हुनत समृद्ध नेपाल र सुखी नेपालीको सोच हासिल गर्न बैंकिङ क्षेत्र मात्रैले गर्न सक्दैन ।

अन्य क्षेत्रहरूको पनि भूमिका आवश्यक पर्छ । लगानीयोग्य वातावरण, असल शासन,शान्ति सुरक्षा, क्षमतावान् जनशक्ति, भौतिक पूर्वाधारको उपलब्धता पनि आवश्यक पर्छ तापनि बैंकिङ क्षेत्रको विस्तार र क्षमता भए बमोजिम अझ बढी यसको भूमिका बढाउनु आवश्यक छ । यसको भूमिका बढाउन हालसम्मको भूमिका र योगदानको मूल्याङ्कन र आत्म समीक्षा गर्दै अझ नयाँ ढङ्ग र रणनीतिअनुरूप आर्थिक समृद्धि बढाउन बैंकिङ क्षेत्रले सहयोग पुर्याउनुपर्दछ । उद्यमशीलता विकास गर्दै व्यवसायी एवम् ग्राहकमैत्री ढङ्गले बैंकिङ सेवा दिएर आन्तरिक अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने गरी बैंकिङ क्षेत्र लाग्नु पर्ने आवश्यकता रहेको छ । अर्थतन्त्रको वर्तमान अवस्था रबदलिँदो परिवेशमा परम्परागत शैलीको बचत परिचालन रकर्जा प्रवाहका साथै भुक्तानी प्रणाली सञ्चालन गर्न मात्र बैंकिङ क्षेत्र सीमित हुनुहुँदैन ।

अर्थतन्त्रका लाभदायक क्षेत्रको पहिचान सँगै व्यवसाय प्रवद्र्धनमा पनि योगदान गर्ने, बढ्दो जोखिमको कुशलतापूर्वक व्यवस्थापन गर्ने, कार्यकुशलता बढाई निक्षेप र कर्जाको ब्याजदर घटाउँदै जाने गरी रणनीतिक ढङ्गले बैंकिङ क्षेत्र लाग्नु पर्ने देखिन्छ । बैंकिङ क्षेत्रको बढ्दो विस्तार सँगै बढ्दै गएको जोखिम निवारणकालागि केन्द्रीय बैक लगायत सम्पूर्ण बैंकिङ क्षेत्रले ध्यान दिनुपर्ने हुन्छ । अन्यथा वित्तीय अस्थिरता सिर्जना भर्ई समृद्धि र सुख दुबै प्रभावित हुन सक्छ ।

आर्थिक समृद्धिमा बैंकिङ क्षेत्रको भूमिकालाई मध्यनजर गर्दै सरकारले करमा सहुलियत दिनुका अतिरिक्त न्यूनतम नाफा कमाउने वातावरण सिर्जना गरी यस क्षेत्रको स्थिरता कायम गर्नुपर्दछ । हुन त आर्थिक समृद्धिले सुख अनुभूति गर्ने आधार दिन्छ तर कति आम्दानी र भौतिक सुविधापछि मानिस पूर्ण सन्तुष्ट भई सुखानुभूति गर्छ भनेर भन्न कठिन हुन्छ । एक पछि अर्को गर्दै अनेक भौतिक आंकाङ्क्षाहरू सिर्जना भइरहन्छन् । यस्तो अवस्थामा वास्तवमा हाम्रो पूर्वीय दर्शनले भने झैँ “सन्तोषम् परम् सुखम्” लाई आधार बनायो भने मात्र पूर्ण सुखानुभूति हुन सक्छ । यसो भन्दै गर्दा पनि न्यूनतम तहको भौतिक आवश्यकता पूरा हुने गरी आर्थिक समृद्धि हासिल गर्नु जरुरी छ ।

(डा. प्रकाश कुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  हुन । हाल उनि राष्ट्रिय योजना आयोगका सदश्य रहेका छन् । प्रस्तुत लेख नेपाल बैंकको ८८ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन भएको विशेषाङ्कबाट लिइएको हो)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया